काभ्रेको बिभिन्न कार्यालयको समीक्षा तथा बार्षिक कार्यक्रम सार्वजनिक

  • काभ्रे खबर
  • / कृषि /
  • २०८१ भाद्र ३१, सोमबार (२ दिन अघि)
  • १०९ पटक पढिएको

काभ्रेको बिभिन्न कार्यालयको समीक्षा तथा बार्षिक कार्यक्रम सार्वजनिक

धुलिखेल / बाग्मती प्रदेश सरकार अन्तर्गतका ३ कार्यालयले आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र त्यसको बजेटबारे सरोकारवालाई जानकारी गराएका छन ।
सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक बर्ष २०८०/८१मा सञ्चालन गरेका कार्यक्रमको समिक्षाका साथै आर्थिक बर्ष २०८१/८२ का बार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले चालु आर्थिक बर्षमा ८ करोड ८१ लाख बराबरको कृषि प्रवद्र्धन र विकासका साथै प्रविधी प्रसार र समन्वयनका काम गरिने बताए । संघीय सशर्तका साथै साझेदार निकायका विभिन्न कार्यक्रम पनि सञ्चालन हुने उनले जानकारी दिए ।
पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. निशान्त शर्मा गेलालले चालु आर्थिक बर्षको लागि ७ करोड ३६ लाख कुल बजेट रहेको जानकारी दिए ।
बागवानी विकास केन्द्र, पाँचखालका प्रमुख विष्णु बोगटीले आर्थिक बर्ष २०८०/८१ मा भएका कामको समिक्षा गर्दै चालु आर्थिक बर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रकाश श्रेष्ठले प्रदेशले रैथाने बाली संरक्षणका लागि नयाँ कार्यक्रमको तयारी गरिरहेको बताए ।
उनले रैथाने बाली संरक्षणका विषयमा धेरै प्रचार भइरहेको, तर वास्तविक रुपमा भने संरक्षणका कुनै पनि कार्यक्रम नभएको पाइएको बताए । उनका अनुसार, यस विषयलाई सरकारले पनि चासो नदिएको अवस्था छ । प्रदेश सरकारले भने रैथाने बाली संरक्षणका लागि प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकासँग सहकार्य गरेर संरक्षण गर्न फरक अनि नयाँ खालको कार्यक्रम गर्ने योजना बनाइरहेको उनले बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषिबाट मात्रै समृद्धी सम्भव छैन भन्ने बहस हुन थालेको भन्दै कृषिका नीति, कार्यक्रम र बजेट पुनर्विचार गर्नुपर्ने बताए ।
बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले पशुमा रोगको प्रकोप बढेको भन्दै कृषकको हितको लागि निशुल्क पशु विमा गरेको बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले भुगोल सुहाउँदो योजना बनाउनुपर्ने तर्क गरे ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले प्रदेश सरकार अन्तर्गतका संरचनाले कृषि, पशु विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम, अनुगमन गर्नुपर्ने भन्दै अनुदान वितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए ।
पनौती नगरपालिका उपप्रमुख गिता वञ्जारा र पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले विषादी पसलहरुको अनुगमन गर्दा स्थानीय तहसंग समन्वय नगरेको भन्दै गुनसो गरे ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले आफनो कार्यक्रम र बजेट सार्वजनिक गरेर कार्यालयले सुशासन र पारदर्शीतामा जोड दिएको बताए ।
बेथानचोक वडा नं २ का कृषक गोपालप्रसाद तिमल्सिनाले रैथाने बाली संरक्षणको लागि विज्ञापन र गफ बढी भएपनि कार्यक्रम र बजेट नभएको बताए ।
पनौती वडा नं ३ मा आलु विउ उत्पादन गरिरहेका कृषक राजेन्द्र थापाले विउ उत्पादनको लागि अत्यावश्यक एमोनियम नाइट्रेट भित्राउन सरकारले रोक लगाएको भन्दै त्यसको लागि निश्चित कोटा तोकिनुपर्ने बताए ।
मण्डनदेउपुर वडा नं ७ का कृषक गोविन्दप्रसाद नेपालले गोठ सुधार कार्यक्रमका कारण रसायनिक मलको प्रयोग नै नगरेका दाबी गर्दै पक्की गोठको लागि संरचनाका लागि अनुदान दिनुपर्ने बताए ।
कार्यक्रम जिल्लाका बिभिन्न पालिकाको नगरप्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, कृषि तथा पशुपंक्षी शाखाका प्रमुख एवं प्रतिनिधि, कृषि तथा पशुपंक्षीसंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न कृषक समूहका प्रमुख तथा प्रतिनिधि, र सञ्चारकर्मीको सहभागि थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस