काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचकाे विवाद सुल्झियाे

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ४, शुक्रबार (११ घण्टा अघि)
  • ५९ पटक पढिएको

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचकाे विवाद सुल्झियाे

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८औं सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा आज सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो । प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहनुभएको समिति गठन गरिएको छ।

समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीब श्रेष्ठ रहनुभएको छ । यस समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ। सम्झौता नहुन्जेल दुवै संस्थाको सहकार्यको दैनिकी सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकयि निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ।

यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गरेका थिए। २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औँ सभाको बैठकको मार्गदर्शनअनुसार आपसी संवाद थाल्ने निधो भएको थियो।

प्रधानमन्त्री ओलीले विवाद मिलाउन गठित समितिले उचित र सघन परामर्शसमेत गरेर समाधान निकाल्न सकेकामा खुसी व्यक्त गर्दै यसले नयाँ क्षितिज उघारेको बताए। यस प्रतिवेदनले नयाँ एकतासहित भविष्यको नयाँ गोरेटो तय गरेको छ, यसलाई नबिगारीकन कार्यान्वयनमा लान सकेमा पक्कै प्रतिफल राम्रो आउने सक्ने उनले बताए।

विवाद मिलाउने सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा डा राजीब श्रेष्ठ रहेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस