न्यूयोर्कमा गुन्जियाे नेपथ्य

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ८७ पटक पढिएको

न्यूयोर्कमा गुन्जियाे नेपथ्य

अमेरिका भ्रमणमा रहेको नेपालको चर्चित लोकरक ब्यान्ड नेपथ्यले आफ्नो पाँचौं कन्सर्ट शनिबार न्यूयोर्कमा गरेको छ। नेपथ्यलाई सुन्न र उसका लोकलयका गीत सुन्न ठूलो संख्यामा दर्शक उपस्थित भएका थिए।

हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे । धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौँ है ।’ प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए।

विश्वकै केन्द्र मानिने यो सहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको सहर पनि हो। यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीहरूको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए। उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क सहरमा भित्र्याइएको थियो।

निर्धारित समयअनुसारै कन्सर्ट शनिबारको बेलुकी ठीक नौ बजे सुरु भएको थियो। नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा गीतहरूको बीचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो।

उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए। कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए।

कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो।

‘नेपाली भाषा रहुन्जेल हामी नेपालीहरू रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है।’

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता प्रस्तुति मार्फत चरमोत्कर्षमा पुर्‍याएको देखिन्थ्यो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

‘हामीले धेरै कार्यक्रमहरू आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिँ विशेष रह्यो,’ आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकहरूले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन्।’

आफूहरूले चाहना र मेहनत गरे बमोजिम नै यसपालाको नेपथ्य कन्सर्ट, न्युयोर्कमा हालसम्म प्रस्तुत नेपाली कार्यक्रममध्ये ऐतिहासिक बन्न पुगेको उनको प्रतिक्रिया थियो।

अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य डिएमभी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ। यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ तारिखका दिन ब्यान्ड प्रस्तुत हुँदैछ। त्यस साँझ ठीक साढे छ बजे ढोकाहरू खुला हुनेछन् भने ठीक आठ बजेबाट कन्सर्ट सुरु हुनेछ।

मेरिल्यान्डको आयोजना सम्पन्न भएपछि अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस