
दाप्चा । नमोबुद्ध नगरपालिकाको वडा नम्बर १० लाई बालमैत्री वडाका रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू पूरा गरेपछि यो घोषणा भएको हो।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई बालमैत्री वडाको प्रमाणपत्र प्रदान गर्दै घोषणा कार्यक्रम सम्पन्न गरेका थिए। नगरपालिकाका ११ वडामध्ये वडा नं. १० अन्तिममा बालमैत्री घोषणा भएको वडा बनेको छ। सबै वडाहरू बालमैत्री भएसँगै अब सम्पूर्ण नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
घोषणा कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा लगायतका पदाधिकारीहरूले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणाअन्तर्गत बालबालिकाको अधिकार संरक्षण, उनीहरूको सहभागिता र बालमैत्री वातावरण निर्माणमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिइएको थियो।
यसै अवसरमा सामाजिक सहयोगका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। एकल महिला तथा ज्येष्ठ नागरिक गरी २७५ जनालाई कम्बल वितरण गरिएको छ। त्यस्तै, स्थानीय समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिएको छ, जसले स्थानीय सांस्कृतिक परम्परा र बाजागाजाको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण उपाध्यायले आफ्नो व्यक्तिगत खर्चमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा वडा कार्यालयका कर्मचारी र महिला जनप्रतिनिधि गरी १९ जनालाई एक–एक सेट कपडा पनि वितरण गरेका थिए।