पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर, करिब २०० जनाले सेवा लिए

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८३ कार्तिक १६, सोमबार (२ हप्ता अघि)
  • १२३ पटक पढिएको

पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर, करिब २०० जनाले सेवा लिए

पाँचखाल /काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोक–जोगिथुम्कास्थित श्री भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आइतबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा सम्पन्न शिविरमा करिब २०० जना स्थानीय बासिन्दाले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण र उपचार सेवा लिएका छन्।

कार्तिक १५ गते बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म चलेको शिविरमा जनरल मेडिसिन, शल्यक्रिया, आँखा, स्त्रीरोग, हाडजोर्नी तथा नशा, दन्त, बालरोग र नाक–कान–घाँटीसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। साथै यूएसजी, ईसीजी तथा ल्याब परीक्षणअन्तर्गत एचबी, सुगर, युरिया, युरिक एसिड, ब्लड ग्रुप, पिसाब र गर्भावस्था परीक्षण पनि निःशुल्क गरिएको थियो।

विपन्न वर्गका लागि ५० प्रतिशतदेखि पूर्ण निःशुल्कसम्मको उपचार व्यवस्था मिलाइएको थियो भने मोतियाबिन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिएको पाँचखाल नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सञ्जय तामाङले जानकारी दिएका छन्। प्राविधिक सहयोग काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालले गरेको थियो। अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक टोलीले स्थानीयस्तरमै सेवा प्रदान गरेका थिए।

शिविरमा उज्यालो नेपाल, लायन्स क्लब अफ भक्तपुर रुद्राक्ष, लायन्स क्लब अफ काठमाडौं रुद्राक्ष, लायन्स क्लब अफ भक्रमदेवी पाँचखाल, पाँचखाल जेसिज, सातदोबाटो युवा क्लब, शिखर कटेरी युवा क्लब र पाँचखाल नगरपालिकाको सहकार्य रहेको थियो। समन्वय पाँचखाल नगरपालिका वडा नं. ११ ले गरेको थियो।

गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित शिविरले स्थानीय नागरिकलाई सहज पहुँच दिएको आयोजकको भनाइ छ। सहयोग गर्ने सबै संघसंस्था, जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै आयोजकले आपसी सहकार्यबाट यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस