सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडाको लसुने बजारका झन्डै २० घर पहिरोको जोखिममा परेका छन्। राजमार्गदेखि माथिल्लो भागबाट खसेको ठूलो पहिरोले ६ घरमा क्षति पुगेको वडाध्यक्ष थमनबहादुर गाहाले बताए।
वडाध्यक्ष गाहाका अनुसार माथिल्लो भागमा जमिन छियाछिया परेको र चर्किएकाले वर्षा हुनासाथ थप १४ घर पहिरोको जोखिममा परेको हो। ठूल्ठूला ढुंगा र सालका रुखसहितको लेदो पहिरो सिद्धार्थ राजमार्गमा खसेपछि छेउका घरहरूमा लेदो र भेल पसेको थियो।
दुई वटा डोजरले झन्डै १० घण्टा लगाएर पहिरो सफा गरेर यातायात सञ्चालन गरिए पनि पानी पर्नासाथ जोखिम कायमै रहेको स्थानीयले बताएका छन्।
२०७२ सालको भूकम्पले चर्किएको स्थानमा पानी पसेर पहिरो खसेको हुन सक्ने स्थानीयको अनुमान छ। तर डाँडाक्षेत्रका धेरै स्थानमा अझै पनि चर्केको र जमिन भासिने साथै चिराचिरा परेकाले आगामी दिनमा पानी पर्नासाथ जोखिम कायमै रहेको वडाध्यक्ष गाहाले बताए। केही रुखहरु ढलिसकेको र कतिपय रुख भएका स्थानमा जमिन चलेकाले पनि पानी पर्नासाथ जोखिम हुने देखिएको हो।
धेरै वर्षअघिको भूकम्पले अहिले आएर यस्तो पहिरो खस्ला भन्ने कल्पना नै थिएन,’ उनले भने, ‘हामी स्थानीय भाषामा जमिनको हावा गएपछि पहिरो खस्दैन भन्नेमै थियौं ।’ उनका अनुसार अझै पनि पहिरोको जोखिम कायमै छ। राजमार्गको यो स्थानमा यसअघि पहिरो खस्ने कुनै जोखिम थिएन तर यसपटक एक्कासी ठूलो पहिरो खसेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।