
बनेपा /बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम असोज २४ गते एकै समय तालिकामा चारवटा एकाइ बैठक आयोजना गरिएको थियो। ती बैठकहरूमा कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्य उपस्थित थिए। एकाइ बैठकबाट भएका निर्णयहरूलाई एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभाले पारित गरेसँगै साधारण सभा पूरा भएको हो।

आर्थिक वर्ष ०८२/०८३ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले सञ्चालन मुनाफा तीन करोड चौतीस लाख उनान्सय हजार छसय सन्तानब्बे रुपैयाँ सत्र पैसा आर्जन गरेको छ। सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब छब्बीस करोड छैसठ्ठी लाख चौरानब्बे हजार सातसय उनान्सय रुपैयाँ पन्ध्र पैसा, बचत हिसाब एक अर्ब अठासी करोड पैतीस लाख सन्तानब्बे हजार तीनयस दश रुपैयाँ सतहत्तर पैसा, शेयर पूँजी चौध करोड पचपन्न लाख दुई हजार नौसय रुपैयाँ, संस्थागत पूँजी उन्नाइस करोड छयासी लाख सैतीस हजार बयासी रुपैयाँ सत्तरी पैसा र लगानीमा रहेको ऋण एक अर्ब अठ्ठाइस करोड सत्चालिस लाख अठासी हजार पाँचसय बीस रुपैयाँ त्रिचालिस पैसा पुगेको छ।
साधारण सभाले आर्थिक वर्ष ०८२/०८३ को मुनाफाबाट सदस्यहरूलाई ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषमार्फत बचत तथा ऋणमा गरेको योगदानका लागि २–२ प्रतिशतका दरले अतिरिक्त लाभ दिने निर्णय गरेको छ।
सभा सम्पन्न भएसँगै लागू हुने गरी औषधि उपचारका क्रममा अस्पताल भर्ना भएका सदस्यहरूलाई तीन हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि पनि पारित गरिएको छ। यसअघि नै संस्थाले प्रसूति महिला सदस्यलाई ६ हजार पाँच सय बराबरको मातृत्व सुरक्षा सहयोग, एक लाख बराबरको दुर्घटना बीमा, घातक रोगमा बीस हजार रुपैयाँ उपचार सहयोग, सदस्यको मृत्युमा परिवारलाई तीस हजार रुपैयाँ काजकिरिया खर्च र प्राकृतिक प्रकोपमा बीस हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
संस्थाले सम्पूर्ण सदस्यहरूको समानान्तर शेयर कायम गर्दै मुनाफामा मात्र केन्द्रित नभई सदस्यहरूले विभिन्न अवस्थामा विविध लाभ प्राप्त गर्न सक्ने योजना अगाडि बढाएको जनाएको छ।