
धुलिखेल । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गत युवाज्योति सेवाकेन्द्रको आयोजनामा मंगलबार धुलिखेल–२ रवि ओपिमा सदस्य अन्तरक्रिया कार्यक्रम (विस्तारित मञ्च) सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य कल्पना मानन्धरले गर्नुभएको थियो भने व्यवस्थापन उपसमिति सदस्य अनु मुस्याजु पनि उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा वरिष्ठ अधिकृत जीवन सत्यालले संस्थाले प्रदान गर्ने वस्तु तथा सेवा, सदस्य राहत कार्यक्रम, स्वास्थ्य संस्थाहरूसँग भएका सम्झौता र सेवा सुविधाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले नियमित बचतको अनिवार्यता र सदस्य सक्रियताको महत्त्वमाथि जोड दिँदै सदस्यहरूलाई स्पष्ट पार्नुभयो।
नियामक निकायले कर्जा सूचना अनिवार्य गरेको व्यवस्था र ऋण लगानीसम्बन्धी जारी निर्देशनको पालना गर्दै संस्थाले कर्जा सूचना अनिवार्य राखेको तथा ऋण लगानीमा सोबापत कुनै शुल्क नलगाउने व्यवस्था रहेको जानकारी पनि दिइएको थियो। सदस्यहरूले उठाएका जिज्ञासाहरूको समाधानसमेत गरिएको थियो।
कार्यक्रममा ५७ जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।