कांग्रेस सभापति देउवाले दिए दशैंको शुभकामना

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २४, बिहिबार (३ महिना अघि)
  • ११९ पटक पढिएको

कांग्रेस सभापति देउवाले दिए दशैंको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार विजयादशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छन्।

सभापति देउवाले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको बताएका छन्।

बडादशैं पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको भनाई देउवाको छ । दशैंको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको बताउँदै देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेकोप्रति दुःख समेत व्यक्त गरेका छन्।

‘मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दशैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ’, उनले उल्लेख गरेका छन्, ‘हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’

देउवाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको बताउँदै भनेका छन्, ‘हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो।’

दसैँ एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पनि बताएका छन्।

सभापति देउवाले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस