ज्योति मिर्मिरे साकोसको रजत महोत्सव

केहि महिनामै ६ हजार ६०० भन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेका छौँ, मन्त्री अधिकारी

ज्योति मिर्मिरे साकोसको रजत महोत्सव

पनौती/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन्। ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले विधिविपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने दाबी गरे । उनले भने, “केही महिनामै ६ हजार ६०० भन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेका छौँ, अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा छौँ ।” मन्त्री अधिकारीले समस्याग्रस्त सहकारी समाधान समिति तथा मन्त्रालयको विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको बताए ।

“सहकारीसम्बन्धी सरोकारवालासँग छलफल गरेर सहकारीसम्बन्धी अध्यादेश ल्याइएको छ, सहकारी नियमन प्राधिकरणलाई सरकारले अध्यादेशमार्फत अघि बढाएको, सूचना केन्द्र परिचालनको व्यवस्था, कोष खडा गर्ने व्यवस्था गर्दै न्यायाधिकरणलाई समेत अघि बढाउन थालिएको छ”, उनले भने । उनले केही नमिलेका विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गर्नेसमेत उनले बताए । मन्त्री अधिकारीले मुलुकभरका ३१ हजार ४०० सहकारीमा केहीले गलत गरे पनि सबै खराब हो भन्ने भ्रम फैलाइएको दोहोर्याए। उनले भने, “अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रदेश र स्थानीयस्तरमा उत्कृष्ट र पुरस्कृत भएका सहकारी पनि छन्, सबैलाई एउटै नजरले हेर्नुहुन्न ।” सहकारीबाट ऋण लिएर नतिर्नेले ‘सबै सहकारी गलत हुन्’ भनेर ‘स्यालहुँइया’ मच्चाइएको उल्लेख गर्दै गलत गर्नेलाई कानुनी दायरामा ल्याइने उनको भनाई छ । “केही पक्षबाट सबै सहकारी गलत हुन्, ऋण तिर्नुपर्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ, सहकारीबाट लगेको ऋण तिर्नुपर्दैन भन्ने भ्रममा नपर्नुहोस्, हामी छानबिन गरेर ऋण नतिर्नेलाई जसको नाममा ऋण छ उसको र एकाघरको परिवारको सम्पूर्णको सम्पत्ति रोक्का गरेर असुलउपर गर्नेछौँ र पासपोर्ट पनि रोक्का गरिने सूचनासमेत जारी गरिसकेका छौँ”, मन्त्री अधिकारीले भने ।

भूमि समस्या समाधान आयोगले देशैभर काम थालेको भन्दै मन्त्री अधिकारीले वास्तविक भूमिहीनको पक्षमा सरकारले काम गर्ने बताए ।

समारोहमा शिक्षासेवी रामप्रसाद अधिकारीलाई शैक्षिक व्यक्तित्व सम्मान प्रदान गरियो । अन्य सहकारीको सदस्यता त्यागेर सहकारी ऐन पालना गरेको भन्दै सहकारीले बेथानचोक वडा नं २ का जयराम तिमल्सिना लगायत उत्कृष्ट सेवा केन्द्र, कर्मचारी र जेष्ठ सदस्य समेतलाई सम्मान गरेको थियो ।

२८ हजार पूँजीबाट सुरुभएको संस्थामा हाल १२ करोड ६८ लाख ७४ हजार सेयर पूजी, २१ करोड ३० लाख ३१ हजार जगेडा कोष रहेको छ । त्यसैगरी संस्थामा १ अर्ब ६ करोड ८२ लाख १२ हजार बचत तथा १ अर्ब ४ करोड ७६ लाख २३ हजार ऋण लगानी रहेको जनाइएको छ ।

२० हजार सदस्य रहेको सहकारीमा करिब १ अर्ब बराबरको कारोबार भएको र तरलता अभाव नभएको भन्दै सहकारीका अध्यक्ष उद्धव सापकोटाले संस्था र कर्मचारीले विभिन्न समयमा विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत हुँदै आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस