त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका काभ्रेपलाञ्चोक जिल्लाका १४ वटा क्याम्पसमा चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनको लागि विद्यार्थी संगठनहरुले सोमबार ‘संगठन’ दर्ता गरेका छन् ।
प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले कार्यतालिका अनुरुप सोमबार संगठन दर्ता गरेका हुन् ।
काभ्रेपलान्चोकका चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, सन्जिवनि क्याम्पस, धुलिखेल क्याम्पस, तेजगङ्गा क्याम्पस, ईन्द्रेश्वर क्याम्पस, कुशादेवि क्याम्पस, जनक क्याम्पस, श्रीकृष्ण क्याम्पस दाप्चा , मङ्गलजन विजय क्याम्पस, सर्वमङ्गला बहुमुखी क्याम्पस, प्रकाश क्याम्पस, प्रभा क्याम्पस र पार्वति बहुमुखी क्याम्पसमा संघ दर्ता गराएको जिल्ला सचिव सन्तोष दाहालले जानकारी दिए ।
स्ववियु निर्वाचनको लागि आगामी २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ। सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ। दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ। र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने छ।