काभ्रे । नेपाली सेनाले आफ्ना बारेमा जानकारी दिने उद्देश्यरले फोटो तथा भिडियोहरु, विपद् व्यवस्थापन सामाग्रीहरु तथा डेमोस्ट्रेशनको प्रदर्शनी गरेको छ।
प्रदर्शनी श्री नं.२६ वाहिनीले धुलिखेल–७ स्थित अड्डाबजारको फुटबल मैदानमा आयोजना गरेको हो। प्रदर्शनीको उद्देश्य फोटो, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरू लगायतको प्रदर्शनीमार्फत आम नागरिकलाई जानकारी प्रदान गर्नु थियो।
प्रदर्शनीमा सहायक रथी अशोक गुरुङ्ग, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, व्ययवसायीहरु, विद्यालय र कलेजका शिक्षक तथा विद्यार्थीहरूलगायत ६ सय बढीको उपस्थिति थियो।
सो अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो ऐतिहासिक एकिकरण पदमार्ग, नेपाली सेनामा प्रचलित पोशाकहरु, नेपालमा बसोवास गर्ने विभिन्न जातजातिका पोशाकहरु, विभिन्न सैनिक सामाग्री तथा उपकरणहरु, विपद् व्यवस्थापन सम्बन्धि विभिन्न फोटो तथा भिडियोहरु, विपद् व्यवस्थापन सामाग्रीहरु तथा डेमोस्ट्रेशनको प्रदर्शनी गरिएको थियो।