मेरो नियत सफा छ भन्ने कुरा विस्तारै जनताले बुझ्दै गएका छन् : अध्यक्ष दाहाल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १९, शुक्रबार (४ दिन अघि)
  • ६४ पटक पढिएको

मेरो नियत सफा छ भन्ने कुरा विस्तारै जनताले बुझ्दै गएका छन् : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए।

‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ। के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त?,’ उनले भने, ‘नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ।’

उनले आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराए।

‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु,’ उनले भने, ‘मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन्।’

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको पनि उनले उल्लेख गरे।

‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु। मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ,’ अध्यक्ष दाहालले भने।

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस