संस्था व्यक्तिले होईन विधिले चल्नुपर्छ

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८१ माघ २५, शुक्रबार (३ हप्ता अघि)
  • ६३४ पटक पढिएको

संस्था व्यक्तिले होईन विधिले चल्नुपर्छ
सहकारी के हो ?
सहकार्य । एकले अर्कोलाई गर्ने सहयोग, सद्भाव, माया, अपनत्वको समष्टी रुप नै सहकारी हो भन्ने लाग्छ ।
तपाई आवद्ध सहकारीको परिचय ?
म काभ्रेको पनौती नगरपालिकामा रहेको ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा आवद्ध रहेको छु । नेपालका सहकारी अभियानको अनुसरण गर्दै वि.स. २०५६ साल अषाढ २७ गते पनौतीका २६ जना जुझारु  युवाहरुको अथक प्रयासबाट  ज्योति साकोसको स्थापना  भएको थियो । ज्योति साकोसले सहकारी मार्फत वित्तिय पहुँच नभएका काभ्रे जिल्लाका कुना–कन्दरामा रहेका व्यक्तिहरुको आर्थिक सम्बृद्धि ल्याउने सपना बोकेर सञ्चालनमा आएको थियो । वि.स. २०६९ सालमा पनौती नगरपालिका क्षेत्रभित्र सञ्चालित ज्योती साकोसले अन्य ४ वटा सहकारी संस्थासँग एकिकरण गरी ज्योति मिर्मिरे सामूहिक साकोसको नामबाट सञ्चालित छ । संस्था एकिकरण पश्चात हामीमा थपिएको दायित्व र छाता संघहरुबाट प्राप्त सम्मानका साथै सदस्यहरुको माया र सदभावले हामीलाई सहकारीप्रति नविनतम कार्य गर्ने उत्प्रेरण मिलेको छ । केहि सिमित मानिसहरुबाट शुरु गरिएका विभिन्न सहकारी संस्थाहरुको साझा धरोहर ज्योति मिर्मिरे सामूहिक साकोसको सहकार्य र विश्वासको यात्रा हालसम्म आईपुग्दा २१,००० सदस्यहरुको साझा घरको रुपमा विकसित भईसकेको छ । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.काभे्र जिल्लाका प्रमुख शहरहरु सहित विभिन्न ९ वटा स्थानीय पालिकाहरुलाई कार्यक्षेत्र बनाई सेवा प्रवाह गर्दै आई रहेको छ । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयनका लागि गर्भदेखी स्वर्गसम्मका क्रियाकलापमा सेवा विकास गरी सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएका छौं । यस संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले बचत तथा ऋण सहकारीहरुको गुणस्तर विकासका लागि विकास गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (Program for Building Absolute and professionalization) मा आवद्ध भई आफुलाई सदैव परिस्कृत, व्यवस्थित, सुशासित र सदस्यमैत्री वातावरण निर्माणमा अब्बल बनाउदै अगाडि बढीरहेको छ ।
सहकारी अभियानमा ज्योती मिर्मिरको पहिचान के हो ?
कार्यक्षेत्र भित्रका आम मानिसहरुलाई सदस्यता प्रदान गर्दै उनीहरुको खुशीका लागि सेवा प्रवाह गर्दै जाँदा संंस्थाले आफ्नो व्यवसायीकता र गुणस्तरीयतामा पनि वृद्धि गर्दै सदस्यहरु मात्र नभई नेपालका सहकारी अभियानमा पनि आफ्नो छवि विकास गर्दै गईरहेको छ । यस संस्थाले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका संघहरुले प्रदान गरेको विभिन्न पुरस्कार तथा सम्मानले यस कुराको पुष्टी गर्दछ । संस्थाको सफलतामा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक लि., बागमती प्रदेश सहकारी संघ लि., बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून), जिल्ला सहकारी संघ लि. काभे्र र काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लगायत सहकारी अभियानका विभिन्न संघ संस्थाहरूबाट नियमित सहयोग रहँदै आएको छ । सदस्यहरुको विश्वास र बचत रकमलाई सुशासन प्रवद्र्धन मार्फत सुरक्षण प्रदान गर्नु हाम्रो प्रमुख दायित्व रहेको छ । विगत ५ वर्षदेखि निरन्तर रुपमा प्राप्त गर्दैै आएको सम्मान र सदस्यको विश्वासले आज हामी देशकै नमूना सहकारीको लयमा हिँड्दै छौं । अव हामी हिजोको सम्मान र विश्वासलाई जोगाउँदै समूदायमा सहकारीको माध्यमबाट काम गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छांै ।
सहकारी एकिकरण ज्योती मिर्मिरेको सहभागिता कस्तो रहेको छ ?
सञ्चालन क्षमता कमजोर भएका तर समुदायका लागि अत्यन्त आवश्यक सेवा प्रवाह गरेका वित्तीय जोखिन न्यून भएका सहकारी संस्थाहरुसंग सदैव एकीकरण गरी वृहत सामाजिक पूँजी निर्माण गर्ने संकल्प लिएर अगाडी बढेका छौं । संस्थाले आजसम्म आइपुग्दा पनौती न.पा. ११ मा अवस्थित जन्मज्योति महिला विकास वहुउद्धेश्यीय सहकारी संस्था लि. संग वि.सं. २०७७ सालमा दोश्रो एकीकरण सम्पन्न गरेको छ भने तेश्रो एकीकरणका लागि वि.स. २०८१ जेठ २३ गते काभे्रपलाञ्चोक जिल्ला बेथानचोक गा.पा वडा नं. २ स्थित श्री युवा स्वावलम्बन वहुउद्धेश्यीय सहकारी संस्था लि.संग एकीकरणको औपचारिक सम्झौता सम्पन्न गरिसकेको छ ।
संस्थाको वित्तीय अवस्था कस्तो रहेको छ? 
हालसम्म आउँदा संस्थाको वित्तीय अवस्था बचत कारोवार १ अर्व माथि ऋण लगानी १ अर्व माथि शेयर १३ करोड सदस्य २१५०० र वासलात १ अर्व ३० करोड पुगेको छ ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन । सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ,यस्तोमा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ कि ? 
असाध्यै सान्दर्भिक प्रश्नका लागि हार्दिक धन्यवाद, विश्वभरि नै विभिन्न युद्ध र आर्थिक मन्दिले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा राष्ट्रिय रूपमा बैकिङ्ग कारोबार साथै सहकारी अभियानको दृष्टिकोणले सुखद वर्ष नहुँदा–नहुँदै पनि ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले नयाँ गतिका साथ सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम रहेको छ । संस्थाको वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरूबाट स्पष्ट रहेको छन । हामी यि विविध समस्याहरुको समाधानका लागि सहुलियत व्याजदरमा ऋण लगानी, उद्यमशिलता विकास, सिप विकास र व्यवसाय तथा कृषिमा पुर्नउत्थानका लागि सहुलियत दरमा ऋण लगानीको व्यवस्था गरी सदस्यको आर्थिक,सामाजिक अवस्थामा परिवर्तनका लागि काम गरिरहेका छांै ।
बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
सदस्यहरुको आवश्यकता, माग र बजारको अवस्था विष्लेषण गरी हाल हामीले बालक, युवा, महिला, जेष्ठ नागरिक, कृषक लगायत सवै वर्ग, क्षेत्रलाई समेटेर हाल १७ किसिमका बचतका सेवाहरु प्रदान गरेका छौ ।
सहकारीले कर्जा प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन ?  
सहकारीमा सवैभन्दा महत्वपूर्ण विषय भनेकै ऋण लगानी हो । संस्थाको आम्दानीको प्रमुख स्रोत नै ऋण लगानी भएकाले ऋण लगानीमा अत्यन्तै ध्यान दिन जरुरी रहन्छ । हामीले ऋण लगानीलाई जथाभावी परियोजना वा प्रयोगको क्षेत्र नहेरी लगानी गरिएमा हामी आवश्य समस्या पर्छौ, त्यसैले हामीले ऋण लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरु बँुदागत रुपमा राख्न चाहन्छु ।
० ऋण माग फारम पूर्ण रुपमा  भरी परामर्श गर्र्ने
० नीति अनुसार कागजात परिक्षण र दर्ता
० धितो तथा परियोजना परिक्षण
० ऋणीको कारोबार अभिलेख परिक्षण र ६सि वा अन्य टुल्सहरुको प्रयोग
० ऋण स्विकृत वा अस्विकृत
० ऋण रकम निकासा
० परियोजनाको निरिक्षण
० असुली प्रक्रिया सुरु
कर्जा लगानी कस्ता क्षेत्रमा बढि लक्षित छ? 
हामीले सुरुदेखि नै ऋण लगानीलाई विशेष ध्यान दिएको कारण त्यस्तो समस्या भएको छैन त्यसको कारण भनेको ऋण लगानीलाई क्षेत्र निर्धारण गरी त्यसको आधारमा ऋण लगानी गरिएको छ । हामीले हाल उत्पादनमुलक क्षेत्र र अनुत्पादनमुलक क्षेत्रमा गरी दुई भागमा विभाजन गरी उत्पादनमूलक क्षेत्रमा बढि ऋण लगानी गरिएको छ ।
कर्जा कसरी खराव कर्जा बन्न पुग्छ, तपाई आवद्ध सहकारीमा खराव कर्जा कति छ ?
कर्जा खराव हुने धेरै कारणहरु हुन्छन । वास्तवमा कर्जा आफैमा खराव हुँदैन किनभने कर्जा खराव बनाउने कि असल भन्ने विषय संस्थामा निर्भर रहन्छ । हामीले ऋण लगानी पूर्व ऋणीको विष्लेषण, परामर्श गरी उत्पादनशिल क्षेत्रमा लगानी गरिएको ऋण खराव हँुदैन । अन्धाधुन्ध पहुँचको आधारमा, ऋण तिर्न सक्ने क्षमतालाई नहेरी लगानी गरिएको ऋण खराव कर्जा बन्न पुग्छ । कहिलेकाही आफनो कावु वाहिरको कारणले पनि कर्जा खराव हुन सक्छ । जस्तो बाढी,पहिरो,भूकम्प आदि जस्ता कारणहरु हुन सक्छन । हालको देशको आर्थिक विषम परिस्थितीमा तुलनात्मक रुपमा भाका नाघेको ऋण बढि भएता पनि हाम्रो सहकारीमा खराव कर्जाको रेसियो पल्र्स मापदण्ड भित्र सिमित रहेको अवस्था छ ।
सहकारी डुब्न लागे,भागे,पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल त किन ?
वास्तवमा भन्ने हो सहकारीको सिद्धान्त,मूल्य मान्यता र समूदायमा आधारित संस्थामा कुनै समस्या नै छैन ।  संस्था व्यक्तिले होईन विधिले चल्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरि सञ्चालन भएका सहकारी संस्थामा केही समास्या भएको छैन । यहाँले हेर्नु भयो भने समुदायमा आधारित संस्थामा समस्या आएको देख्नुभएको छ? छैन नि । त्यसैले हामीलाई त्यस्तो अफ्ठ्यारो छैन । केही संस्था,जहाँ एउटा परिवारले संस्था सञ्चालन गरेको छ, सहकारीलाई जसले आफ्नो पेवा हो भन्ने ठान्छ, परिवारका सदस्यलाई रोजगारी दिन्छ र मेरो सहकारी भन्छ त्यस्तो संस्थामा समस्या आएको छ । सबै सहकारीमा समस्या छैन ।
समुदायमा आधारित सहकारीहरुले यस्ता समस्याहरु झेल्नु परेको छ? 
हामीले यस्ता समस्या भोग्नुपरेको छैन । किनकी हामी समूदायमा आधारित, सदस्य केन्द्रित र नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालनमा रहेकाले हामीले यो समस्या भोग्नुपरेको छैन ।
अध्यादेशले सहकारी क्षेत्रको संकट टर्ला ?
सहकारी आफैमा स्वनियमन संस्था हो । सहकारी भित्र पनि केही व्यक्तिहरु जो संस्थालाई निजी व्यवसाय ठानेर सञ्चालन गरे त्यसबाट समस्या आएको हो । सहकारी ऐन २०७४ र नियमावली २०७५ पनि पूर्ण कार्यान्वयन हुन सकेको भए हालको समस्या आउने थिएन । तर जे होस भर्खरै सहकारी अध्यादेश आएको छ । यसमा धेरै राम्रा र प्रगतिशिल विषयहरु समेटेर जारी भएको छ । यसका केही विषयहरु आपत्तिजन पनि छन । त्यसलाई परिमार्जन गरि अगाडी लान सके अबको सहकारीको भविष्य सुखद रहेको छ ।
सहकारीमा पनि त विकृती आईरहेको छन वित्तिय सुशासनका लागि के कस्ता कदम चाल्नु भएको छ ?
मैले यस अगाढी नै जोडीसके संस्था व्यक्तिले होइन विधिले चल्नु पर्छ । हाल सहकारीमा विकृत आएको नै व्यक्तिवादी सोच र वित्तिय सुशासन कायम नभएर नै हो । यि विषयलाई सम्बोधन गर्नका लागि हामीले संस्थामा आन्तरीक कार्यविधि निर्देशिका बनाएर लागू गरेका छौं । संस्थाको आन्तरीक नीतिका आधारमा संस्थाका गतिविधिहरु संचालन हुन्छन । संस्थाको निती,योजना निर्माण, नेतृत्व प्रदान सञ्चालक समितिले गर्छ भने बनाएको नीतिको आधारमा योजनाको कार्यान्वयन व्यवस्थापनले गर्ने हो । सदस्यको हितलाई केन्द्रमा राखेर संस्था सञ्चालन गरेको हुनाले नै हामीले यो स्थान हाँसिल गरेका छांै ।
सरल र सहज ढंगबाट चल्न सहकारीको मूल्य तथा सिद्धान्त कस्तो हुनु पर्छ ? 
सहकारीका सात सिद्धान्तको पूर्ण परिपालना ,सहकारीका मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै समुदायमा आधारित सदस्य केन्द्रित भई सञ्चालित सहकारी नै सफल सहकारी बन्न सक्छ ।
सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रमहरु ल्याउनुपर्छ सहकारीहरुले ? 
सहकारीमा सवैभन्दा महत्वपूर्ण विषय भनेकै सदस्यको क्षमता अभिवृद्धि गर्ने नै हो । हालको परिस्थिती आउनुमा प्रमुख कारण भनेकै सदस्यको हित सोचिएन । व्यक्तिगत स्वार्थमा लागेको कारण समस्या आएको हुनाले सदस्यको क्षमता अभिवृद्धिका लागि वित्तिय साक्षरता कक्षा संचालन, सचेतना तथा अभिमुखिकरण कार्यक्रम, अनुशिक्षण कार्यक्रम, नेतृत्व विकास तालिम, बेरोजगार सदस्य उद्यमी कार्यक्रम, नैतिक तथा सँस्कृति जर्गेनाका लागि सचेतना कार्यक्रम जस्ता सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्नुृपर्दछ ।
सहकारीको सेवामूलक भूमिका हुनुपर्छ भन्नेमा कत्तिको विश्वास राख्नुहुन्छ ?  
सहकारीहरु भनेकै सेवामूलक व्यवसाय भएको हुनाले यो अत्यन्तै महत्वपूर्ण विषय हो ।
सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाईदैन, संस्थागत विकासमा मात्र चलाउन बढाउन पाईन्छ  भनिन्छ लागु भएको छ तपाईको सहकारीमा ? 
