दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२औँ सम्मेलन सुरु

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ भाद्र १९, बुधबार (२ हप्ता अघि)
  • ५६ पटक पढिएको

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२औँ सम्मेलन सुरु

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका हुन्।

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, बसाईँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ।’

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीकाबीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि जनाए।

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो। सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइसराई’ केन्द्रित भई छलफल हुनेछ।

कार्यक्रममा मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे।

सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी थिए । फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस