राजविराज । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे पाँचाै दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाकाे उद्धार भएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा- ७ बाट ४ जना, वडा- ६ बाट ३ जना र वडा- १ बाट १ गरि ८ जना र त्यस्तै सप्तकाेशी नगरपालिका-१ बाट ५ जनाकाे उद्धार गरिएकाे छ ।
उद्धार हुनुभएका ११ जना पुरुष र २ जना महिलालाई अाजै मानवसेवा अाश्रम सर्लाही सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएकाे छ । उद्धार टाेली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार सेवामा रहनेछ ।
उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक र्याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राकाे उद्देश्यबारे जानकारी गराइएको थियाे ।
मानवसेवा अाश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले चाडपर्वकाे समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताउँदै सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभयाे । साथै उहाँले यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै खुशी व्यक्ति गर्नुभएकाे छ।
भेटघाट कार्यक्रममा जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् पूर्वमन्त्री महेश प्रसाद यादवले मानवीय सेवामा समर्पित अभियान्ताहरुलाई धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारबाट हुने सहयोगका लागि पहल गर्ने तथा आफ्नो तर्फबाट समेत आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।
उक्त कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायतका उपस्थित रहेकाे थियो ।