काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ।
श्रेष्ठको ८४ वर्षका उमेरमा उपचारका क्रममा आज बिहान महराजगन्जस्थित प्रहरी अस्पतालमा मृत्यु भएको हो। श्रेष्ठको शुक्रबार बेलुका ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी श्रेष्ठले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’ बाट वकालत शुरु गरेकी थिइन्।
श्रेष्ठले झण्डै ४ दशक न्यायाधीशका रूपमा अदालतमा काम गरेकी थिइन्। जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै यनी २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन्।
श्रेष्ठ अदालतमा न्यायाधीश हुने पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । उनले २०६५ जेठ २० गते सर्वोच्चबाट अवकास लिएकी थिइन्।