बिन्धवासिनी साकोसको ३३औँ वार्षिक साधारणसभाअन्तर्गत निर्णय प्रमाणीकरण सभा तथा नवनिर्वाचित पदाधिकारीको सपथग्रहण सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ आश्विन २१, बुधबार (१ महिना अघि)
  • १९३ पटक पढिएको

बिन्धवासिनी साकोसको ३३औँ वार्षिक साधारणसभाअन्तर्गत निर्णय प्रमाणीकरण सभा तथा नवनिर्वाचित पदाधिकारीको सपथग्रहण सम्पन्न

बनेपा  । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभाअन्तर्गत असोज १६ देखि १८ गतेसम्म सञ्चालित सात वटा इकाइसभाबाट छानिएका प्रतिनिधिहरूको सहभागितामा अन्तिम निर्णय प्रमाणीकरण सभा आज (२०८३ असोज २१ गते, बुधबार) सम्पन्न भएको छ। इकाइसभाहरूबाट जम्मा ३१ जना प्रतिनिधि छनोट भएका थिए।

संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय समृद्ध आवास विशिष्टकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा बागमती प्रोस्कूनका कोषाध्यक्षसमेत रहेका संस्थाका सल्लाहकार एवं निर्वर्तमान अध्यक्ष प्रदीप थापाले गर्नुभएको थियो। उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको उक्त सभा सञ्चालक सदस्य केशव थापाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा छानिएका प्रतिनिधि, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।

निर्णय प्रमाणीकरण सभापछि ३३औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडालले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। सल्लाहकारद्वय प्रदीप थापा र भिमसेनप्रसाद सापकोटा, निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडाल तथा प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

निर्विरोध निर्वाचित सञ्चालक समितिमा अध्यक्ष शान्तकुमार श्रेष्ठ, उपाध्यक्ष केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली तथा सदस्यहरू लोकदर्शन कर्माचार्य, बुद्धिमाया लामा, सुनिता धिताल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठ रहनुभएको छ। लेखा सुपरिवेक्षण समितिमा संयोजक रामकुमार श्रेष्ठ तथा सदस्यहरू विदुर थापा र सिद्धिलक्ष्मी पोते रहनुभएको छ।

नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले सञ्चालन गर्नुभएको सपथग्रहण कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी तथा उच्च व्यवस्थापनको उपस्थिति थियो। सो अवसरमा निर्वाचन उपसमितिलाई कदरपत्र वितरणसमेत गरिएको थियो। आजै नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस