
बनेपा – जिल्ला सहकारी संघ लि., काभ्रेले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुलिखेल नगरपालिका–५ को श्रीखण्डपुर चोकमा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भएको यस कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए भने करिब ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा सुगर, प्रेसर लगायतका आधारभूत जाँचसहित निःशुल्क स्किन टेस्ट र स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको थियो।
रक्तदाताहरूलाई संघको तर्फबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो। लायन्स क्लब अफ श्रीखण्डपुरले संयोजन गरेको यस कार्यक्रममा रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा सहभागी थियो।

यसका साथै ब्लोदान काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, विभिन्न साकोस तथा सहकारी संस्थाहरू, रोटरी र लायन्स क्लबका शाखाहरू, काभ्रे लेडिज जेसिज लगायतका संघसंस्थाको सहयोग र सहभागिता रहेको थियो।
जिल्ला सहकारी संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघको भूमिका केवल सहकारी क्षेत्रको विकासमा मात्र सीमित नभई सामाजिक सरोकारका विषयमा पनि केन्द्रित रहेको बताउनुभयो। उहाँले रक्तदान र स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले मानवीय सेवा र स्वास्थ्य सचेतना दुवैलाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठले रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक र सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्वलाई औपचारिकतामा सीमित नराखी समुदायको आवश्यकताअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम संयोजक पूर्ण सागर रञ्जितले संघले स्वास्थ्य, शिक्षा, वातावरण र मानवीय सेवाका क्षेत्रमा जनमुखी कार्यक्रम विस्तार गर्दै जाने र विभिन्न संघसंस्थासँगको सहकार्यलाई थप मजबुत बनाउने बताउनुभयो।
श्रीखण्डपुरमा सम्पन्न यस शिविरले जिल्ला सहकारी संघ काभ्रे सामाजिक उत्तरदायित्वप्रति सक्रिय रहँदै समुदायसँग प्रत्यक्ष जोडिँदै आएको सन्देश दिएको छ।