बनेपा /डलर सटही गरिदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ बस्ने २० वर्षीय दिपक तामाङ र ३० वर्षीय ज्वाला तामाङलाई पक्राउ गरेको हो । बनेपा नगरपालिका-१० स्थित सेतीदेवी मन्दिरको जंगलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मीन बहादुर घलेले जानकारी दिए ।
उनीहरूले दोलखाको मेलुङ गाउँपालिका-४ बस्ने अन्दाजी १७ वर्षीय सुस्मित महतलाई डर साटिदिने भन्दै ठगी गरेका थिए । उनीहरुको साथबाट मोबाइल फोन २ थान, बा.प्र. ०२-०३५ प ८००२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुई जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदातलतबाट ५ दिनको म्याद थप गरेर ठगी सम्बन्धी कसूरको उद्योग गर्न नहुने मुद्धा शीर्षकमा अनुसन्धान कार्य भैरहेको इप्रका बनेपाले जनाएको छ ।
यसरी कोही ठगीमा परेको भए सनाखतको लागि ईलाका प्रहरी कार्यालय बनेपामा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।