कांग्रेसले ८४ को चुनावको चिन्ता गर्दैन, देशको चिन्ता गर्छ : महामन्त्री शर्मा


कांग्रेसले ८४ को चुनावको चिन्ता गर्दैन, देशको चिन्ता गर्छ : महामन्त्री शर्मा
  • ज्ञानमणि नेपाल कालोटोपी 

कुन्तावेसी । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले ०८४ सालमा हुने चुनावको कहिले पनि चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको बताए।

केही पुराना पार्टी र नयाँ खोलिएका पार्टीले ०८४ सालको चुनावको चिन्ता गरिरहेकोप्रति लक्षित गर्दै महामन्त्री शर्माले राजनीतिक दलहरुले सधैं चुनावको मात्र चिन्ता गरेर देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गरे उनले कांग्रेस इतिहास बोकेको पार्टी भएकाले र लाखौं कार्यकर्ताको प्यारो पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन भन्दै नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन पनि दिए। उनले बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै विवाद नरहेको प्रष्ट पारे।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा शुभेच्छुक र भातृ संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले काम गर्दा केही कमीकमजोरी हुने भएकाले नआत्तिन र निर्धक्क भएर काम गर्न नेता कार्यकर्तालाई अनुरोध गरे।

पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक रहेको बताउँदै उनले आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने प्रष्ट पारे। कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएपनि पार्टीभित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंले हामीले यसअघि कति काम गर्न सक्यौं वा कति सकेनौं त्यसको मूल्यांकन गरेर आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए। उनले पार्टीमा आफूले लामो समय त्याग गरेको उल्लेख गर्दै आफूले पदका लागि कहिल्यै राजनीति नगरेको बताए।

उनले काभ्रे कांग्रेसको नेतृत्वमा आफूले लामो समय बिताएकाले पार्टीमा भएका कमीकमजोरीको जिम्मा आफैंले लिने बताउँदै पार्टीमा कुनै विवाद हुन नहुनेमा जोड दिए। काभ्रे कांग्रेसमा अब अभूतपूर्व एकता हुनुको विकल्प नभएकोमा उनले जोड दिए।

केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा केही कमजोरी भए सच्याएर अघि बढ्ने बताए।

वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै आफू अघि बढ्ने बताए।

यस्तै काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने उल्लेख गरे। उनले पार्टीले अझै धेरै काम गर्न बाँकी रहेकाले सबै मिलेर अघि बढ्ने बताए।

कार्यक्रममा पाँचखालका मेयर महेश खरेलले पार्टीमा बाहिरी तत्वले ठूलो प्रहार गरेको अवस्था भएकाले कांग्रेस एकजुट हुनुको विकल्प नरहेकोमा जोड दिए।

कार्यक्रममा उपस्थित सबैजसो नेता तथा कार्यकर्ताले कांग्रेसले बिगतका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै आगामी चुनावमा गठबन्धन नगरि एक्लै जानु पर्ने बताए। कार्यक्रम नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

सोही अवसरमा मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमासमेत चर्चामा रहेका राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । प्रमुख अतिथि महामन्त्री शर्माले पौडेलको प्रतिमा अनावरण गर्दै उहाँले पुर्याउनुभएको योगदानको चर्चा गरे।

उनले पौडेलको जीवनीबाट नयाँ पुस्ताले धेरै कुराहरु सिक्ने र उहाँको आदर्शमा सबै अघि बढ्न सक्ने अवस्था नआएसम्म उहाँप्रति सच्चा सम्मान नहुने बताए। पौडेलले गर्नुभएको समाजवेवाबाट आफू निकै प्रभावित भएको उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस