नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस स्कोर प्राप्त गर्न सफल भएको छ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ।
यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
सार्वभौम क्रेडिट रेटिङ्गमा मूलतः अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलव्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसुचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ।
मुलुकको सार्वभौम क्रेडिट रेटिङ्ग गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ्ग मोडल र गुणात्मक मापन विधीबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डि’ देखि अधिकतम ‘एएए’सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ।
‘एएए’ले मुलुकको उच्च क्रेडिट गुणस्तर रहेको देखाउँद छ भने ‘डि’ले पूर्वनिर्धारितको अवस्थालाई दर्साउँछ। उक्त प्रक्रिया बमोजिम फिच रेटिंग्स लिमिटेडले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसूचकहरु, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो।