विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि चक्रेश्वर माविलाई

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ फागुन ३, शनिबार (२ हप्ता अघि)
  • १२६ पटक पढिएको

विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि चक्रेश्वर माविलाई

ढुंखर्क । बेथानचोक गाउँपालिका खेलकुद शाखाको आयोजनमा सञ्चालित अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वडा नं. १ को चक्रेश्वर माध्यमिक विद्यालयले चुमेको छ।

वडा नं. ५ को आत्मा विकास मा।वि। द्वितीय भएको छ। चक्रेश्वरले आत्मा विकास मा।वि।लाई ३–२ को सेटमा पराजित गरेको थियो। यस्तै वडा नं. ३ को कृष्णगोपाल मा।वि।ले वडा नं. ५ को भिमसिनेश्वर मा।वि।लाई हराउँदै तेस्रो स्थान पक्का गरेको थियो।

कृष्णगोपालले पनि ३–२ को सेटमा भिमसिनेश्वरलाई पराजित गरेको थियो। प्रतियोगितामा चक्रेश्वर माध्यमिक विद्यालयका सिद्धान्त गोले उत्कृष्ट खेलाडी घोषित भए।

विजेता विद्यालयलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे।

सो अवसरमा बोल्दै उनले असोजको पहिलो साता आएको बाढीका कारण विद्यार्थीहरुमा पर्न गएको मनोवैज्ञानिक त्रास न्यूनिकरणका लागि प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे। हाल गाउँपालिका प्रकोपसँग जुधिरहेको भए पनि विकाससँगै शिक्षा, खेलकुदका गतिविधि निरन्तर गर्दै जाने उनले बताए।

समापन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिना, २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ५ का अध्यक्ष राजकुमार वाइबा, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, काभ्रेबाट प्रतिनिधित्व गर्दै नेपालको राष्ट्रिय टिमबाट भलिबल खेल्नु भएका दाप्चा निवासी पूर्व खेलाडीद्वय गोपालकृष्ण श्रेष्ठ र सुदिलदास श्रेष्ठ, पार्वती क्याम्पस प्रमुख राजेश तिमल्सिना, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य खेल प्रेमीको उपस्थिति रहेको थियो।

कार्यक्रम पश्चात् प्रतिक्रिया दिनुहुँदै गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाने छोटो तयारीका बाबजुद प्रतियोगिता सफल भएकोमा खुशी व्यक्त गरे।

प्रतियोगितामा प्रादेशिक रेफ्रीहरु दिलिपकुमार श्रेष्ठ, विरबहादुर लामा, विदुर तिमिल्सिना लगायतले रेफ्रीको भूमिका निर्वाह गर्नु भएको थियो। गाउँपालिकाका १० मध्ये ९ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगिता फागुन २ र ३ गते सञ्चालन भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस