सहकारी के हो?
धेरै व्यक्तिहरु एकसाथ मिलेर काम गर्ने भावना वा सामूहिक रुपले काम गर्ने प्रवृत्ति सहकारिता हो भने यही भावना वा प्रवृत्तिको नतिजामुखी कामको स्वरुप नै सहकारी हो। मानव सभ्यताको विकास सँगसँगै कुनै पनि व्यक्तिले आफ्ना आवश्यकताहरु स्वयं आफैले मात्र पूरा गर्न सम्भव नभएको कारणले विस्तारै सहकारीताको विकास हुँदै गएको हो र कालान्तरमा संस्थागत रुपमै सहकारी संस्थाहरु अस्तित्वमा आएका हुन्। जबसम्म मानव सभ्यता रहन्छ तबसम्म कुनै न कुनै स्वरुपमा सहकारी पनि जीवन्त रहिरहन्छ।
तपाईको सहकारीको परिचय दिनु पर्दा?
बुडोल सामुदायिक साकोस २०५० सालमा दर्ता भई २०५७ सालदेखि मात्र क्रियाशिल भएको समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी संस्था हो। हाल यसको कार्यक्षेत्र काभे्रपलाञ्चोक जिल्लाभर रहेको र मुख्य कार्यालय र ४ वटा सेवा केन्द्र कार्यालय गरी ५ वटा कार्यालयमार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। यसले स्थापना कालदेखि नै सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्यमान्यतालाई अनुशरण गर्दै आएको छ। यसले संस्थामा आवद्ध हरेक सदस्य मालिक हुन् भन्ने कुरालाई महत्व दिई सदस्यको आवश्यकता र चाहनामा आधारित समयसापेक्ष सेवा, सुविधाहरु उपलब्ध गराउँदै आएको छ। सेवा सुविधा र सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने बुडोल सामुदायिक साकोस सदस्यले गर्व गर्न लायकको संस्था हो।
कस्तो छ आर्थिक कारोबार?
२०८१ पुष मसान्तसम्मको अवस्थालाई केलाउँदा संस्थामा कुल १९१०३ जना शेयर सदस्य र ७९५६ बाल बचतकर्ताहरु गरी २७,०५९ जना आबद्ध रहेका छन्। संस्थाको शेयर पूँजी १६ करोड ९२ लाख पुगेको छ। सदस्यहरुबाट संकलन भएको कूल बचत १ अर्ब ७० करोड रुपैंया र सदस्यहरुमाझ लगानीमा रहेको ऋण १ अर्ब ३७ करोड रहेको छ। अहिले संस्थाको कूल सम्पत्ति २ अर्ब ११ करोड ३५ लाख पुगेको छ। संस्थागत पूँजी नै १७ करोड १ लाख पुगिसकेकोले संस्थाको पूँजी संरचना बलियो भएको पुष्टी गर्दछ। सदस्य संख्या निरन्तर बढ्दो छ भने शेयर पूँजी र बचत रकम पनि क्रमशः वृद्धि भईरहेको नै छ। जथाभावी ऋण लगानी नगरिने भएकोले वर्तमान अवस्थामा ऋण लगानीको अनुपात भने केही सुस्ताएको अवस्था छ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन्। सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ, यस्तोमा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ की?
विश्वव्यापी आर्थिक मन्दीले सबै क्षेत्रलाई नराम्रो प्रभाव पारेको छ, संस्थामा आवद्ध हरेक सदस्य यसबाट अछुतो छैनन्। विशेष गरी २८०० सदस्य जसले ऋण लिनु भएको छ, उहाँहरुलाई पनि ऋणको किस्ता व्याज तिर्न धेरथोर समस्या देखिएको छ। तसर्थ सदस्यहरुलाई सहजताको लागि समय सापेक्ष ब्याजदर पुनरावलोकन गरी घटाईएको छ भने त्रैमासिक रुपमा किस्ता ब्याज भुक्तानी गरे पनि हुने गरी सहज व्यवस्था मिलाईएको छ। संस्थाले व्यवसाय विस्तार गर्न वा रोकिएका व्यवसाय पुनः सञ्चालन गर्न चाहने सदस्यलाई सहुलियतपूर्ण व्याजदरमा ऋण थप गर्ने सुविधा पनि दिदै आएको छ।
बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ?
संस्थामा नियमित बचत, आवधिक बचत, ऐच्छिक बचत, कोपिला बाल बचत लगायत विभिन्न २० प्रकारका बचत सेवाहरु उपलब्ध रहेको छ।सबै उमेर समूहलाई लक्षित गरी बचतका सेवाहरु निर्धारण गरिएको छ। तर संस्थाले हिजो शुरुवातको समयदेखि नै नियमित बचतलाई प्राथमिकतामा राखेको छ। संस्थामा आबद्ध भएपश्चात सदस्यले अनिवार्य रुपमा नियमित बचत गर्नै पर्दछ। अहिले हेर्दा पनि संस्थामा कुल बचतमध्ये ३० नियमित बचतको हिस्ता ३० प्रतिशत हाराहारी नै रहेको छ।
कर्जा प्रवाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन?
अहिलेको अवस्थामा जथाभावी ऋण लगानी गरेका कारण नै सहकारी संघसंस्थाहरु समस्यामा परेका छन्। तसर्थ ऋण लगानी गर्नुपूर्व नै सतर्कता अपनाउनु जरुरी छ। ऋण लगानी गर्नुपूर्व सदस्यको परियोजना, परियोजनाबाट हुने आम्दानीको सम्भाव्यता र ऋणी सदस्यको ऋण तिर्न सक्ने क्षमतालाई विशेष ध्यान दिनुपर्दछ। यसका अलावा पर्याप्त धितो सुरक्षण लिनुपर्दछ। ऋण लिन चाहने सदस्यको आर्थिक अनुशासन पनि केलाउनुपर्दछ। ऋण लगानी गर्नुभन्दा अगाडि नै माग भएको ऋणको पर्याप्त अध्ययन तथा विश्लेषण आवश्यक हुन्छ। धितो छँदैछ नि भन्दैमा जथाभावी ऋण लगानी गर्नु हँुदैन।
कर्जालगानी कस्ता क्षेत्रमा बढी लक्षित छन?
संस्थाले सदस्यको आवश्यकतालाई सम्बोधन गर्ने गरी सबैजसो क्षेत्रमा ऋण लगानी गरेको छ। विशेष गरी व्यावसायिक क्षेत्र, सवारी साधन खरिद, आवास, शिक्षा, कृषि तथा पशुपालन जस्ता शीर्षकमा बढी ऋण लगानी रहेको छ। संस्थामा हाल १८ प्रकारका शीर्षकमा ऋण सुविधा उपलब्ध रहेको छ।
कर्जा कसरी खराब कर्जा बन्न पुग्छ?
सदस्यले लिएको ऋणको तोकिएको एउटा मात्र किस्ता वा ब्याज भुक्तानी गर्न नसकेमा संस्थाले उक्त ऋणलाई भाखा नाघेको ऋणको रुपमा गणना गर्नुपर्दछ। भाखा नाघ्ने बित्तिकै ऋण खराब भई हाल्ने त होइन तर ऋणमा हुने जोखिम भने पक्कै बढेर जान्छ। तसर्थ भाखा नाघेको ऋण असुलीलाई प्राथमिकतामा राखेर काम गर्नु पर्दछ। यदी भाखा नाघेको ऋण असुली भएन यदी भने चाही सो ऋण क्रमशः खराब ऋणमा परिणत हुन थाल्दछ। पर्याप्त अध्ययन र विश्लेषण बेगर नै जथाभावी लगानी गरिएको ऋण खराब ऋणमा दर्ज हुने निश्चितप्राय नै हुन्छ।
कति छ खराब कर्जा ?
संस्थामा हरेक महिना सदस्यलाई लगानी गरिएको ऋणलाई वर्गीकरण गर्ने गरिएको छ। सदस्यले लिएको ऋणको तोकिएको किस्ता ब्याज भुक्तानी गर्न नसकेमा संस्थाले उक्त ऋणलाई भाखा नाघेको ऋणको रुपमा गणना गरेका छौं। असल ऋणको लागि १ प्रतिशत, १ देखि १२ महिना भाखा नाघेको ऋणको लागि ३५ प्रतिशत र १२ महिनाभन्दा बढी भाखा नाघेको ऋणको लागि १०० प्रतिशत ऋण सुरक्षण कोष खडा गर्ने गरिएको छ। अन्य समयमा भाखा नाघेको ऋण अलिक बढ्ने भए तापनि आर्थिक वर्षको अन्त्यमा भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम नै रहने गरेको छ। गत असारमसान्तमा पनि भाखा नाघेको ऋण ३.२४ प्रतिशत मात्र रहेको थियो। तर १२ महिनाभन्दा बढी भाखा नाघेका खराब ऋणको रकम अत्यन्तै न्यून रहेको छ।
सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन?
गलत उद्देश्यले प्रेरित भएर धेरै सहकारी संस्थाहरु खुले। सदस्यहरुबाट सङ्कलन गरेको रकम सीमित व्यक्तिहरुबाट मनोमानी ढङ्गबाट परिचालन गरिए। सदस्यहरुलाई बिना आधार जथाभावी ऋण लगानी गरे। त्यसैको परिणाम स्वरुप केही समयदेखि सहकारी संस्थाहरुले सदस्यको पैसा फिर्ता गर्न सकेनन्। सदस्यहरुको चर्को दवाबले संस्था बन्द गरेर सञ्चालक र व्यवस्थापकहरु भाग्नुपर्ने वा जेल जानुपर्ने अवस्थामा पुगेका छन्। गलत गर्ने संस्थाका कारण यस्तो अवस्था आएको हो । जुन सहकारी संस्थाहरु नियमसंगत सञ्चालित छन् तिनीहरुमा कुनै समस्या छैन। समग्र सहकारीहरुमध्ये थोरै संस्थामा समस्या आएको हो, धेरै त राम्रै छन। तर नकारात्मक कुराले महत्व पाउने हाम्रो सँस्कारले गर्दा डुबेका, भागेका सहकारी संस्थाको मात्र चर्चा भईरहेको छ।
समुदायमा आधारित सहकारीहरुले यस्ता समस्या झेल्नु परेको छ?
समुदायमा आधारित संस्थाहरु सहकारी सिद्धान्त र मूल्य मान्यता अनुरुप सञ्चालित हुन्छन्। तसर्थ यस्ता संस्थाहरु नियमसँगत सञ्चालित छन् तिनमा कुनै समस्या छैन र समस्या आउने पनि छैन। समुदाय र सदस्य केन्द्रीत भएर चलेका संस्थाहरु जस्तोसुकै संकटमा पनि अटल भएर रहन सक्दछन्। बरु राम्रा काम गरिरहेका संस्थाहरुको राम्रा कामको चर्चा परिचर्चा पर्याप्त हुन सकेको छैन।
अध्यादेशले सहकारी क्षेत्रको संकट टर्ला ?
सहकारी क्षेत्रमा देखिएको विसंगती र विकृतिलाई अन्त्य गर्न सहकारी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको छ। यसका धेरैजसो व्यवस्थाहरु सकारात्मक छन्। तर यसले मात्र विद्यमान समस्या समाधान गर्न सक्ने देखिदैन। बरु अध्यादेशका केही व्यवस्थाले समग्र सहकारी अभियानलाई थप संकटमा पार्ने निश्चित छ। जस्तो की कार्यक्षेत्रको आधारमा सहकारीलाई वर्गीकरण गरेर सोही आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्नु सहकारी संस्थाको लागि घातकसिद्ध हुनेछ। वैकल्पिक व्यवस्था कायमै गर्न नसक्ने गरी एक व्यक्ति एक मात्र सहकारीको सदस्य बन्न पाउने कुरा पनि व्यवहारिक छैन।
सहकारीमा पनि त विकृत आइरहेका छन्। वित्तीय सुशासनका लागि के–के कदम चाल्नु भएको छ?
सीमित व्यक्तिको स्वार्थका कारण सहकारीमा गलत भएको हो। सहकारी आफैमा त पवित्र मन्दिर हो। यसका पुजारीहरुले मन्दिर अपवित्र बनाएका हुन। सहकारी सञ्चालकका लागि ऐन, नियमावलीहरु छन्, अन्य सरोकारवाला कानूनहरु पनि छन्। सदस्यहरुमध्येबाटै चुनिएर सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति बन्न सक्ने प्रावधानहरु छन्। आफैले संस्थाको लागि आवश्यक नीति तथा कार्यविधि बनाउन सकिने व्यवस्था छ। वास्तवमा सहकारीहरु स्वनियमनमा सञ्चालन हुनुपर्ने हो।
सरल र सहज ढंगबाट चल्न सहकारीको मूल्य तथा सिद्धान्त कस्तो हुनुपर्छ ?
सहकारी सञ्चालनको लागिविश्वव्यापी रुपमै निर्धारित सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरु र मूल्य मान्यताहरु छन्।विश्वभर सहकारी यिनै सिद्धान्त र मुल्य मान्यतामा आधारित भएर सञ्चालित हुन्छन्। यदि यी सिद्धान्त र मूल्य मान्यताहरुलाई मात्र पछ्याएर संस्था सञ्चालन गर्ने हो भने सहकारीहरुमा कुनै खालका समस्या आउँदैनन्।
सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ सहकारीले ?
नेपालको सहकारी अभियानमा सहकारी भन्ने बित्तिकै लगभग बचत र ऋणको कारोबारलाई मात्र बुझ्ने अवस्था बनेको छ। यथार्थतामा सहकारीको दायरा अत्यन्तै फराकिलो छ। नेपालमा सामान्यत बचत तथा ऋण सहकारी, कृषि सहकारी, दुग्ध सहकारी, बहुउद्देश्यीय सहकारी, उपभोक्ता सहकारी लगायत सहकारीहरु सञ्चालनमा छन् र उद्देश्य जेसुकै भएता पनि अधिकांशले बचत र ऋणको कामलाई मात्र प्राथमिकतामा राख्ने गरेको पाईन्छ। वास्तवमा बचत तथा ऋण सहकारीले बचत र ऋणको काम गरेजस्तै विभिन्न उद्देश्य राखेर खोलिएका संस्थाले आफ्नो उद्देश्यलाई नै केन्द्रमा राखेर सदस्यहरुलाई सहयोग गर्ने काम गर्नुपर्दछ। समग्रमा सहकारीले उत्पादन बढाउने, उद्यमशिलताको विकास गर्ने, रोजगारी सिर्जना गर्ने जस्ता काम गरी आफ्ना सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षको विकासमा टेवा पु¥याउने हो।
सहकारीको सेवामूलक भूमिका हुनु पर्छ भन्नेमा कत्तिको विश्वास राख्नु हुन्छ ?
सहकारी आफैमा सेवामूलक व्यवसाय हो। यसले आर्जन गरेको मुनाफा सदस्यको हो। यसले वितरण गर्ने सम्पूर्ण सेवा सुविधाहरुकोसेवाग्राही सदस्यहरु नै हुन। सहकारी एकका लागि सबै, सबैका लागि एक भन्ने भावनाबाट प्रेरित भएर सञ्चालनमा रहने भएकोले यो नाफामूलक कम र सेवामूलक ज्यादा हुनुपर्दछ।
सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाइँदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ भनिन्छ लागु भएको छ तपाईकोमा ?
सहकारी संस्थालाई बलियो र सुरक्षित बनाउन हरेक वर्ष नाफाको निश्चित हिस्सा जगेडा कोषमा छुट्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ। जगेडा कोष जति धेरै निर्माण गर्न सकियो उति नै संस्था बलियो हुन्छ। कानुनी रुपमै जगेडा कोषको रकम मास्न वा वितरण गर्न पाइने व्यवस्था छैन। जगेडा कोषलाई संस्थागत पूँजी पनि भनिन्छ। संस्थागत पुँजीको आधारमा संस्थाले आयआर्जन नगर्ने सम्पत्तिहरु निर्माण गर्न सक्दछ। संस्थाको १७ करोड रुपैंया बराबरको यस्तो संस्थागत पुँजी निर्माण भईसकेको छ। त्यसैले त संस्था आफैमा मजबुद छ।
आफ्ना सदस्यहरूलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होइन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई ?
सहकारी चलाउनेहरु धनी बन्ने होइन। तर सहकारी संस्था धनी पनि हुनुपर्दछ, बलियो र सुरक्षित पनि हुनु पर्दछ। यसो हुन सक्यो भने मात्र सदस्यका बचत सुरक्षित हुन सक्दछ। आर्थिक रुपमा मजबुद संस्था मात्र आफ्ना सदस्यहरुलाई विभिन्न खालका सेवा सुविधाहरु उपलब्ध गराउन सक्षम हुन्छन्। हेर्नुस त अहिले कोष बलियो भएका संस्थाका सदस्यहरुले घरमा नयाँ बच्चा जन्मेदेखि कुनै सदस्यको मृत्युको अवस्थासम्ममा पनि संस्थाबाट कुनै न कुनै राहत सहयोग प्राप्त गर्न सकेका छन्। संस्था सदस्यको घरपरिवारमा खुशी र दुःखमा सामेल हुने वातावरण बनेको छ।
समाजिक उत्तरदायित्व बहन गर्नेमा तपाईको सहकारी कत्तिको लागि परेको छ?पछिल्ला गतिविधि केही छन्?
बुडोल सामुदायिक साकोसले हरेक आर्थिक वर्षको लागि आफ्नो वार्षिक कार्ययोजनामा नै सामाजिक उत्तरदायित्व बहन गर्नका लागि विभिन्न कार्यक्रम र बजेट निर्धारण गर्ने गरेको छ। संस्थाले रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, वातावरण संरक्षणसम्बन्धी कार्यक्रम, विभिन्न निकायबाट भएका सामाजिक सांस्कृतिक तथा खेलकुद कार्यक्रममा सहयोग लगायतका कार्यक्रमहरुमा संस्थाले सहभागिता जनाउँदै आएको छ।
सदस्यहरुको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
यो संस्था बचत तथा ऋण सहकारी भएकोले मूलत यसको उद्देश्य नै बचत र ऋण सेवाको माध्यमबाट नै सदस्यहरुलाई सहयोग गर्ने हो। तथापी हामीले सदस्यहरुले सञ्चालन गर्न खोजेको परियोजनाका लागि उपयुक्त परामर्श प्रदान गरेर उक्त परियोजनाको सम्भाव्यता केलाउने गरेका छौं। यसबाट सदस्यले उक्त परियोजना सञ्चालन गर्ने वा नगर्ने वा कसरी सञ्चालन गर्दा प्रभावकारी हुन्छ भनी निश्कर्ष निकाल्न सक्दछन्। यसरी परामर्श दिनका लागि संस्थाले व्यवसाय विकास सेवा डेस्क सञ्चालनमा ल्याएको छ। केही नयाँ गर्न खोज्ने सदस्यलाई हामी आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउँदछौं। यसका अलावा संस्थाले सदस्यहरुको माग पहिचान गरी विभिन्न सीपमूलक तालिम कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ।
अन्त्यमा केही ?
सहकारी संस्थाहरुको लागि सरकारले जुन अध्यादेश ल्याएको छ, यसमा केही सुधार नभई यो हुबहु लागु भयो भने सहकारी अभियान नै संकटमा पर्न सक्दछ। तसर्थ यसमा ध्यान दिनु हुन सम्पूर्ण सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराउन चाहन्छु। यसलाई सच्याउनको लागि अब सम्पूर्ण सहकारी संघसंस्थाहरु एकजुट हुनुपर्ने आवश्यकतालाई दृष्टिगत गरी ऐक्यबद्धताको लागि आव्हान गर्दछु। सदस्यज्यूहरुमा पनि धैर्य गरी हामीलाई निरन्तर साथ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।