सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा : राष्ट्रपति

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ फागुन ९, शुक्रबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको

सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा : राष्ट्रपति

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनका क्रममा उक्त भनाई राखेका हुन्। पौडेलले सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा रहेको बताउँदै यसलाई बुझ्न सके समाजमा सहिष्णुता बढाउन मद्दत पुग्ने बताए।

धर्मशास्त्रहरूले पनि मानव सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको भनाई राष्ट्रपति पौडेलको थियो । ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिएका छन्,’ पौडेलले भने, ‘हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म हो । यो धर्मको विराटस्वरूपका कारण यसअन्तर्गत विभिन्न सम्प्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिन्छ।’

नवनिर्मित धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको पनि उनले बताए । नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएकोले ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने भनाई राष्ट्रपति पौड्लको छ । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको सन्दर्भ पनि पौडेलले राखे।

राष्ट्रपति पौडेलले भने, ‘मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ ।’

मन्तव्यकाक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरान शिक्षा स्वास्थ्य, धार्मिक क्षेत्रको हब रहेको भनाई राखे । धरान तराई–पहाड जोड्ने संगम भएका कारण पनि महत्त्वपूर्ण केन्द्र रहेको भनाइ मुख्यमन्त्री कार्कीको छ।

यही फागुन ९ गते शुक्रबार देखि ११ गतेसम्म श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, तथा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस