राष्ट्र बैंकबाट जारी निर्देशन बारे जानकारी गराउँदै संघ

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ बैशाख ६, शनिबार (३ घण्टा अघि)
  • ६५ पटक पढिएको

राष्ट्र बैंकबाट जारी निर्देशन बारे जानकारी  गराउँदै संघ

बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ को सम्बन्धमा सुसुचित गराएको छ ।
नेपाल सरकारद्वारा सहकारी ऐन २०७४ का केही प्रावधानहरु थप तथा संशोधन र नेपाल राष्ट्र बैंकले सहकारी ऐन २०७४ को दफा ३ बमोजिम स्थापित सहकारी संस्थाहरूका लागि २०८१ चैत्र २१ गते जारी निर्देशन तथा मापदण्डका व्यवस्थाहरुको बारेमा सदस्य संस्थालाई जानकारी गराएको हो ।

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोक जिल्ला बचत सङ्घ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा होटल उग्रचण्डीमा सम्पन्न एक दिवसिय अन्तरक्रिया कार्यक्रममा नियमन प्राधिकरण,सहकारी मापदण्ड र निर्देशनका कानुनी पाटोहरुकको बारे छलफल भएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका कानुनी पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सहकारी नियममा बस्दा र नियमित सुपरिवेक्षण, अनुगमन र नियमन हुँदा समस्या नहुने तर्क गर्दै उनले यसका विविध पक्षबारे जानकारी दिनु भयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट जारी गरेको निर्देशन र मापदण्डले सहकारी संस्थाहरुलाई पर्ने प्रभाव सम्बन्धी जिल्ला बचत सङ्घ काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालको प्रस्तुतिकरण रहेको थियो । सोही कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थलगायत सहकारीकर्मीहरूले मापदण्ड र निर्देशनका केही प्रावधानहरूले समस्या पर्ने भएपनि सहकारी क्षेत्रलाई बलियो र मर्यादित बनाउनको लागि यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
जिल्ला संघ र बचत संघमा आबद्ध जिल्लाभरका प्रारम्भिक सहकारी संस्थाका सहभागी अध्यक्ष र व्यवस्थापन प्रमुखहरुले सहकारी ऐन र राष्ट्र बैंकबाट जारी निर्देशनसंग बाजिएकाले केही कार्यान्वयनमा केही समस्या देखिएकाले यसको समाधानका उपायहरुको खोजी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस