‘पहिले विद्यार्थी थिए भौतिक संरचना थिएन, अहिले भौतिक छ, विद्यार्थी छैनन्’

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८१ फागुन ९, शुक्रबार (१ हप्ता अघि)
  • ८५ पटक पढिएको

‘पहिले विद्यार्थी थिए भौतिक संरचना थिएन, अहिले भौतिक छ, विद्यार्थी छैनन्’

० तपाईको विद्यालयको परिचय गराईदिनुस न !

हाम्रो विद्यालय २००४ सालमा भाषा पाठशालको रुपमा सुरु गरेर २००८ सालमा नेपाल सरकारको समन्वयन प्राप्त गर्दै सञ्चालित विद्यालय हो । यसरी हेर्दा यो मण्डन क्षेत्रकै सबैभन्दा अग्रणी र जेठो विद्यालय भनेर चिनिन्छ । २०३७ सालमा निमावि तहको कक्षा सञ्चालन गरियो । यसरी अगाडी बढ्दै जाने क्रममा २०५७ सालमा मावि कक्षा सञ्चालन गर्न सुरु गरियो । त्यसपछी त्यसको ठिक १० बर्षपछी २०६७ सालमा उच्च मावि तहसम्म अध्यापन गराउन थालिएको हो । अहिले हामी कक्षा १२ सम्म अध्यापन गराउँदै आएका छौँ ।

० विद्यार्थी संख्या कति छ ?

अहिले हाम्रो विद्यालयमा विद्यालयको अभिलेख हेर्दा बाल कक्षादेखी १२ कक्षासम्म जम्मा २ सय २९ जना विद्यार्थी रहेको छन् । हामी विद्यालयमा शिक्षक कर्मचारी जम्मा १९ जना कार्यरत रहेका छौँ । अहिलेको अवस्थामा विद्यालयलाई हेर्दा विगतमा विद्यार्थी थिए भौतिक संरचनाहरु थिएन । अहिले भौतिक संरचना राम्रो छ । तर विद्यार्थी संख्या घट्दो क्रममा छ । यसको कारण २०७२ सालको भुकम्पपछी विविध कारणले मानिसहरु बसाई सर्ने देखिएको छ भने अर्को घट्दो जनसंख्या बृद्धीदर हो । यसले विद्यार्थी संख्या एकदमै कम भइरहेको छ ।

० दरबन्दिको अवस्था कस्तो छ ? थप गनुपर्ने अवस्था के छ ?

नेपाल सरकारको मापदण्ड अनुसार त मावि तहमा अझैँ एउटा दरबन्दि पुगेको छैन । तर विद्यार्थी संख्याको आधारमा हेर्ने हो भने दरबन्दि बढी नै भए जस्तो पनि देखिन्छ । हाम्रो प्राविमा ५ वटा साधारण दरबन्दि रहेको छ । निमाविमा ४ वटा दरबन्दिर रहेको छ । जसमा २ वटा साधारण २ वटा राहत रहेको छ । माविमा ४ वटा दरबन्दि रहेको छ । जसमा एउटा साधारण एउटा र ३ वटा राहत दरबन्दि रहेको छ । अर्को उच्च माविमा २ वटा राहत दरबन्दि रहेको छ । २ बर्षदेखी विद्यालयमा विद्यालय नर्स कार्यक्रम पनि सञ्चालन भईरहेको हुँदा एक जना नर्स पनि हुनुहुन्छ । एक जना लेखा सहायक, एउटा बालबिकास कोटा र एक जना कार्यालय सहयोगी हुनुहुन्छ ।

० शैक्षिक गुणस्तर बृद्धीको लागि विद्यालयमा भईरहेका क्रियाकलापहरु के कस्ता छन् ? त्यसको शैक्षिक अवस्थामा कस्तो बदलाब ल्याएको छ ?

यसको लागि हामीले सबैभन्दा पहिला त बार्षिक शैक्षिक क्यालेण्डर तयार पार्ने काम गर्छौ । यो तयार पार्दा अभिभावक, शिक्षक, विद्यार्थी, सबै समितीहरु बसेका हुन्छौँ । अर्को दैनिक रुपमा शैक्षिक योजनाहरु पनि तयार पार्ने गरेका छौँ । यसैगरी शैक्षिक सामाग्रीहरुको प्रयोगलाई हामीले सबैभन्दा बढी प्राथमिकताको साथ अगाडी बढाएका छाँै । त्यसैगरी कुनै पनि शिक्षक कक्षामा प्रबेश गर्दा पाठ योजना सहित जाने भनेर हामीले शिक्षक समितीको संयुक्त बैठक बसेर निर्णय गरेका छौँ । अहिले हामी सोही अनुरुप अगाडी बढेका छौँ । यता शिक्षकहरु स्थानीय तह आईसकेपछी स्थानीय तहबाट अलि असहज भएको पनि छ । सेवा सुविधा पनि नगरपालिकाले दिएको अवस्था पनि देखिन्छ ।

शैक्षिक गुणस्तर सुधार गर्ने कुरामा हामी त्रिबेणी बन्नुपर्छ । एकापटी शिक्षक, अर्कोतर्फ विद्यार्थी र अर्कोपटी अभिभावक हुनुपर्छ । यसमा शिक्षकले विद्यार्थी राम्रो बनाउँ भनेर लागेको छ, विद्यार्थी पनि राम्रो गर्नुपर्छ भनेर लागेको छ । तर हाम्रो माथिल्लो बस्तिमा चेतनाको स्तर कम भएको हो की भन्ने पनि छ । किनभने उहाँहरुको चासो कम नै पाएका छौँ । अभिभावकको चासो बढाउनको लागि बर्षमा ३ पटक गाउँ टोलमा नै गएर अभिभावक शिक्षाको कार्यक्रम गरिरहेका छौँ । तिहारको समयमा हामीले विद्यार्थीहरुमा साँकृतिक सम्पदाको संरक्षण सँगसंगै अभिभाव शिक्षा भनेर देउसी भैलो कार्यक्रम पनि सञ्चालन गर्यौँ । त्यसबाट बालकालिकाहरुमा आफ्नो धर्म संस्कृतीको संरक्षण कसरी गर्ने अनि के के रहेछ भनेर जानकारी दिन सकियो ।

अर्को भनेको त्यही फोरमबाट अभिभाकहरुलाई पनि बालबालिकालाई विद्यालय पठाएर हुँदैन साँझ विहान आफुले सिकाउन सकिएन भने पनि कम्तिमा आफ्नो छोराछोरीको अगाडी बसेर होमवर्क के छ ? के गरिरहेको छाँै ? भनेर सोध्नु भनेका छाँै । अर्को काम उमा सहले के गरिरहेको छ भन्दा विगत २÷३ बर्ष अगडीदेखी “हेलो सेवा” सञ्चालन गरिरहेका छाँै । यो “हेलो सेवा” भनेको के होला भन्ने लाग्न सक्छ । यो भनेको चाहीँ विद्यार्थी कुनै विद्यालय नआउने वित्तिकै उसको घरमा फोन जान्छ । फोनमा उहाँको बालकालिका किन नआएको हो ? के कारणले नआएको हो वा विना जानकारी किन नआएको हो भनेर हामीले खोजी गर्ने गरेका छौँ । यसले पनि राम्रो प्रभाव परेको छ । उमा सहले बर्षमा न्युनतम ३ पटक आमा भेला गर्ने गरेका छाँै । विषेशगरी ३ वटा परिक्षाको समयमा बोलाउँछाँै । यिनै गतिबिधि हामीले चलाएका छौँ । छिमेकी विद्यालयहरु, नमुना विद्यालयहरु भिजिट गरिरहँदा त्यहाँ भएका गतिविधिहरुलाई पनि हामीले समेटेर काम गरिरहेको अवस्था छ ।

० प्राविधिक शिक्षामा कत्तिको जोड दिईरहनुभएको छ ?

अहिलेको समय पनि प्रविधीको भएकाले आईसिटीलाई अगाडी बढाएका छौँ । जसमा हामीले प्रत्येक कक्षाका विद्यार्थीलाई हप्ताको कम्तिमा एक दिन आईसिटी ल्याबमा लाने व्यवस्था गरेका छौँ । अर्को कक्षा एकदेखी १० कक्षासम्म स्मार्ट टिभी राखेका छौँ । जुन शिक्षकहरुले नेट एक्सेस भएको ठाउँमा डाउनलोड गरेर त्यहाँबाट शैक्षिक क्रियाकलापहरु गराउने गर्नुभएको छ । हामीसँग साईन्स ल्याब पनि छ । लाईब्ररी पनि व्यवस्था गरेका छौँ । त्यहाँ पनि विद्यार्थीहरुलाई आलोपालोगरी त्यहाँ लगेर अध्ययन अध्यापन गराउने कार्यमा शिक्षकहरु सक्रिय रुपमा अगाडी बढ्नुभएको छ ।

० अंग्रजी भाषा र भौतिक संरचना बलियो नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेन भन्ने गुनासो पनि सुनिन्छ नीे ? हैन भन्ने आधारहरु ?
यसमा मेरो तर्क के छ भने, अंग्रजी भनेको भाषा मात्र हो । मैले केही शब्द सापटी लिनुपर्दा केही हाम्रा शिक्षाविद्हरुले भन्नुहुन्थ्यो अहिले प्रधानमन्त्रिदेखी सबै नागरिकहरु अंग्रजी मोहमा लाग्नुभएको छ । त्यही कुरालाई म अनुकरण गर्दै म के भन्छु भने, म एउटा नेवार समुदायको मान्छे तर पनि म आधिसरो तामाङ भाषा बोल्छु । आजसम्म मैले तामाङ भाषा कही गएर सिकेको पनि छैन । कसैले सिकाएको पनि छैन । भाषा भनेको प्रयोग गर्दै जादा सिक्दै जाने हो । हामीले पनि विगतमा अंग्रजी माद्यमबाट शिक्षण गर्दा अझ धेरै प्रभावकारी हुन्छ की भनेर प्रयोग पनि गर्यौँ । यसो गरिरहँदा हामीलाई विभिन्न समस्याहरु पनि आउँदो रहेछ । जस्तो शहरी क्षेत्रमा त नहोला तर ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अहिले माघको अन्तिमसम्मा पनि विद्यार्थी भर्ना हुन आउँदै हुनुहुन्छ ।

आएको विद्यार्थीलाई हामी अर्को शैक्षिक शत्रमा मात्र भर्ना लिन्छौँ भनेर फर्काउन पनि सकिदैन किनभने अर्को बर्ष हुँदासम्मा त्यो विद्यार्थीले पढ्न नै छोडिदिन्छ । उमासह हाम्रो वडाको लिडर विद्यालय पनि हो । उमा सहले अंग्रजी भाषामा पढाईरहँदा अरु विद्यालयबाट आउने विद्यार्थी नेपाली माद्यममा पढेर आएको हुन्छ । यसो हुँदा विद्यार्थी अंग्रजी र नेपाली भाषाको बिचमा रोमल्छि । हामीले पनि त्यसलाई पुर्नविश्लेषणगरी बालबालिकाको अवस्था हर्दा एउटा विद्यार्थीलाई शिक्षकले नेपाली पढाउँदा उसले सबै बुझ्छ, प्रतिक्रिया पनि जनाउँछ तर अंग्रजी बोल्न थालेपछी उ लाटोकोसेरो जस्तो चुप हुन्छ । त्यसकारण हामीले अहिलेको परिस्थिती हेर्ने हो भने अहिले अंग्रेजी मोह छोडेर नेपाली भाषामा नै पढाउन थालेका छाँै । अंग्रजी पढाउने शिक्षकलाई चाहीँ हामीले सकेसम्म अंग्रेजी पढाउँदा नेपाली नबोलिदिनुहोला भनेका छाँै । अंग्रजी अंग्रजीमा पढेपछी अरु कुरा सकिन्छ ।

आफ्नो भाषमा विद्यार्थीले जे कुरा बुझ्छ त्यो कुरा अलि प्रयास गर्यो भने अंग्रजीमा परिणत गर्न सक्छ । तर अंग्रेजी मोहको कारण अंग्रेजी पनि बुझेन नेपाली पनि बुझेन भने कक्षा १० सम्म पुग्दा न अंग्रेजी जान्ने न नेपाली जान्ने हुँदो रहेछ । संस्थागत विद्यालयमा किन अंग्रजी बोल्छ भन्दा, एउटा कुरा चाहीँ हामी अहिले बालबिकासमा साढे २ देखी ३ बर्षको बच्चा भर्ना हुन्छन् । कक्षा दोहोराउँदा पनि कक्षा एकमा पुग्दा पनि मात्र ४ बर्षको हुन्छ । त्यो उमेरमा उसलाई एक बर्ष पढाउँदा पनि केही कुरा सिक्न सक्दैँन । कम्तिमा पनि कक्षा एकमा पुग्नको लागि ६ बर्षको उमेर पुग्नुपर्नेरहेछ । यस्ता कारणले पनि सामुदायिक विद्यालय खस्केको जस्तो देखिन्छ । एउटा पाटो त्यहाँ छ । अभिभावकको लापरबाही पनि धेरै हुन्छ ।

यसमा हामीले अभिभावलाई देखाएर पन्छिन खोजेको होईन । नीजि विद्यालयमा बालबालिकालाई देखाए जस्तै चासो सामुदायिक विद्यालयमा देखाउने हो भने संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धेरै माथि जान सक्छ ।

०स्थानिय तहसँग मिलेर काम गर्न कत्तिको सहज छ ?

शिक्षा र स्वास्थ्यलाई चाहीँ स्थानिय तहलाई दिनुहुँदैन भनेर हामीले विगतदेखी नै उठाएको कुरा नै हो । किनभने शिक्षा र स्वास्थ्य चलाउन सक्ने अवस्थामा पुगेको छैन । दरबन्दिका पाटोमा काम गरेको छ । हरेक गल्लि, चोक र चौतारमा बसेर सामुदायिक विद्यालयमा शिक्षकले पढाउँदैनन् भनेर स्थानीय तहका पदाधिकारीले भनिरहँदा त्यो सुनेको कुरा अभिभाबदेखी बालबालिकालेसम्म सुन्छन् । यी कारणले गर्दा सामुदायिक विद्यालयमा बसेर काम गरिरहने वातावरण केही विचलित भएको छ । सामुदायिक विद्यालयको बिरुद्धमा नै जनप्रतिनिधी लागेको हो की भन्ने पनि लाग्छ । उहाँहरुले त सामुदायिक विद्यालयमा हामीले अनुगमन गरिरहेका छौँ, बरु हामी अनुगमन बढाउछौँ, चाहिएको सेवा सुविधा बढाउछौँ तपाईहरु आफ्ना विद्यार्थी सामुदायिक विद्यालयमा नै छोराछोरी पढाउनुस् भन्नुपर्नेमा उहाँहरु आफैँ शिक्षकलाई गाली गलौंच गर्ने जस्ता क्रियाकलाप भएको कारण अहिले स्थानीय तहसँग मिलेर काम गर्न कठिन नै भएको छ । केही सहज पनि छ । जस्तो केही कठिन भएको समयमा नजिकै छ त्यसकारण छलफल गरौँ भन्न पाइएको छ । उहाँहरुले यो कुरामा शिक्षकलाई गाली गरेर भन्दा पनि शिक्षकलाई सम्मान दिएर अगाडी बढाउनुपर्छ भन्ने मानसिकता बनाउन नसकेसम्म स्थानीय तहसँग मिलेर सामुदायिक शिक्षा अगाडी बढाउनको लागि सहज छैन । मण्डदेउपुर नगरपालिकाको सबालमा सामुदायिक विद्यालयका शिक्षकलाई अलि पेलाई भएको सबैतिर महशुस भएको स्थिती छ ।

० तपाईको विद्यालय नमूनाको रुपमा स्थापित गर्न कस्ता कदम चाल्दैहुनुहुन्छ ?

विद्यालयलाई नमूना बनाउने भन्ने कुरा स्थानीय तह भइसकेपछी अलि गारो नै छ । नमूना बनाउने त भन्छौँ तर सबै कुराको नेतृत्व अर्थले गर्छ । अहिले सामुदायिक विद्यालयमा तलब भक्ताभन्दा बढी कुनै पैसा आउँदैन । न वडाले दिन्छ न नगरपालिकाले दिन्छ । हामीले प्रयास चाहीँ गरिरहेका छौँ । प्रदेशका कार्यक्रमहरु जस्तो राष्ट्रपती शैक्षिक सुधारका कार्यक्रमहरु भर्छौ तर पर्दैन । यसमा पनि भनसुन हुने होला की के होला ! तर पनि हामी आफ्नो तर्फबाट लाग्न चाहीँ छोडेका छैनौं । अहिले आईसिटीका कुरालाई पनि जोड दिएका छौँ । नेपालीका गद्यांस, पद्यांस, अंग्रगीका शब्दावलीका कुरामा यसले सहयोग गरेको छ । विद्यालयमा विज्ञानका प्रयोगका सामाग्रीहरु पाईदैन । पाईयो भने पनि प्रयोग गर्ने अवस्था नहुँन सक्छ । यसमा पनि सहयोग पुगेको छ । बाहिरी खोजका कुरा यसरी सिकाईएको छ । अहिले हामी विद्यार्थी केन्द्रित सिकाईमा लागेका छौँ । हरेक पाटोमा विद्यार्थीलाई नै अगाडी सार्छौ । सरसफाईको पाटोमा उहाँहरुलाई नै अगााडी सारेका हुन्छौँ । हामीसँग बालक्लब छ, विभिन्न क्लबहरु छ, विभिन्न हाउसहरुमा विद्यार्थीहलाई बाडेका छौँ । छात्राहरुको छुट्टै समुह छ । केही विद्यालय जाँदा डकुमेण्टेन्सका कुरामा चाहीँ अलि पछाडी नै रहेछौँ भन्ने लाग्यो । अहिले हाम्रो ध्यानाकषर्ण त्यता पनि गएको छ । ति अरु बाँकी कुरा त हामीले धेरै पहिलेदेखी गरिरहेको कुरा रहेछ भन्ने लाग्यो । केही योजनाहरु सम्बन्धित निकायमा पठाएका पनि छौँ । स्विकृत भएन भने स्थानीय स्रात साधन जे छ विद्यालयसँग भएका कुरा प्रयोग गरेर विद्यालयमा पढ्ने विद्यार्थीलाई अब्बल बनाउन लाग्नुपर्छ भन्ने मेरो सोच छ ।

० समय सापेक्ष अनुसार कस्तो संरचना बनाउनु भएको छ ? भौतिक संरचना पुग्दोमात्रामा छ ?

उमा सहको सबालमा अवको ५० बर्षसम्मको लागि भएको संरचना संरक्षण गर्ने हो भने भौतिक संरचना थप्नुपर्ने छैन । सामान्य मर्मत संभारका कुरा अलग भए । अब भएका कक्षाकोठा बालमैत्री बनाउने, विद्यार्थीलाई पढ्न मन लाग्ने वातावरण बनाउने, आईसिटीका कुराहरु थप गर्ने भन्ने कुरा समय सापेक्ष हुँदैछ । हुनु पनि पर्छ । बाँकी कुरामा कक्षाकोठा पुगेन भवन पुगेन भन्ने अवस्था उमा सहमा छैन । भौतिक संरचनाको अवस्था राम्रो छ ।

० धेरै विद्यार्थी सहरी क्षेत्र उन्मुख छन् । कतिपय त राजधानी नै पुग्छन् ? कसरी उनीहरुलाई समुदायमै आकर्षित तुल्याउन सकिएला ?

त्यो अवस्थाबाट उमा सह गुज्रेको छैन । यहाँका बालबालिका सहर गएर पढ्न जानेभन्ने अवस्था छैन । अभिभावकहरुले धान्न सक्ने अवस्था छैन अर्को उहाँहरुको मानसिकता पनि देखिएको छैन । त्यसको लागि स्थानीय तहहरुसँग पनि मिलेर पढ्दै कमाउने वातावरण सिर्जना गर्न सकिन्छ की भनेर पहल पनि नगरिएको होईन । विद्यालय समयभन्दा अगाडी वा पछाडी केही समय राखेर केही गर्न सकिन्छ की भनेर अन्र्तक्रिया गरिरहेका छौँ । बालकालिकाहरुलाई जिवन उपयोगी शिक्षा दिनुपर्छ भनेर लागेका छौँ । कोरा शिक्षा पढेर आफ्नो गाउँमा लगानी नहुँन पनि सक्छ । बरु कृषिमा आधुनिक प्रविधी र नवितम उपायको बारेमा सिकाउने भन्ने जस्ता कुराहरु दिन सकिन्छ की भनेर छलफल गरिरहेका छाँै । सामुदायिक विद्यालयमा समितीहरु बनाउँदा राजनीति हुन्छ । त्यसकारण बैठक बस्ने समयमा कोरम पुर्याउन पनि समस्या हुन्छ । माइनुट बोकेर घर–घरमा जानूपर्ने हुन्छ । यो अधिकासं सामुदायिक विद्यालयमा प्रअको समस्या हो । यसमा समुदायका नागरिकहरुले पनि चासो दिनुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस