धुलिखेल/बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा भएको गोष्ठीमा प्रदेश भित्रका १० जिल्लाका प्रहरी प्रमुख सहित जिल्लामा अपराध अनुसन्धानमा कार्यरत अधिकृतहरूको उपस्थित रहेको छ ।
कार्यक्रमको उद्घाटन गदै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले न्याय सम्पादनमा पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने बताए । नेपालमा वन्यजन्तु तस्करी, लागुऔषध बेचबिखन, ओसारपसार तथा पैठारी, मानव बेचबिखन, जुवा, आतङ्कवाद, साइबर क्राइम तथा वित्तीय अपराध प्रमुख अपराध तथा चुनौतीको समेत सामना गर्नुपरेको भन्दै उनले यस्ता घटनाको छानबिनमा पनि निपुण हुन सबै प्रहरी अधिकृतलाई आग्रह गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बाग्मती प्रदेशमा सात हजार तीन सय ४ प्रहरी कर्मचारी रहेको जानकारी गराउँदै एक प्रहरी बराबर चार सय २३ जना नागरिकको सुरक्षामा खट्नुपर्ने बाध्यता रहेको बताए । गत आर्थिक वर्षमा मुलुकभर ६० हजार मुद्दा दर्ता भएकामध्ये बाग्मती प्रदेशमा आठ दशमलव ७९ प्रतिशत, अर्थात् पाँच हजार एक सय ९७ मुद्दा दर्ता भएको उनले जानकारी दिए ।बढ्दो सहरीकरण, आर्थिक गतिविधि, मुख्य राजमार्ग, आत्महत्या, जबरजस्ती करणी, लागु औषध, बैङ्किङ कसुर, चोरीमा घटना अत्यधिक देखिएकाले यसको न्यूनीकरणमा लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईले जाहेरी दर्ता नगर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै जाहेरी दर्ता गरेर अनुसन्धानमा प्रमाणित नभए ‘दरपिठ वा तामेली’मा राख्न सकिने प्रावधान रहेको बताए । कार्यक्रममा बागमति प्रदेशका मुख्य न्यायाधीवक्ता सुकदेव काफ्ले, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक कुवेर कडायत, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायतले संवोधन गरेका थिए ।
कार्यक्रममा बागमति प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाबाट अपराध अनुसन्धानबारे प्रस्तुतिकरण गरिएको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमति प्रदेश प्रहरी कार्यालय हेडौंडा, अपराध अनुसन्धान विभाग लगायतबाट अपराध अनुसन्धानका विविध क्षेत्रबाट कार्यपत्रसमेत प्रस्तुत गरिएको छ ।