ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ ११, शुक्रबार (१ दिन अघि)
  • ६२ पटक पढिएको

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दा न्याय दिने काम गरेको बताए।

वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन्।

‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय दिने काम गरेको छौं। न्याय दिने काम पहिलो प्राथमिकता हो। ६ महिनाको तुलना गर्दा उद्धार तथा राहतमा पीडितहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा अहिलेको टिमले काम गरिरहेको छ। विगत ६ महिना पहिले १४ करोड ९१ लाख ८६ हजार राहत तथा क्षतिपूर्ति बापत पीडितले प्राप्त गरेका थिए,’ उनले भने, ‘अहिले विगतको ६ महिनापछि तुलनागर्दा झण्डै ११ करोड बढी देखिएको छ। २४ करोड ६७ लाख ३२ हजार ६ सय ६० रुपैँया राहत तथा क्षतिपूर्ती बापत पीडितहरुको लागि भनेर विभागबाट उपलब्ध गराएको छौं। कहिलेकाहीं विभागमा न्याय पाइएन भन्दै सन्देश जान सक्छ तर क्षतिपूर्ती भराउने काम गरेका छौ।’

उनले विगत ६ महिना यता विभिन्न इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरी कारवाही गरेको पनि बताए।

उनले भने, ‘६ महिनामा ५८ वटा इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरेका छौ । उजुरीसँग जोडिएका बिषयहरु, स्वीकृती नलिइ अन्तरवार्ता लिइरहेका, कतै एक ठाउँको स्वीकृती लिएर अर्कै ठाउको लागि पैसा उठाएका केसहरुको उजुरी आउँदा ५८ वटा संस्थाहरुको अनुगमन गरेका छौ। कारोबार बन्द हुनेगरी ५६ वटा संस्थाहरुलाई कारवाही गरेका छौं ।’

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस