
सन् २०१६, मैले त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा स्नातक पूरा गरेकी थिएँ । त्यसपछि व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर पनि गरेँ । पढाइ र करियरको हिसाबले मेरो बाटो वित्त वा कर्पोरेट क्षेत्रमा जाने देखिन्थ्यो । तर मेरो रुचि भने बेकिङमा थियो । त्यही रुचिलाई मैले सुरुवातमा एउटा सोखका रूपमा अघि बढाएँ । बिस्तारै त्यो सोख व्यवसायमा परिणत हुन थाल्यो । आज म मिराज बेकरीकी संस्थापक तथा प्रमुख बेकरी विशेषज्ञ, मिराज इन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्च प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत (सीईओ) र गोर्खा कृषि फार्म प्रा.लि.की संस्थापक का रूपमा काम गरिरहेकी छु ।
तर यो यात्रा मैले एक्लै तय गरेकी होइन । मेरो श्रीमान् हरेक चरणमा मेरो साथमा हुनुहुन्छ—सहयात्री, मार्गदर्शक र आतिथ्य सत्कार क्षेत्रका व्यवसायिक सहकर्मीका रूपमा । हामीले सँगै बेकरीलाई अगाडि बढायौँ, नयाँ कुरा सिक्यौँ, गल्ती ग¥यौँ र फेरि सुधार्यौँ ।
आज पछाडि फर्केर हेर्दा लाग्छ, मैले व्यवसाय मात्र बनाएकी छैन; व्यवसायले मलाई पनि धेरै कुरा सिकाएको छ ।
१. रुचिलाई व्यवसाय बनाउँदा केवल लगाव पर्याप्त हुँदैन
सुरुमा बेकिङ मेरो लागि रमाइलो थियो । तर जब त्यसलाई व्यवसाय बनाएँ, मैले बुझें—राम्रो केक वा ब्रेड बनाउन जान्नु मात्र पर्याप्त हुँदैन । लागत निर्धारण, खरिद व्यवस्थापन, भण्डार व्यवस्थापन, सरसफाइ तथा स्वच्छता, उत्पादन योजना, ग्राहक सेवा, वित्तीय व्यवस्थापन, बजार प्रवद्र्धन र जनशक्ति व्यवस्थापन पनि जान्नुपर्छ ।
वित्त पढेको हुनाले अंक र वित्तीय पक्ष बुझ्ने आधार थियो । तर वास्तविक व्यवसायले ती ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने सिकायो । रुचिले सुरुवात गराउँछ, तर अनुशासनले व्यवसायलाई टिकाउँछ ।
२. उत्पादनभन्दा निरन्तर गुणस्तर अझ महत्वपूर्ण हुन्छ
बेकरीमा एकपटक राम्रो केक बनाउनु ठूलो उपलब्धि होइन । ग्राहकले अर्को पटक पनि त्यही गुणस्तरको उत्पादन पाउनु ठूलो कुरा हो । हामीले मिराज बेकरीमा स्थानीय सामग्रीको प्रयोग गर्दै स्वाद, ताजापन र गुणस्तरमा ध्यान दिने प्रयास गरेका छौँ । हाम्रो लागि उत्पादन भनेको केवल केक वा ब्रेड मात्र होइन । त्यसमा गुणस्तर, स्वच्छता, ताजापन, एकरूपता र ग्राहकको अनुभव सबै जोडिन्छन् ।
मैले सिकेको कुरा सरल छः एकपटक राम्रो उत्पादन बनाउनु उपलब्धि हो; निरन्तर राम्रो उत्पादन दिनु ब्रान्ड हो ।
३. ग्राहक हाम्रो सबैभन्दा राम्रो शिक्षक हो
व्यवसाय सुरु गर्दा हामीसँग आफ्नै विचारहरू थिए । तर बजारमा पुगेपछि ग्राहकले हामीलाई धेरै कुरा सिकाउनुभयो । कुन उत्पादन मन पर्छ?
ड्ड कुन स्वाद कम वा बढी चाहिन्छ?
ड्ड कुन समयमा माग बढ्छ?
ड्ड कस्तो प्याकेजिङ उपयोगी हुन्छ?
कहिलेकाहीँ एउटा गुनासोले पनि हामीलाई महिनौँको योजना र अध्ययनभन्दा धेरै कुरा सिकाउँछ । त्यसैले मैले ग्राहकको प्रतिक्रियालाई आलोचना होइन, निःशुल्क व्यवसायिक परामर्शका रूपमा लिन सिकेकी छु ।
४. नगद प्रवाह नबुझी सानो व्यवसाय टिकाउन कठिन हुन्छ
वित्त पढ्दा नगद प्रवाह विवरण एउटा शैक्षिक विषय थियो । व्यवसायमा आएपछि यसको वास्तविक महत्व बुझें । व्यवसायमा बिक्री मात्र महत्वपूर्ण हुँदैन । आज कति पैसा आयो, कति तिर्न बाँकी छ, कच्चा पदार्थमा कति पैसा अड्किएको छ, तलब र अन्य सञ्चालन खर्च कसरी व्यवस्थापन गर्ने—यी सबै दैनिक प्रश्न हुन् ।
नाफा देखिन सक्छ, तर नगद नहुन सक्छ । त्यसैले सानो व्यवसायका लागि मेरो पाठः बिक्रीले व्यवसाय चलाउँछ, तर नगद प्रवाहले व्यवसायलाई बचाउँछ ।
५. राम्रो टोलीबिना व्यवसाय विस्तार गर्न सकिँदैन
बेकरी चलाउँदै जाँदा हामीले एउटा महत्वपूर्ण समस्या महसुस ग¥यौँ—हामीलाई राम्रो र दक्ष शेफ चाहिन्छ । राम्रो बेकरी विशेषज्ञ चाहिन्छ । दक्ष बारिस्ता चाहिन्छ । क्याफे व्यवस्थापन बुझ्ने जनशक्ति चाहिन्छ । नेपालमा आतिथ्य सत्कार उद्योग विस्तार हुँदै जाँदा दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गयो ।
त्यसपछि हामीले सोच्यौँ—“हामीलाई मात्र दक्ष जनशक्ति चाहिएको होइन, अन्य बेकरी, क्याफे, रेस्टुरेन्ट र होटललाई पनि चाहिएको छ ।” यही सोचबाट सन् २०२१ मा मिराज इन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्च प्रा.लि. सुरु ग¥यौँ । आज त्यहाँ बेकरी, केक बनाउने, बारिस्ता, क्याफे व्यवस्थापन, पिज्जा बनाउने लगायतका व्यावहारिक सीपमा तालिम दिने प्रयास गरिरहेका छौँ ।
यसले मलाई सिकाएको पाठ होः कहिलेकाहीँ आफ्नो समस्या समाधान गर्ने प्रयासले अरूको समस्या समाधान गर्ने संस्था जन्माउँछ ।
६. आकर्षक बजार प्रवद्र्धनभन्दा राम्रो उत्पादनले दीर्घकालीन विश्वास बनाउँछ
आजको समयमा सामाजिक सञ्जाल र डिजिटल बजार प्रवद्र्धन महत्वपूर्ण छन् । तर खाद्य व्यवसायमा अन्ततः ग्राहकले विज्ञापन होइन, उत्पादन खान्छ । हामीले बेकरीमा सकेसम्म स्थानीय सामग्री प्रयोग गर्ने, राम्रो स्वाद र गुणस्तर कायम गर्ने र ग्राहकको विश्वास जित्ने कुरालाई प्राथमिकता दिएका छौँ । बजार प्रवद्र्धनले ग्राहकलाई पहिलोपटक ल्याउन सक्छ ।
तर फेरि फर्काउने कुरा होः उत्पादन + गुणस्तर + अनुभव + विश्वास
त्यसैले मेरो विश्वास छः बजार प्रवद्र्धनले ध्यान आकर्षित गर्न मद्दत गर्छ; गुणस्तरले सम्बन्ध निर्माण गर्छ ।
७. गल्ती व्यवसायको अन्त्य होइन, सिकाइको अवसर हो
उद्यमशीलतामा हरेक निर्णय सही हुँदैन । कुनै उत्पादन नचल्न सक्छ । कुनै लगानी अपेक्षाअनुसार सफल नहुन सक्छ । कुनै कर्मचारीसम्बन्धी निर्णय गलत हुन सक्छ । कहिलेकाहीँ बजारले हाम्रो अपेक्षालाई नै उल्ट्याइदिन सक्छ । तर मैले बिस्तारै एउटा प्रश्न सोध्न सिकेकी छुः “यो गल्तीबाट अब के सिक्ने?”गल्ती दोहोरिनु समस्या हो । तर गल्तीबाट प्रक्रिया सुधार्नु भनेको विकास हो ।
८. महिला उद्यमीले आफ्ना वित्तीय निर्णय आफैँ बुझ्नुपर्छ
महिला उद्यमशीलताको कुरा गर्दा हामी आत्मविश्वास, नेतृत्व र आत्मनिर्भरताको कुरा गर्छौँ । तर मेरो अनुभवमा वित्तीय साक्षरता पनि उत्तिकै महत्वपूर्ण छ । महिलाले आफ्नो व्यवसायकोः आम्दानी, लागत, नाफाको दर, नगद प्रवाह, ऋण, लगानी, कर, भण्डार बुझ्नुपर्छ । निर्णय अरूलाई मात्र छोडेर उद्यमी बन्न सकिँदैन । म आफैँ वित्त विषयको पृष्ठभूमिबाट आए पनि व्यवसायले मलाई वित्तीय निर्णयको व्यावहारिक पक्ष सिकायो । व्यवसायको स्वामित्वसँगै वित्तीय पक्षको स्वामित्व र त्यसको बुझाइ पनि आवश्यक छ ।
९. एउटा व्यवसायबाट अर्को व्यवसायमा जाँदा उद्देश्य खोज्नुपर्छ
मिराज बेकरी सुरु भयो । पछि आतिथ्य सत्कारसम्बन्धी तालिम संस्था आयो । त्यसपछि हामीले कृषितर्फ पनि सोच्न थाल्यौँ । सन् २०२४ मा काभ्रेको पाँचखालमा कफी खेती सुरु ग¥यौँ । जैविक कफीको सम्भावना र स्थानीय उत्पादनसँग जोडिएको अवसर देखेपछि कृषि हाम्रो यात्राको अर्को चरण बन्यो । सन् २०२६ मा गोर्खा कृषि फार्म प्रा.लि. सुरु गर्दै कफी, एभोकाडो, अदुवा, प्यासन फ्रुट, टिमुर लगायतका विविध कृषि उत्पादनमा काम गर्ने सोच अघि बढाएका छौँ । तर नयाँ व्यवसाय सुरु गर्नुको उद्देश्य केवल “अर्को व्यवसाय” थप्नु होइन ।
हाम्रो प्रश्न होः स्थानीय स्रोतको प्रयोग गरेर कसरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ?
१०. उद्यमशीलता भनेको निरन्तर सिकाइ हो
२०१६ मा मैले बेकरी सुरु गर्दा मलाई बेकिङ आउँथ्यो । आज मलाई थाहा छ—उद्यमी बन्न बेकिङ मात्र जानेर पुग्दैन । कहिले वित्त सिक्नुपर्छ । कहिले जनशक्ति व्यवस्थापन । कहिले बजार प्रवद्र्धन । कहिले प्रविधि । कहिले कृषि । कहिले नेतृत्व । र सबैभन्दा महत्वपूर्ण—आफ्नो कमजोरी स्वीकार गरेर सिक्नुपर्छ । आज पनि म आफूलाई “सबै कुरा जाने उद्यमी” भन्दा “सिक्दै गरेको उद्यमी” भन्न रुचाउँछु । बेकरीदेखि स्थानीय अर्थतन्त्रसम्म आज हाम्रो काम तीन फरक क्षेत्रसँग जोडिएको छः बेकरी → सीप → कृषि ।
बेकरीमा हामी स्थानीय सामग्री प्रयोग गरेर राम्रो केक र ब्रेड बनाउने प्रयास गर्छौँ । संस्थामार्फत दक्ष बेकरी विशेषज्ञ, शेफ, बारिस्ता र आतिथ्य सत्कार क्षेत्रका जनशक्ति तयार गर्ने प्रयास गर्छौँ । हाम्रा प्रशिक्षार्थीमध्ये धेरैले बेकरी, होटल, क्याफे तथा अन्य आतिथ्य सत्कार व्यवसायमा काम गर्ने अवसर पाउँछन्; केहीले विदेशमा पनि आफ्नो सीप प्रयोग गरेर रोजगारीको बाटो रोजेका छन् । कृषिमार्फत स्थानीय उत्पादन र जैविक खेतीको सम्भावना खोजिरहेका छौँ । यी तीनवटा व्यवसाय छुट्टाछुट्टै जस्तो देखिए पनि हाम्रो लागि एउटै विचारसँग जोडिएका छन्ः स्थानीय स्रोत, स्थानीय सीप, स्थानीय व्यवसाय । अझ राम्रो अवसर । नेपालका साना तथा मझौला व्यवसायहरू केवल एउटा पसल वा कम्पनी मात्र होइनन् । तिनले रोजगारी सिर्जना गर्छन्, स्थानीय उत्पादन खरिद गर्छन्, परिवारको आम्दानीसँग जोडिन्छन् र स्थानीय अर्थतन्त्र चलाउन योगदान गर्छन् ।
त्यसैले हाम्रो सपना केवल आफ्नो व्यवसाय बढाउनु होइन । हामीसँगै अरू साना व्यवसाय पनि बढून् । एउटा बेकरीले अर्को बेकरीलाई सहयोग गर्न सकोस् । एउटा दक्ष कामदारले अर्को व्यवसायलाई बलियो बनाउन सकोस् । एउटा किसानले राम्रो कच्चा पदार्थ उत्पादन गर्न सकोस् । एउटा युवाले आफ्नो सीपमा आत्मविश्वास लिएर अवसर खोज्न सकोस् ।
अबको हाम्रो यात्रा
२०१६ मा सुरु भएको एउटा सानो सोखले मलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ— व्यवसायको वास्तविक मूल्य केवल आफूले कति कमायौँ भन्नेमा मात्र हुँदैन; आफूले कति मूल्य सिर्जना ग¥यौँ भन्नेमा पनि हुन्छ । आज हामी बेकरी, आतिथ्य सत्कारसम्बन्धी तालिम र कृषिमा काम गरिरहेका छौँ । भोलि यी क्षेत्रलाई अझ राम्रोसँग जोडेर स्थानीय उत्पादन, दक्ष जनशक्ति र दिगो साना व्यवसायको एउटा सशक्त वातावरण निर्माण गर्न चाहन्छौँ । म एक महिला उद्यमी हुँ । म आमा हुँ । म आतिथ्य सत्कार व्यवसायमा काम गर्छु । मेरो श्रीमान् मेरो सहयात्री र मार्गदर्शक हुनुहुन्छ । हामीसँग ठूलो कर्पोरेट पृष्ठभूमिबाट सुरु भएको यात्रा थिएन । एउटा सोख, केही साहस, परिवारको साथ र निरन्तर सिक्ने इच्छाबाट यो यात्रा सुरु भएको थियो ।
अझै धेरै सिक्न बाँकी छ । अझै धेरै चुनौती छन् । तर अब हाम्रो सपना केवल “हाम्रो व्यवसाय सफल होस्” भन्नेमा सीमित छैन । हाम्रो सपना छ— मेरो एउटा सरल विश्वास छ—हातमा सीप छ भने बाँकी सबै कुरा सम्भव छ । सीपले आत्मविश्वास दिन्छ, आत्मविश्वासले अवसर खोज्न सिकाउँछ, र अवसरले नयाँ बाटो खोल्छ । त्यसैले युवालाई केवल जागिर खोज्ने होइन, सीप सिक्ने, अवसर सिर्जना गर्ने र अरूका लागि पनि अवसर बनाउने बाटोमा अघि बढ्न प्रेरित गरौँ ।
सीप सिकौँ । स्थानीय व्यवसायलाई बलियो बनाऔँ । सँगसँगै अघि बढौँ । आउनुहोस्, सँगै निर्माण गरौँ ।
बेथानचोक साप्ताहिकबाट ।