
पनौती। सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनौती सेवा केन्द्रले स्वरोजगारमूलक तालिमअन्तर्गत एकदिवसीय अचार बनाउने तालिम सम्पन्न गरेको छ।
बिहीबार पनौती नगरपालिका वडा नं. ९ खल्थलीमा आयोजना गरिएको उक्त तालिम सेवा केन्द्रका संयोजक महेश कुमार कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सेवा केन्द्रका प्रमुख बिमल जाकिबन्जारले संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएका तालिम तथा क्षमता विकास कार्यक्रमहरूको महत्त्वमा जोड दिएका थिए।
तालिममा सहभागीहरूलाई अकबरे खुर्सानी र मेथीको प्रयोगबाट स्वादिष्ट, स्वच्छ तथा लामो समयसम्म सुरक्षित राख्न सकिने अचार तयार पार्ने व्यावहारिक विधि सिकाइएको थियो। आवश्यक सामग्रीको छनोट, सरसफाइ, मसला तथा तेलको सही प्रयोग, अचार बनाउने प्रक्रिया, भण्डारण र प्याकेजिङसम्बन्धी जानकारी पनि दिइएको थियो।
सहभागीहरूले आफैं प्रत्यक्ष रूपमा अकबरे खुर्सानी र मेथीको अचार तयार पारेर व्यावहारिक सीप हासिल गरेका थिए। तालिमका क्रममा सिकेको सीपलाई घरायसी प्रयोगसँगै लघु उद्यम तथा आयआर्जनको माध्यमका रूपमा विकास गर्न सकिने विषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रममा संस्थाका ३६ जना शेयर सदस्य उपस्थित थिए।