स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्दको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे।
फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।
‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ, उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन। जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ। तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ। घरभन्दा धेरै पर कटेरो बनाएर राखिदो रहेछ । यो भन्दा अमानवियता अरु केही हुन सक्छ?,’ उनले भने, ‘त्यसैले सातवटा प्रदेशमा नै उपचार निशुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं। यस्ता धेरै समस्या छन् ,जसले कानुनले देखेको पनि छैन। यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ।’
उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए। सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ।