रोशी । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डको अस्थायी मर्मत थालिएको छ।
गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मत थालिएको जनाएको हो।
डिभजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडा, रोशी गाउँपालिकाका नार्के, चिउरीबास, मंगलटार बोक्सिकुना, डालाबेशी, माम्ती तथा नेपालथोकमा अस्थायी मर्मत थालिएको छ।
हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ।
बीपी राजमार्गमा क्षति पुगेपछी स्थानीयको जीविकोपार्जनमा असर परेको रोशी गाउककपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम थालिएको हो।
कूल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किमी मर्मत गरिनेछ । विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको र काम नभएका स्थानहरूबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ आवश्यक परे रातिको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिनेछ । बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड खर्च हुने भएको छ । बाढीपछि गरिएको अध्ययन अनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिकरूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा २६ अर्ब येन खर्च गरेको थियो।