फुलबारी / काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को प्रशासनिक भवन र मथुरापाटी स्वास्थ्यचौकी भवनको पनि उद्घाटन गरिएको छ । सोही अवसरमा नमोबुद्ध नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भएको हो।
प्रशासनिक भवन, मथुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटनका साथै बालमैत्री वडा घोषणा समारोहलाई संवोधन गर्दै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जाेड दिनुभयाे। संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएकाे भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताउनुभयाे ।
`शहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन । मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएकाे छ । भाेलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,´ उहाँल भन्नुभयाे । उपप्रधानमन्त्री सिंहले नमाेबुद्द नगरपालिकाकाे ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेकाे थाहा पाउँदा खुशी लागेकाे भन्दै उहाँले नागरिकलाई निराेगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जाेड दिनुभयाे ।
अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेकाे भन्दै सचेत रहन पनि सिंहले आग्रह गर्नुभयाे । हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उहाँले कागले कान लग्याे भन्दैमा कागकाे पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताउनुभयाे ।
स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिलाई सेवा गर्छ भनेरै जनताले मत दिएकाे भन्दै राजनीतिलाई सेवाभावकाे रूपमा अगाडि बढाउनुपर्नेमा पनि सिंहले जाेड दिनुभयाे । चुनावमा आआफ्नाे घाेषणापत्र लिएर मत मागेपनि चुनाव पछि सबेे मिलेर विकासकाे काम गर्ने राजनीतिक संस्कार विकसित गर्नुपर्ने पनि उहाँले बताउनुभयाे । `जनता र जनप्रतिनिधिकाे मिलन भयाे भने मात्र विकास निर्माणकाे काम राम्राे ढँगले हुनसक्छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`जनप्रतिनिधिले जनतालाई साथमा लिएर विकास निर्माणकाे काममा अघि बढ्दा राम्राे हुन्छ ।´ उपप्रधानमन्त्री सिंहले प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय हिसावले महत्वपुर्ण नमाेबुद्द नगरपालिकाकाे विकासमा शहरी विकास मन्त्रालयबाट हुने काममा आफूले पहल गर्ने प्रतिवद्दता पनि जनाउनुभयाे ।
कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सांसद सुर्यमान दोङ, पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्रबादे श्रेष्ठ, तीर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा, उप प्रमुख रत्न लामा, शहरी बिकास मन्त्रालयका सह- सचिव नवराज प्याकुरेलवडाअध्यक्ष प्रेमबहादुर तामाङ लगायतले नगरको पूर्वाधार विकासको लागि संघीय सरकारको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो।वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल सरकारका सहसचिवद्वय पदम मैनाली र नवराज प्याकुरेललाई नमोबुद्ध नगरपालिकाको समग्र विकासमा योगदान गरेवापत सम्मान गरिएको थियो । यस्तै इन्जिनियर उज्ज्वल अर्याल, रामप्रसाद दाहाल, भवन निर्माणको ठेकेदार कम्पनी, बालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने संघसंस्था र विद्यालय लगायतलाई सम्मान गरिएको थियो ।