दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारले जनआकांक्षा पूरा  गर्नुपर्छ: कोइराला 


दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारले जनआकांक्षा पूरा  गर्नुपर्छ: कोइराला 

बाँके  ।  कांग्रेस एमाले सरकारलाई असफल हुने छुट नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन् ।  नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसका नेता कार्यकर्ता सरकारलाई सफल बनाउनुपर्ने बताए ।

दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारले जनआकांक्षा पूरा गर्न सक्नुपर्नेमा कोइरालाको जोड छ । उनले सरकारलाई सही दिशामा अघि बढाउन खबरदारी गरिरहनुपर्ने समेत बताए ।

उनले संविधान संवेदनशील डकुमेन्ट भएकाले सबैको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । कोइरालाले आर्थिक अवस्था र सुशासनमा सुधार नआएको टिप्पणी गर्दै सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिए । कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको बताए ।

 

पार्टीको १५औं महाधिवेशन समयमै हुनुपर्ने बताउँदै उनले २०८४ पछि महाधिवेशन भए कांग्रेस कमजोर हुने जिकिर गरे । कोइरालाले समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आम कार्यकर्ताले निरन्तर दबाब बढाइरहनुपर्ने बताए । नेपाली कांग्रेसलाई मजबुत बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने कोइरालाको भनाई छ ।

 

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति गोपाल प्रसाद अधिकारीले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस