
दोलखा । बाख्रापालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित बाख्रापालक किसान प्रोत्साहन तथा खसी–बोका मेला–२०८३ सम्पन्न भएको छ। मेलामा १४७ जना किसान सहभागी भएका थिए भने २०५ वटा खसी–बोका प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो।
मेलामा २३ वटा खसी–बोका बिक्री भएका छन्। बिक्री भएका खसी–बोकाको कुल ६०० केजी मासु बराबरको तौलका आधारमा किसानलाई प्रतिकेजी ४० रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको थियो।
मेलामा उत्कृष्ट बाख्रापालक किसानमध्ये शिवराम कार्कीले प्रथम पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गर्नुभयो। त्यसैगरी, कमला श्रेष्ठले द्वितीय पुरस्कारबापत ७ हजार, सुन्तली श्रेष्ठले तृतीय पुरस्कारबापत ४ हजार र दुर्गा देवी कार्कीले सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्राप्त गर्नुभयो।
मेलाको अवसरमा पशु स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमार्फत पशुको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।
ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा कृषि, पशुपन्छी तथा पशु सेवा कार्यालयका डा. मदन भण्डारी, भीमेश्वर नगरपालिकाको पशु शाखा प्रमुख डा. निसान दाहाल र श्याम खड्का मूल्याङ्कनकर्ताका रूपमा रहनुभएको थियो।
मेलाले बाख्रापालन व्यवसायमा संलग्न किसानलाई प्रोत्साहन गर्नुका साथै पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।