बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै, मन्त्रिपरिषद् बैठकले बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
बैठकपछि उनले विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णयगरेको पनि बताए।
यस्तै, मन्त्रिपरिषद् बैठकले सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। जसअनुसार तीन दिनसम्म सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरिनेछ।
बैठकले बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय प्रवक्ता गुरुङले जानकारी दिए।
बैठकमा सबै क्षेत्रको क्षतिको विवरण आइनसकेकाले प्रधानमन्त्री केपी ओलीले सम्बन्धित मन्त्रीहरूलाई मंगलबार दिउँसोसम्ममा क्षतिको विवरण संकलन गरेर बुझाउन निर्देशन दिएको उनले बताए।