मोरङ । अख्तियारमा पर्ने भ्रष्टाचारहरुको उजुरीमा स्थानीय तहहरुमा हुने भ्रष्टाचारको संख्या अत्याधिक हुने गरेको पाईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरिको तथ्यांकअनुसार अख्तियारमा पर्ने उजुरीहरुमा स्थानीय तहमा हुने भ्रष्टाचारका उजुरिहरु धेरै रहेको पाईएको हो ।
मंगलबार मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयोजित एक कार्यक्रममा सुनसरीको ईटहरिस्थित आयोग कार्यालयका प्रमुख सुरेस न्यौपानेले गत वर्ष आयोगमा परेका २८२९ वटा उजुरीहरु मध्ये १४८५ वटा स्थानीय तहमा हुने भ्रष्टाचार सम्बन्धि उजुरि रहेको जानकारी दिए । गतवर्ष मोरङमा मात्रै ५०० वटा भ्रष्टाचारका उजुरीहरु परेको ति मध्ये ४७५ वटा उजुरीको फर्छ्यौट भईसकेको उनले जानकारी दिए ।
आयोगले भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवर्द्धनका लागि पालिस्तरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै न्यौपानेले भ्रष्टाचार निरुपण र सुशासनका लागि सरोकारवाला सबै जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहका सरोकारवालाहरुले कस्तो भुमिका खेल्न सक्छन् भन्ने विषयमा समेत छलफल भएको थियो । नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आयोगका सुचना अधिकारी समेत रहेका उपसचिव निरज कुमार देवले भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहको भुमिकाका विषयमा प्रस्तुति राखेका थिए ।