बनेपा / पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस काभ्रे १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा खटिने भएको छ ।
पार्टीले घोषणा गरेको १०० दिने विशेष अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए । उनका अनुसार, १ सय ३५ वटै वडा र १३ वटै स्थानीय तहमा जिल्ला प्रतिनिधी तोकिएको छ । जिल्ला प्रतिनिधिको रुपमा खटिने विभिन्न तहका नेता कार्यकर्ताले कार्य सम्पन्न पश्चात प्रतिवेदन समेत पेश गर्ने उनले जानकारी दिए ।
मृत्यु, राजिनामा, विदेश, पाटी परित्यागको कारण रिक्त रहेको सभापति बाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्र अनुसार पदपूर्तीको व्यवस्था सय दिने अभियानको क्रममा गरिनेछ । विधान बमोजिम तोकिएको सदस्यता सम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आंगन अभियान’ सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । क्रियाशिल सदस्यता कार्ड वितरण भए नभएको अभिलेख हेर्ने र वितरण नभएको भए वडा सम्मेलनको साथमा क्रियाशिल सदस्यता कार्ड वितरण कार्यक्रम आयोजना गर्ने, पालिका र वडा तहमा भातृ एवं सुभेच्छुक संस्था गठन भए नभएको अभिलेख हेर्ने र नभएको भए पालिका र वडा स्तरमा भातृ एवं सुभेच्छुक संस्था गठनको व्यवस्था गर्नुका साथै गठन भएको भएको वडामा बार्षिक कार्ययोजना निर्माण गर्ने काम अभियानको क्रममा हुनेछ । पालिका–काठमाडौं सम्पर्क समिति गठन नभएका स्थानीय तहमा पालिका–काठमाडौ सम्पर्क समिति गठन पनि गरिनेछ ।
अभियानकै क्रममा पार्टी र जनप्रतिनिधीको विचमा संयन्त्र समेत गठन गरिनेछ । पार्टीबाट निर्वाचित जन प्रतिनिधिहरुसंगको संवाद कार्यक्रम गरी पालिका स्तरमा जनप्रतिनिधि वा प्रत्यासी उम्मेदवार सहित ३ जना, पार्टीबाट सभापतिसहित ३ जना र पार्टीका शुभचिन्तक सामाजिक व्यक्ति २ जना समेतको संयन्त्र निर्माण गरिने नेपाली कांग्रेस काभ्रेले जनाएको छ । पार्टीले जितेका वडामा गरेका सकरात्मक पहल र नविनतम कार्यको विवरण लिने र जिल्लामा बुझाइनेछ ।
पार्टीको वडा तहको सम्पूर्ण अभिलेख चुस्त राख्ने, संघर्षका बेलामा पार्टीमा योगदान गरेका अग्रज, सहिद परिवार, द्वन्दपीडित प्रजातन्त्र सेनानी, विस्थापित परिवार घाइते परिवार लगायतको अभिलेख बनाएर सम्वन्धित तहमा राखेर जिल्लामा बुझाउने, वडा कार्यसमिति र गाउं, नगर कार्यसमितिको नियमित बैठक सुनिश्चित गर्ने र तहगत सम्मेलन सुनिश्चित गर्ने, पालिका कार्यसमिति र वडा कार्यसमितिको बार्षिक काययोजना बनाउने र विधानमा भएको कार्यको अतिरिक्त सांगठनिक र सामाजिक अभियान समावेश गर्ने काम अभियानको क्रममा हुनेछ । अभियानका क्रममा स्थानीय संस्कृत अनुसारको चाडपर्व, मेलासंग पार्टीको सांगठनिक र सामाजिक कार्यक्रमलाई जोड्ने, पार्टी र लोकतान्त्रिक आन्दोलनमा विगतमा योगदान गरी दिवंगत भएका अग्रज नेताहरुको घर आँगनमा पुगेर परिवारजनलाई श्रद्धा सम्मान गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसले काभ्रेको लागि केन्द्रीय सदस्य जितजंग बस्नेतलाई जिम्मेवारी तोकेको छ ।
मंगलबार जिल्ला कार्यसमितिले गरेको तयारी वैठकमा केन्द्रीय सदस्य बस्नेतले पार्टीले दिएको जिम्मेवारी र संगठन निर्माणको कार्यभार पुरा गर्न सबै तहका नेता कार्यकर्ता लाग्नुपर्ने धारणा राखे ।