वसन्तपुरमा मनाइयो १२औं नेपाली टोपी दिवस

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १७, बुधबार (१ महिना अघि)
  • १२० पटक पढिएको

वसन्तपुरमा मनाइयो १२औं नेपाली टोपी दिवस

जागरुक युवा अभियान नेपालले १२औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ। अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन्।

कार्यक्रमलाई सम्वोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे।

श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे।

अर्का अभियन्ता रामजी बलामीले नेपाली टोपी विश्व समुदाय माझ परिचित रहेकाले नेपालको पहिचान पनि भएको बताए । बलामीले सबै सांस्कृतिक पोशाकको प्रवद्र्धन गर्नुपर्ने भन्दै नेपाली टोपीको थप प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए।

अर्का अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले यो सबै नेपालीको साझा चिनारी भएको बताए । पौडेलले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिन सो दिन अन्तर्राष्टिय टोपी दिवस मनाउन थालिएको बताए।

यस्तै अर्का अभियन्ता ज्ञानमणि नेपाल कालोटोपीले टोपी लगाउने र नलगाउने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उल्लेख गर्दै नेपाली उत्पादनको प्रवद्र्धन गर्नु सबै नागरिकको दायित्व भएको बताए।

कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस