काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह दोस्रो चरण शुक्रबार हुने

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ भाद्र १३, बिहिबार (२ हप्ता अघि)
  • १८३ पटक पढिएको

काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह दोस्रो चरण शुक्रबार हुने

धुलिखेल, भदौ १३ : काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह दोस्रो चरण शुक्रबार हुने भएको छ। सो अवसरमा विभिन्न सङ्कायका २३१४ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा कुलपति केपी ओलीको अध्यक्षतामा हुने दोस्रो चरणको दिक्षान्तमा स्कुल अफ आर्ट्स, साइन्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज विधाका विद्यार्थी दीक्षित बताइएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि विभिन्न नयाँ विषयको अध्यापन सुरु गरिएको बताए। उनले विश्वविद्यालयमा बिदेशी विद्यार्थी ल्याउनको लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्ना कार्यक्रमहरूलाई प्रचार गर्ने काम समेत सुरु गरेको बताए।

विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले समारोहमा पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।

उनले दीक्षित हुनेमा स्कुल अफ आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३ सय ६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५ सय ६३ जना र साइन्सका १ सय ४९ जना रहेको बताए।

दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २ सय ४२ विद्यार्थी रहेका छन्। दीक्षित हुने कुल विद्यार्थीमा विदेशी विद्यार्थीको सङ्ख्या १० प्रतिशत रहेको बताइएको छ।

काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत मास्टर्स अफ बिजनेस एण्ड इकोनोमिक्समा ११ जना र ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा २३ जना, स्कुल अफ मेडिकल साइसेन्जको डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिनमा पाँच जनालगायतका विभिन्न सङ्कायका विभिन्न विषयमा विद्यार्थीहरु दीक्षित हुने विश्वविद्यालयले जनाएको छ।

समारोहमा यस पटक चान्सलर स्वर्णपदकबाट मिजला चित्रकार, भाइस चान्सलर स्वर्णपदकबाट मुकेश तिवारी, भाइसचान्सलर स्वर्णपदक (एमबिबिएस) तर्फ स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदकबाट रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट अर्जुन दास र महेशनाथ पराजुली स्वर्णपदकबाट रनिषा पौडेललाई प्रदान गरिनेछ।

विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४३७ विद्यार्थी दीक्षित भएका छन् दीक्षित हुने विद्यार्थीमध्ये ५७ देशका पाँच हजार ४६७ जना विदेशी विद्यार्थी छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस