काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजाईं काठमाडौं क्षेत्र नं. ६ मा रहेको मचाघाट कांग्रेसले कब्जा गरेको भन्दै गलत सन्देश प्रसार गरिएको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले मचाघाट कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएका थिए। लगत्तै कांग्रेस सांसदहरू बजगाईंसहित सुशील थिङ, राजेन्द्र केसीलगायतले त्यसको विरोध गरेका थिए।
सांसद बजगाईंले समाजिक सञ्जालमार्फत पनि त्यसको विरोध गरेका छन्।
‘माननीय शिशिर खनालले संसदमा काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने मचाघाट कांग्रेसले कब्जा गरेको भन्दै सन्देश प्रसार गर्नुभयो। उहाँको युवावस्था नेपाली कांग्रेसप्रति गहिरो समर्पण रहेको थियो, र वहाँ अनभिज्ञ होईन कांग्रेसको सिद्धान्तले सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने जो कोहिलाई कानूनी दायरामा ल्याइनुपर्ने ठान्छ,’ उनले लखेका छन्।
सरकारी जमीन हडप्ने कैयन मुद्दाहरू किन खारेज गरिए भन्ने प्रश्न भने अझै अनुत्तरित नै रहेको स्वीकार गर्दै उनले कांग्रेसभित्र पनि यस विषयमा विरोध भइरहने बताएका छन्।
‘सरकारी जमीन हडप्ने कैयन् मुद्दाहरू किन खारेज गरिए भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ म यो स्वीकार गर्छु र कांग्रेसभित्र पनि यस विषयमा विरोध भइरहन्छ,’ सांसद बजगाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कुनै पनि राजनीतिक दलभन्दा कांग्रेसभित्र आन्तरिक लोकतन्त्र अझै बलियो रहेको देखिन्छ। सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने कुनै व्यक्ति कांग्रेसमा टिक्न सक्दैन, किनभने यो दलभित्र गलत कामको विरुद्ध विद्रोह गर्ने परम्परा छ।’
नेपालको कुनै पनि राजनीतिक दलभन्दा कांग्रेसभित्र आन्तरिक लोकतन्त्र अझै बलियो रहेको उनले बताएका छन्। सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने कुनै व्यक्ति कांग्रेसमा टिक्न सक्दैन, किनभने यो दलभित्र गलत कामको विरुद्ध विद्रोह गर्ने परम्परा रहेको पनि उनले स्मरण गराएका छन्।
सांसद बजगाईंले कांग्रेस एक नदी हो भएको उल्लेख गर्दै धमिलो पानी संग्लिन्छ बताएका छन्।