सहकारी ऐन २०७४ को दफा ६८ मा जगेडाकोषको विषय उल्लेख गरिएको छ । जगेडाकोष संस्थाको आफ्नो हक कायम भएको कोष भएकाले यसलाई चलाउन पाईदैन । त्यसैले यो विषयमा हामीलाई राम्रो ज्ञान छ र सोही बमोजिम हामीले जगेडा कोष वृद्धिका लागि विविध योजनाहरु ल्याई हालसम्म संस्थामा ६.५ प्रतिशत पुगेको छ ।
आफ्ना सदस्यहरुलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो संस्था धनि बनाउने होइन भनिए पनि त्यसो हुन सकेकोे छैन भन्ने आरोप छ नि सहरकारीहरुलाई ?
सदस्य सेवालाई केन्द्रमा राखि स्वच्छ वित्तिय छवि निर्माण गर्दै सदस्यको निक्षेपको सुरक्षाको प्रत्याभुति दिनका लागि शुसासन र गुणस्तर कायम राखि  संस्थाको वित्तिय खर्चलाई नतिजामूलक बनाउन तथा महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न रणनीतिक कार्ययोजना बनाई स्रोत समेत पहिचान गरि विश्लेषण गरिएको छ । हालको विषम परिस्थितीसँग जुध्न सकिने र सदस्यको स्वरोजगार मूलक कार्यक्रम, सुशासन, वित्तिय साक्षरता, प्रविधिको अत्याधिक प्रयोग, नैतिक विकास, वित्तिय सुशासन र सहकारी शिक्षालाई प्रभावकारी कार्यान्वयन गरिने कार्यक्रमहरुबाट नै यहाँले बुझन सक्नुहुन्छ कि ज्योति मिर्मिरे सामुहिक साकोसले सदस्यको समस्या सुल्झाउन गरेका कामहरु के के छन भन्ने कुरा । त्यसैले म फेरी पनि दोहोरयाउछु कि समूदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्थामा सदस्य नै धनि भएका छन ।
सामाजिक उत्तरदायित्व बहन गर्नेमा तपाईको सहकारी कत्तिको लागि परेको छ पछिल्लो गतिविधि केही छन ?
सदस्यसंग हातेमालो कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै ठीक समयमा ठीक कामका लागि गाँउ गाँउमा प्रतिनिधित्व गर्ने समुदायको निर्माण गरिएको छ । समूदायको गुनासो सुनुवाईका लागि सदस्यको घर आँगनमा गई सुखदुःख साटासाट गरी सवै समाजमा एकताको भावनाको विकास गरिएको छ । स्वास्थ्य जाँच कार्यक्रम, वातावरण सरसफाई, सामाजिक न्यायका लागि सहयोग ,चेतनामूलक व्यानर निर्माण गर्ने हेल्थ क्याम्पका कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गरिएको छ ।
सदस्यहरुको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ?
हामीले संस्था सञ्चालनको मुल मन्त्र भनेकै सदस्यको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरी नै हो । त्यसैले हामीले सञ्चालन गरेका हरेक कार्यक्रमले सदस्यको हित गर्ने गरि कार्यक्रम तय गरिएको हुन्छ । आर्थिक अनुशासन र शुसासन कायम गर्ने, उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धि गरी दिगो, सवल र सुशासनयुक्त संस्था निर्माण गर्ने र सदस्यको आर्थिक, सामाजिक नैतिक तथा साँस्कृतिक जीवनस्तरमा युगान्तकारी रुपान्तरणको दिशामा हामीले हाम्रा योजनाहरु अघि सारेका छौ ।
अन्त्यमा केही ?
मलाई यहाँको मिडिया मार्फत संस्थागत विषय राख्न दिनु भएकोमा आभार व्यक्त गर्दछु  । बेथाञ्चोक साप्ताहिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस