० सहकारी के हो ?
सहकारी भन्नाले समूहगत रुपमा काम गर्ने हो भन्ने सामान्य अर्थ बुझ्न सकिन्छ । सहकारी भन्नाले व्यक्ति र समुदायको पारस्परिक हित र विकासलाई जनाउँछ । सहकारी एउटा यस्तो स्वतन्त्र, स्वायत्त, स्वेच्छिक संगठन हो, जसमा धार्मिक, सामाजिक, राजनैतिक, आर्थिक एवं साँस्कृतिक रुपले विभाजित विभिन्न व्यक्ति वा समुदाय आफ्ना उद्देश्य, इच्छा, आकांक्षा र आवश्यकता परिपूर्तिका लागि आवद्ध भएका हुन्छन् । सहकारी यस्तो संगठन हो जस्को उद्देश्य आफ्ना सदस्यहरुको आर्थिक एवं सामाजिक विकास गर्नेतर्फ लक्षित भएको हुन्छ ।
० आभाष सहकारीलाई नियाल्नु पर्दा ?
हामी आवद्ध रहेको सहकारी संस्था आभाष बचत तथा ऋण सहकारी संस्था लि. हो । यस संस्थाले वि.स. २०६४ फागुन २ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई वि.स. २०६६ मंसिर १४ गतेबाट बनेपा न.पा वडा नं. ८ मा कार्यालय स्थापना गरि संस्थाको विधिवत रुपमा कारोवार सुरुवात भएको हो । बनेपा नगरपालिकाका ३६० जना सदस्यबाट सुरुवात भएको यस संस्थामा हाल ६ हजार भन्दा बढि सदस्यहरु आवद्ध भई एक ठूलो परिवारको रुपमा स्थापित भएको छ । स्थापनाकालमा बनेपा नगरपालिका भित्र कार्यक्षेत्र रहेका यस संस्थाले आफ्नो वस्तु तथा सेवालाई क्रमश विस्तार गर्दै काभ्रे जिल्ला भरि कार्यक्षेत्र कायम गरेको छ । बनेपामा मुख्य कार्यालय संचालन गर्दै पनौती नगरपालिकाको पनौती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशीमा सेवाकेन्द्र संचालन गर्दै आइरहेको छ । आगमी दिनमा संस्थाले कार्यक्षेत्र भित्रका अन्य स्थानिय तहहरुमा पनि संस्थाको सेवा विस्तार गर्ने योजना बनाएको छ । यस संस्थाले सहकारी मान्यता अनुरुप “आपसी सहयोग सद्भाव र सामुहिक हितका लागि सहकारी” भन्ने भावनालाई आत्मसाथ गरि समुदायमा छरिएर रहेका आर्थिक स्रोतहरु संकलन गरि सोही स्रोतको परिचालन गरि “यहाँको सुख दुःखको सहयात्री” भन्ने मूल नाराका साथ संस्था अगाडि बढिरहेको छ ।
० कस्तो छ आर्थिक कारोवार ?
२०८१ पौष मसान्त सम्ममा यस संस्थामा ६०१४ जना शेयर सदस्य र ९३३ जना बालबचतकर्ताहरु आवद्ध रहेका छन । पौष मसान्तसम्ममा शेयर पुँजी रु ३ करोड ७६ लाख रहेको छ भने कुल बचत संकलन रु ७९ करोड संकलन गर्न सफल भएको छ । संस्थाको सम्पत्ति रु ८७ करोड पुगेको छ भने पुँजी रु ३ करोड १६ लाख रहेको छ । ६८ करोड ६१ लाख रुपैयाँ ऋण लगानी रहेको यस संस्थाले तरलताको रुपमा रु १९ करोड ५२ लाख कायम गरेको छ । प्रतिशतको आधारमा तरलता २४.७२ प्रतिशत रहेको छ । अर्थतन्त्रमा संकुचन भएको हुनाले लगानीको क्षेत्रहरुमा पनि संकुचन भएको र यस्को प्रत्यक्ष असर ऋण लगानीमा भएको छ । संस्थामा बचत बृद्धि भएता पनि सोही अनुपातमा ऋण लगानीमा बृद्धि भने गर्न सकिएको छैन ।
० विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन् । सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ, यस्तोमा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ कि ?
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनबाट नेपाल पनि अछुतो भने रहन सकेन । देशको अर्थतन्त्रमा पनि यस्को प्रत्यक्ष असर देखिएको छ । बजारमा अत्याधिक तरलताको अवस्था रहेकोछ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि निरन्तर बजारबाट अधिक तरलता रकम तानिरहेको छ । लगानीको नयाँ क्षेत्र पहिल्याउन नसक्नु, भएका लगानीका क्षेत्रहरुमा लगानी सुरक्षाको प्रत्याभुति नहुनु र उत्पादन क्षेत्रमा लगानीको सुनिश्चितता नहुनु जस्ता कारणले नयाँ व्यवसायमा लगानी तथा भएका व्यवसायमा लगानी थप गर्ने वातावरण नभएको हुनाले लगानीमा संकुचन आएको छ । व्यापार व्यवसाय कुनै न कुनै रुपमा एकअर्कासँग जोडिएका हुन्छन । कुनै एक क्षेत्रमा मन्दी हुने वित्तिकै अन्य क्षेत्रमा पनि प्रत्यक्ष तथा परोक्ष रुपमा यसले असर गर्छ । यस्तो अवस्थामा नगद प्रवाहमा नकारात्मक असर पर्छ । हामीले ऋण लगानी गर्दा कुनै पनि परियोजनाको नगद प्रवाह र मुनाफा हेर्ने हो तर हालको अवस्थामा हरेक क्षेत्रको नगद प्रवाह र मुनाफामा नकारात्मक असर परेको छ । यस्को कारण व्यक्तिको ऋण तिर्न सक्ने क्षमतामा ह्रास आउनु स्वभाविक हो । ऋण असुलिमा केही असहज परिस्थिति नआएको भने होइन तथापी सदस्यहरुसँगको निरन्तर सम्वाद तथा छलफलका कारण यो असहज परिस्थिति समस्याको रुपमा परिणत हुँदैन भन्नेमा हामी विश्वस्त छौं । संस्थाले सदस्यहरुको सहुलियतको लागि ऋणको समयावधि थप, हर्जना छुट तथा व्याजदर समायोजन गर्ने जस्ता योजना अघि सारेको छ ।
० बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
संस्थाले सदस्यहरुलाई लक्षित गरि कुल १६ प्रकारको बचत योजनाहरु लागु गरेको छ । संस्थाले जेष्ठ सदस्य, महिला, बाल बचतकर्ता तथा विद्यार्थिहरुलाई प्राथमिकतामा राखि बचतका योजनाहरु तयार गरेको छ । बचत गर्ने बानीको विकासको लागि संस्थाले सम्पूर्ण सदस्यहरुलाई नियमित बचतमा जोडेको छ । संस्थाले लागु गरेको आभाष सदस्य सुरक्षा कार्यक्रममा नियमित बचतलाई जोडिएको छ । नियमित बचत गर्ने सदस्यहरुलाई संस्थाले सुरक्षा कार्यक्रम मार्पmत विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले ऐच्छिक बचतमा ५ देखि ८ प्रतिशतसम्म र आवधिक बचतमा अवधिको आधारमा ९ देखि १० प्रतिशतसम्म व्याज प्रदान गर्दै आइरहेको छ ।
० कर्जा प्रवाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन ?
संस्थाले आफ्नो ऋण व्यवस्थापन कार्यविधिमा उल्लेख भए अनुसार ५ वटा सिद्धान्तमा आधारित भई ऋण लगानी गर्ने गरेको छ । सुरक्षाको सिद्धान्त (principal of safety), तरलताको सिद्धान्त (principal of liquidity), नाफा आर्जनको सिद्धान्त (principal of profitability), ऋण विविधीकरणको सिद्धान्त (principal of credit diversification) र जोखिम न्यूनीकरणको सिद्धान्त (principal of risk minimization) ऋण लगानी गर्दा संस्थाले 5C मूल्याङ्कनलाई पनि अनुसरण गरेको छ । 5C मुल्याङ्कनमा संस्थाले ऋण लिने व्यक्तिको चरित्र (character), ऋण लिने व्यक्तिको क्षमता तथा परियोजनाको क्षमता तथा सम्भावना (capacity), पूँजीको अवस्था (capital), धितो सुरक्षण (collateral) र अवस्था (condition) गरि ५ विशेष क्षेत्रमा लगानीको सुनिश्चितता तथा सुरक्षाको विश्लेषण गरि ऋण लगानी गर्ने गरेको छ ।
० कर्जा लगानी कस्ता क्षेत्रमा बढी लक्षित छन ?
संस्थाले व्यापार व्यवसाय, सवारी साधन, आवास क्षेत्र, कृषि तथा पशुपालन क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । संस्थाले महिला सशक्तिकरणको लागि सहुलियत व्याजदरमा महिलाहरुलाई महिला समुह मार्पmत ऋण प्रवाह गर्दै आइरहेको छ ।
० कर्जा कसरी खराब कर्जा बन्न पुग्छ ?
सदस्यहरुले कुन प्रयोजनको लागि ऋण लिएको हो सो प्रयोजन असफल भएमा कर्जा खराब कर्जामा पर्दछ । ऋण रकमको सहि सदुपयोग पनि मुख्य विषय हो । जुन प्रयोजनको लागि ऋण लिएको हो, सोही प्रयोजनमा ऋण रकमको उपयोग हुनु अपरिहार्य छ । अनुत्पादक क्षेत्रमा धेरै लगानी हुँदा पनि कर्जा खराब हुनसक्ने अत्याधिक सम्भावना हुन्छ । भाखा नाघेको ऋणको उचित व्यवस्थापन गर्न सकियो भने लगानी गरिएको कर्जा खराब हुदैन । तसर्थ ऋण लगानी मात्र होइन ऋण असुलि तथा व्यवस्थापनको पक्षलाई संस्था तथा सदस्यले सहि तरिकाले व्यवस्थापन गर्ने हो भने कर्जा खराब हुनबाट जोगिन सक्छ । कर्जालाई खराब हुन नदिने र नियन्त्रण गर्न सहकारी ऐन २०७४ मा भएको कालोसुचीको ब्यबस्था, कर्जा सुचना केन्द्र र कर्जा असुली न्याधिकरण गठन गरेर कार्यान्वयनमा ल्याएमा कर्जामा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
० कति छ खराब कर्जा ?
संस्थाको पौष मसान्तसम्मको अवस्था हेर्दा खराब कजा ५.४६ प्रतिशत जति रहेका छ । खराब ऋणको लागि नियमानुसार ऋण जोखिम कोषको व्यवस्था गरिएको छ । केही ऋणीहरुको धितो लिलामी प्रकृया भैरहेको हुनाले खराब कर्जा अलि बढि देखिएको हो । लिलामी प्रकृया पश्चात खराब कर्जा कम हुनेछ ।
० सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन ?
यो जिज्ञासा ठिक हो तर सहकारी डुबे, भागे र पैसा फिर्ता गर्न सकेन्न् जस्ता कुराहरु जति पनि सुनिन्छ ती सबै सहकारीको होइन । सबै सहकारी संस्थाहरु खराब छैनन् । केही त्यस्ता खराब नियत भएका व्यक्तिहरुको हातमा परेका सहकारी संस्थाहरु मात्र डुबेका छन । सहकारीको खोल ओढेर सहकारी अभियानलाई बदनाम गर्ने साहुकारी हुन् भन्छु म । यो कुरा म दृढ निश्चयका साथ भन्दै छु कि सहकारी ऐन, विनियम र नियमसंगत संचालित समुदायमा आधारित सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या छैन । यो हाम्रो कमजोरी हो की हामीले सदस्यहरुलाई सहकारी र साहुकारी बिच कस्तो भिन्नता कस्तो हुन्छ भनेर शिक्षा दिनमा चुक्यौं । सहकारी शिक्षा अपरिहार्य छ । सहकारी शिक्षाबाट हामीले सदस्यलाई सुसूचित गर्न जरुरी छ । जति पनि सहकारीहरुमा समस्या आयो ती सबै आप्mनै बदनियतका कारण समस्यामा परेका हुन् । संस्थाको विकासमा सबैभन्दा महत्वपूर्ण विषय भनेको सदस्यको विश्वास हो । हामीले सहि तरिकाले संस्थागत गतिविधिहरु संचालन गर्दै जाँदा सदस्यहरुको संस्था प्रतिको विश्वास अटल हुन्छ ।
० आभाषजस्ता समुदायमा आधारित सहकारीहरुले पनि यस्ता समस्या झेल्नु परेको छ ?
समुदायमा आधारित सहकारीहरु सदस्य समर्पित हुन्छन् । त्यसैले समुदायमा आधारित सहकारीहरुले प्रत्यक्ष रुपमा यस्ता समस्याहरु झेल्नु परेको छैन । तपाईले देख्न सक्नुहुन्छ समुदायमा आधारित सहकारीहरुले मासिक रुपमा प्रकाशन गर्ने गरेको अपरिस्कृत वित्तिय तथा अन्य विवरण वा संस्थाको मासिक प्रगति प्रतिवेदनमा मासिक रुपमा बचत, ऋण तथा सदस्यता बृद्धि नै भइरहेकोछ । आभाष साकोसको पौष महिनासम्मको विवरण हेर्ने हो भने पनि निरन्तर रुपमा सदस्य तथा बचतमा बृद्धि भइरहेको छ ।
० अध्यादेशले सहकारी क्षेत्रको संकट टर्ला ?
नेपाल सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशद्वारा सहकारी ऐन २०७४ मा केही संशोधन गरेको छ । यसका धेरै पक्षहरु सकारात्मक र स्वागत योग्य छन् जस्तै बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको व्यवस्था, कर्जा सूचना केन्द्रको व्यवस्था र कर्जा सुरक्षण कोषको सदस्यताको व्यवस्था तर उक्त अध्यादेशमा भएका केही पक्षहरुबाट सहकारी अभियानलाई नकारात्मक असर पर्न सक्छ । अध्यादेशले व्यक्तिगत बचतको सिमा तोकिएको छ । यो सान्दर्भिक भएन जस्तो लाग्छ ।
ऋण लगानी गर्दा प्राथमिक पूँजीकोषको आधारमा गर्ने तर सदस्यले गर्ने बचतमा भने रकमको सिमा तोकिएको छ । त्यो पनि संस्थाको भौगोलिक अवस्थाको आधारमा । मेरो विचारमा बचतमा व्यक्तिगत सिमा कायम गर्नु उचित होइन तथापी सिमा कायम गर्नुपर्दा प्राथमिक पूँजीकोषकै आधारमा गरेमा सान्दर्भिक हुने देखिन्छ । सरकारले सहकारीको समस्या समाधान गर्न यो नियम लागु गरेको हो तर यो नियमले सहकारीमा संकट टर्ने होईन अझै बढ्ने सम्भावना देख्छु । सहकारीमा अहिले देखिएको मुख्य समस्या भनेको ऋण लगानीमा हो, बचतमा होइन । केही सिमित व्यक्तिहरुले मनोमानी ढंगले ऋण अपचलन गरेको कारण समस्या भएको हो । अध्यादेशबाट कर्जा सूचना केन्द्रमा सहकारीले सदस्यता लिनु पर्नेछ भनि व्यवस्था गरिएको हुनाले अव ऋण लगानी तथा असुलिमा सहकारीले भोग्नु परेको समस्याको निराकरण हुन्छ भन्नेमा म विश्वस्त छु । व्यक्तिगत बचतमा लगाइएको सिमाको विषय संशोधन हुनु जरुरी छ । अर्को भनेको एक व्यक्ति एकै प्रकृतिको केवल एक सहकारीमा मात्र सदस्य हुन पाउने व्यवस्था पनि मेरो विचारमा संशोधन हुनु जरुरी छ किन भने एउटा व्यक्तिले सबै बैंक, विकास बैंक र फाइनान्समा खाता खोली बचत गर्न पाउने तर सहकारीको हकमा केवल एउटा सहकारीमा मात्र सदस्य हुनु पाउने ? यो व्यवस्था त्यति न्यायोचित भएको जस्तो लाग्दैन । मैले अघि पनि भनि सकें समस्य ऋणमा हो बचतमा होइन । त्यसैले एउटा व्यक्तिले स्वतन्त्रताका साथ आप्mनो बचत रकम कुनै पनि सहकारीमा जम्मा गर्न पाउनु पर्छ । स्वेच्छिक तथा खुल्ला सदस्यताको सिद्धान्तमा अगाडी बढेको सहकारी अभियानमा राज्यबाट सदस्यता सिमितता कायम गर्न खोज्नु सान्दर्भिक नहोला । सहकारी संस्थाहरुको विकास र समृद्धिको लागि सहकारीको आर्थिक क्षमताको विकास हुनु आवश्यक छ । सरकारले सहकारी क्षेत्रमा सदस्यताको सिमितता र बचत रकमको सिमा तय गर्दा यसले सदस्यहरुको आर्थिक गतिशिलता र संस्थाको वित्तिय स्थायित्वमा नकारात्मक असर पर्दछ । सहकारी क्षेत्रको विकास तथा समृद्धिको लागि सरकारले यस क्षेत्रको नियमन गर्नु ठिक हो तर सहकारीको अस्तित्व नै संकटमा पर्ने गरि कुनै पनि कार्य हुनु हुदैन भन्ने विषयमा सहकारी अभियानमा जोडिएका सम्पूर्ण व्यक्तिहरुको एकमत हुनु जरुरी छ ।
० सहकारीमा पनि त विकृत आइरहेका छन् । वित्तीय सुशासनका लागि के के कदम चाल्नु भएको छ ?
केही सिमित व्यक्तिहरुको बदमासिका कारण समग्र अभियानले यो बदनामी सहनु परेको छ तर पनि समुदाया आधारित तथा सदस्य केन्द्रित सहकारीहरु सबै नियम संगत नै संचालित छन् । अभियानले नराम्रो गर्नु, नियम कानुन उल्लंघन गर्नु, गलत कार्य गर्नु भनेर सिकाएको होइन । संस्था संचालन गर्ने व्यक्तिहरुको नियतमा खोट भएकोले विकृति आएको हो । त्यसैले यस्तो पवित्र अभियानप्रति सम्पूर्ण सरोकारवालाहरुको सकारात्मक दृष्टि हुनु जरुरी छ । आभाष साकोसले पनि सदैव नीति नियममा बसेर आफ्ना सदस्यहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, बागमती प्रदेश सहकारी ऐन २०७६, बागमती प्रदेश सहकारी नियमावली २०७६, सहकारी विभागबाट जारी भएका निर्देशनहरु, संस्थाको विनियम तथा कार्यविधिहरुको अधिनमा रहि सदस्यहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै कार्य संचालन गर्दै आइरहेको छ । संस्थाको प्रत्येक त्रैमासिक रुपमा लेखा सुपरिवेक्षण समितिबाट संस्थाको समग्र गतिविधिको निरिक्षण हुने गरेको छ । समय समयमा सहकारी विभागबाट भएको सघन अनुगमनबाट प्राप्त सु्झावहरुको पूर्ण पालना तथा कार्यान्वयन गर्ने गरिएको छ ।
० सरल र सहज ढंगबाट चल्न सहकारीको मूल्य तथा सिद्धान्त कस्तो हुनु पर्छ ?
सहकारीको मूल्य तथा सिद्धान्तहरु समय सापेक्ष छन् । सिद्धान्तहरु भनेको कुनै एक प्रारम्भिक सहकारीले बनाउने होइन । हामी सम्पूर्ण सहकारीहरु अन्तराष्ट्रिय सहकारी महासंघद्वारा प्रतिपादित सिद्धान्त बमोजिम संचालित छौं । तर नियामक निकायले नीति नियमहरु तर्जुमा गर्दा सहकारीको सर्वमान्य सिद्धान्तको वर्खिलाप नहुने गरि नियमहरु लागु गर्नु पर्दछ र सहकारीहरु पनि सिद्धान्त प्रदत्त भई संचालिन हुनु अपरिहार्य छ ।
० सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ सहकारीले ?
सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा मद्दत गर्न सक्छ भन्ने भावनाको विकास गर्न सक्नुपर्दछ । सहकारी संस्थाहरु मुनाफामा मात्र केन्द्रित हुनु हुँदैन । सदस्यको इच्छा तथा आकांक्षाहरु परिपूर्ती हुने प्रकारको योजना तथा कार्यक्रमहरु संचालन गर्नु पर्दछ । सदस्यहरुको क्षमता अभिबृद्धिका लागि संस्थाले सहकारी शिक्षालाई विशेष प्राथमिकता दिनु पर्दछ । सहकारी संस्थाहरुले सहकारी शिक्षा प्रदान गर्दा सदस्यहरुको वित्तिय तथा गैर वित्तिय आवश्यकताहरु कसरी पूर्ती हुन्छ भनि ज्ञान प्रदान गर्न जरुरी छ । सदस्यहरुलाई शिक्षा मार्पmत उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्नु पर्दछ ताकी सदस्यहरु आत्मनिर्भर भई आप्mनो आर्थिक तथा सामाजिक विकास गर्न सकुन ।
० सहकारी संस्थाहरु सेवामूलक भूमिका हुनु पर्छ भन्नेमा कत्तिको विश्वास राख्नु हुन्छ ?
सहकारी भनेकै सेवामूलक संस्था हो । तपाईले सहकारीको सिद्धान्त, मुल्य मान्यता तथा कुनै पनि सहकारीको उद्देश्यमा नाफाको विषय उल्लेख भएको पाउनु हुन्न । नाफा कमाउनु जरुरी छ तर संस्था नाफामुखी हुुनु हुँदैन । सहकारीमा नाफालाई हामी बचत भन्छौं । सहकारी संस्थाको जति पनि नाफा हुन्छ त्यो सदस्यहरुलाई संस्थाले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा सुविधाहरु प्रदान गरे पश्चात बाँकी भएको बचत रकम हो । उक्त बचत रकम संस्थाले पुनः सदस्यहरुकै हितको लागि उपयोग गर्दछ ।
० सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाइँदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ भनिन्छ लागू भएको छ तपाईकोमा ?
जगेडा कोष भनेको अविभाज्य तथा अवितरित कोष हो । यो संस्थाको आप्mनै पूँजी हो जस्मा प्रत्यक्ष रुपमा कसैको पनि हक लाग्दैन । सहकारी संस्थाहरुले जगेडा कोषको आधारमा स्थिर सम्पत्ति खरिद गर्न सक्दछ तर जगेडा कोषको रकम प्रत्यक्ष रुपमा चलाउन पाइन्दैन । आभाष साकोसले पनि सदैव जगेडा कोषलाई बृद्धि गर्ने उद्देश्य राखी कार्यहरु गर्दै आइरहेको छ । तपाईले हेर्न सक्नु हुन्छ कि प्रत्येक वर्षको लेखा परिक्षण प्रतिवेदनमा जगेडा कोषमा रकम थप हुँदै गएको देख्न सक्नुहुन्छ, कुनै पनि आर्थिक वर्षमा जगेडाकोषबाट रकम घटेको छैन ।
० संस्था धनी बनाउने होइन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई ?
एकका लागि सबै र सबैका लागि एक भन्ने भावना सहकारीमा नितान्त जरुरी छ । पहिले सबै मिलेर सहकारी संस्था बनाउनु पर्छ । संस्थालाई समृद्ध तथा सवल बनाउनु पर्दछ अनि मात्र संस्थाले सबै सदस्यलाई समृद्ध बनाउन सक्दछ । संस्था धनि हुने होइन संस्था दिगो बन्नु पर्छ । सदस्यहरु मिलेर पहिला सहकारी संस्थालाई दिगो तथा सवल संस्था बनाउनु पर्छ । संस्थाले न्यायोचित नाफा (बचत) आर्जन गर्नु पर्छ अनि मात्र संस्थाको जगेडा कोष मजबुत हुन्छ, जस्ले गर्दा संस्थाले स्वायत्त ढंगले आप्mना सदस्यहरुको आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउन सक्दछ ।
० समाजिक उत्तरदायित्व बहनमा आभाष के के गर्दैछ ?
सहकारीको ७ सिद्धान्त मध्ये एक हो, समुदाय प्रति चासो । यसै सिद्धान्तलाई आत्मसात गर्दै आभाष साकोसले प्रत्येक आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेटमा सामाजिक कार्यक्रमको लागि प्राथमिकताका साथ बजेट छुट्याउने गरेको छ । सामाजिक कार्यक्रम अन्तर्गत आभाष साकोसले २०७४ साल देखि छोरी अभियान कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त कार्यक्रममा शिर मेमोरियल अस्पतालमा प्रत्योक नव वर्षमा जन्मने पहिलो छोरी र आभाष साकोसको वार्षिक उत्सव मंसिर १४ गतेको दिन जन्मने पहिलो छोरीलाई स्वागत तथा आर्थिक सहयोग गर्ने गरिन्छ । त्यसै गरि आभाष साकोसले प्रत्येक आर्थिक वर्षमा काभ्रे जिल्लाको विभिन्न क्षेत्रलाई लक्षित गरि आँखा शिविर आयोजना गर्ने गरेको छ । रक्तदान कार्यक्रम तथा महिलाहरुको स्वास्थ्य सँग सम्बन्धित शिविर तथा जनचेतानमू लक कार्यक्रमहरु पनि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको छ । साथसाथै विभिन्न संघसंस्थाले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा संस्थाले आर्थिक सहयोग गर्दै आएको छ । पछिल्लो पटक संस्थाले आप्mनो १५औं वार्षिक उत्सवको अवसरमा यहि मंसिर १४ गते रक्तदान कार्यक्रम आयोजना गरेको, पौष ९ गते नमोबुद्ध न.पा. क्षेत्रलाई लक्षित गरि एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको र पौष १२ गते पनौती स्थित १०८ वर्ष पुरानो इतिहास बोकेको पनौती आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि तथा विद्यालयको लागि केही उपयोगी सामाग्रीहरु प्रदान गरिएको ।
० सदस्यहरुको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
सहकारीको ७ सिद्धान्त मध्ये एक हो सदस्यहरुको आर्थिक सहभागिता । सहकारीमा सदस्य भए पश्चात सदस्यहरुलाई सहकारी शिक्षाको मार्पmत बचतको महत्वको बारेमा जानकारी गराउने गरेका छौं । त्यसै गरि ऋण लगानी गर्नु पूर्व पनि ऋण लिन चाहने सदस्य सँग विशेष परामर्श गर्ने गरेका छौं ताकी सदस्यले लिएको ऋणको सहि सदुपयोग होस । बचत तथा ऋणको विषयमा विशेष जानकारी तथा निगरानी गर्ने गरेको कारण सदस्यहरुले आप्mनो बचत तथा ऋणको सन्तुलन मिलाउन सकेको र यसबाट संस्था तथा सदस्य दुबैलाई हित भएको महसुस गरेका छौं । संस्थाले महिलाहरुको हितको लागि महिला समुह कार्यक्रम संचालन गरेको छ, हाल सम्मा संस्थामा ४८ वटा महिला सुमह गठन भइसकेको छ र उक्त समुह मार्पmत महिलाहरुको उद्यमशिलता विकासको लागि सहुलियत व्याजमा ऋण लगानी गर्ने गरिएको छ । त्यस्तै संस्थाले सदस्यहरुको सुरक्षाको लागि आभाष सदस्य सुरक्षा कार्यक्रम संचालन गरेको छ जस अन्तर्गत सदस्यहरुलाई स्वास्थ्य उपचारको लागि विभिन्न शिर्षक अन्तर्गत आर्थिक सहयोग गर्ने गरेको छ । संस्थाले युवा तथा महिला सदस्यहरुलाई लक्षित गरि विभिन्न आयमूलक तथा सीपमूलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । संस्थामा आवद्ध जेष्ठ सदस्यहरुलाई लक्षित गरि संस्थाले प्रत्येक वर्ष जेष्ठ सदस्यहरुलाई संस्थाको बारेमा जानकारी दिने तथा सम्मान गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ । अहिलेको समय प्रविधिको समय हो र सदस्यहरुलाई वित्तिय प्रविधिमा अद्यावधिक गराई क्षमता विकास गर्ने उद्देश्यले “सदस्यको बचतको सुरक्षित आधार, प्रविधिमैत्री आभाषको कारोवार” भन्ने नाराका साथ सदस्यहरुले सहज तथा सरल तरिकाले संस्थाको सेवा उपभोग गर्न र संस्थामा आर्थिक कारोवार गर्नको निमित्त मोवाइल कारोवार सेवा संचालन गरेको छ ।
० अन्त्यमा केही ?
आमसमुदाय तथा सरोकारवालहरुलाई सहकारी अभियान प्रति सकारात्मक दृष्टिकोण राखि यस अभियानलाई अझ सशक्त तथा सवल ढँगबाट अगाडी बढ्न प्रोत्साहन गरिदिनुहुन आग्रह गर्न चाहन्छु । प्रत्येक सहकारीले सदस्यमा समर्पित भई नियमसंगत संस्था संचालन गरिदिनुहुन अनुरोध गर्दै सम्पूर्ण सहकारी अभियानकर्ताहरुलाई सहकारीको मर्म तथा सिद्धान्त अनुरुप सहकारी संचालनको वातावरण सुनिश्चिततालाई प्राथमिकतामा राखी अभियान संचालन गरिदिनुहुन अनरोध गर्दै तपाईको मिडिया मार्फत् मेरो व्यक्तिगत धारणाहरु व्यक्त गर्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु ।
साभार: बेथानचोक साप्ताहिक ।