
काभ्रे/ मण्डनदेउपुर नगरपालिका–९ स्थित लाकुरेधारामा शनिबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरबाट १५० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको मुख्य आयोजना र श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो। प्राविधिक सहयोग रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाले उपलब्ध गराएको थियो। पञ्चकन्या सहकारीको वार्षिक साधारण सभाको अवसर पारेर संस्थाको कार्यालय परिसरमा शिविर आयोजना गरिएको थियो।
शिविरमा सहभागीहरूको आँखा परीक्षण गरी समस्या पहिचानसँगै आवश्यक परामर्श र उपचारसम्बन्धी सुझाव दिइएको थियो। ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै सहज रूपमा आँखा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक पक्षले जनाएको छ।
जिल्ला सहकारी संघ र रेयुकाई मासुनागा आँखा अस्पतालबीचको सम्झौताअनुसार शिविरमा मोतिबिन्दु देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ। यसले आर्थिक र भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला सहकारी संघ काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी अभियानलाई आर्थिक गतिविधिमा मात्र सीमित नराखी समुदायको प्रत्यक्ष हितसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले संघले सदस्य सहकारी संस्थाहरूसँगको समन्वयमा स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो। आँखा स्वास्थ्यप्रति समयमै सचेत रहनु र नियमित परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले शिविरबाट ठूलो संख्यामा स्थानीयले सेवा पाएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। साथै पञ्चकन्या सहकारी र रेयुकाई मासुनागा आँखा अस्पतालप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमले सहकारी संस्थाहरूले सदस्यको आर्थिक हितसँगै सामाजिक तथा सामुदायिक विकासमा पनि योगदान पुर्याउन सक्छन् भन्ने सन्देश दिएको छ। जिल्ला सहकारी संघ काभ्रेले आगामी दिनमा पनि सदस्य सहकारी संघ/संस्थाहरूसँग सहकार्य गर्दै नागरिकको आवश्यकतामा केन्द्रित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।