‘चुनावी घोषणा अनुसार नै पूर्वधार निर्माणलाई प्राथमिकता दिएका छौं’

  • काभ्रे खबर
  • / अन्तरर्वार्ता /
  • २०८१ फागुन २३, शुक्रबार (४ दिन अघि)
  • ५८ पटक पढिएको

‘चुनावी घोषणा अनुसार नै पूर्वधार निर्माणलाई प्राथमिकता दिएका छौं’

चालु आर्थिक वर्षको लागि भनेर बनाइएको योजनाहरु के के छन् ? बजेट कति छ ? कतिवटा कार्यक्रम सम्पन्न भयो ?

वडागत रूपमा हाम्रो बजेट भनेको जम्मा ४० लाखको सिलिङ मात्रै हो । त्यही बजेट मार्फत सबै कामहरु गर्नुपर्नेछ । त्यसकारण बजेट थोरै भएकै कारण हामीले धेरै ठुला कामहरु गर्न सक्ने अवस्था छैन । पूर्वाधारका कामहरू कमै हुन्छन् । आवश्यकता भएपनि हामीले बजेटको कारण धेरै काम गर्न सकेका छैनौं यसमा । तर प्रदेश संघबाट केही सहयोग आएकाले हामीले थोरै भएपनि काम गर्न सफल भएका छौँ । केही काम अहिले निरन्तर भइरहेको पनि छ । केन्द्रीय सरकारबाट आएको बजेटबाट एउटा सडक कालोपत्रे गर्ने काम हुँदैछ ।

५ नं नम्बर वडाबाट मादनकुडारीसम्म जाने सडक कालोपत्रे गर्ने भनेर लागिरहेका छौँ । अलिकति प्रभावकारी र देखिने काम भनेको यो एउटा छ । हाम्रो गाउँपालिकाको ५ नं नम्बर वडा भनेको चाहिँ अर्को जिल्लालाई निकासा दिने ठाउँ पनि हो । रामेछापसँग ओहोरदोहोर गर्ने हाम्रै वडाबाट हुँदा सडकको कामहरुले चाहिँ प्राथमिकता पाउनुपर्छ । त्यसकारण पनि अहिले सडकको गुरुयोजना अन्र्तगत यो सडकको काम भइरहेको छ । पुलहरू बगाएको कारण पनि हामीलाई झन समस्यामा पार्यो ।

गत असोजमा गएको बाढी पहिरोले गर्दाखेरि पनि हामीले भएका संरचनाहरु फेरि पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् । एउटा मन्दिर र पोखरी निर्माण गर्ने काम पनि अहिले भइरहेको अवस्था छ । यसैगरी एउटा प्रतिष्ठान भवनको फिनिसिङको काम पनि चालु आर्थिक वर्षमा नै हुनेछ । त्यो बाहेक सामान्य खालका कामहरू सानातिना कामहरू त भइ नै रहन्छन् । बजेट थोरै भएकाले एकदमै तत्कालै नतिजा देखिने र दिगो कामहरू त नहोला तर बजेटले भ्याएसम्म आवश्यकतालाई पहिचान गरी साना ठुला कामहरु निरन्तर रुपमा नै गर्नेछौ । किसानहरूलाई अनुदान दिने कार्यक्रमहरू रहेको छ ।

गत असोजमा गएको बाढी पहिरोले क्षति पुगेका संरचना पहिलेकै अवस्थामा फर्काउन तपाईँहरूको तर्फबाट के कस्तो पहल भइरहेको छ ?

बाढी पहिरोले गर्दाखेरि त ठूलै समस्या आइपरेको थियो । र अहिलेसम्म पनि हामीले ती समस्याहरूलाई सुल्झाउनमै लागि परेका छौँ । त्यसकारण पनि भने जसरी अघिपछिका वर्षहरुमा चाहिँ काम गर्न सकिरहेका छैनौ । १ सय २८ घरधुरीमा मानिस बस्न नहुने गरि नै क्षति पुगेको छ । हामिले तथ्याङ्कहरू निकालेर सम्बन्धित निकायमा पेश गर्ने काम चाहिँ गरिसकेका छौँ । बाढी पहिरोले गर्दा खेतबारी धेरै बगाएको छ । खानेपानीहरूको पाइपलाइन सबै ध्वस्त भएको छ । तर पनि राज्यले कुनै निर्णय नगरेको अवस्था छ । अझै पनि यही अवस्था रहिरह्यो भनेदेखि पुननिर्माण र पुनर्संरचना स्थापित गर्ने कुराहरू निकै पर धकेलिने छन् । १ सय ८८ घरधुरी त बस्न मिल्दैन भनेर प्राविधिकहरुले नै भनिसकेको अवस्था छ । हाम्रो वडामा मानवीय क्षति चाहिँ हुन पाएन । यसरी बाढी पहिरो गइसके पछाडि राज्यबाट जुन समयमा नै एक्सन लिनुपर्ने थियो, त्यो लिएन । त्यसकारण पनि नागरिकहरुलाई शास्ती भएको छ । हामीले हाम्रो तर्फबाट पहल चाहिँ गरिरहेका छौँ तर पहलले मात्र पनि केही नहुँदो रहेछ ।

लक्षित समुदायको लागि कार्यक्रमहरू पछिल्लो समय खासै भएनन् भन्ने गुनासो पनि आउँछ नि ! तपाईंको वडामा अवस्था के छ ? यस्ता गुनासोहरू आउन नदिनको लागि तपाईंहरूको तर्फबाट भइरहेको प्रयास के छ ?

हामीले हाम्रो तर्फबाट गर्ने कामहरू त गरिरहेका छौँ । विभिन्न तालिमका कार्यक्रमहरुलाई अगाडि बढाइरहेका हुन्छौँ । जे होस् उहाँहरुलाई आर्थिक रुपमा सशक्त बनाउन हाम्रो तर्फबाट पहल भइरहेको हुन्छ । महिला, बालबालिका, अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिकहरूको लागि चाहिँ हामीले सक्दो कार्यक्रमहरू गरिरहेका हुन्छौं । गाउँपालिकाबाट पनि कार्यक्रमहरु आइरहेको हुन्छ । तर यति मात्र पर्याप्त भने नहुँदो रहेछ । हामीले गर्ने साना कार्यक्रमले तत्कालीन रूपमा ठूलो प्रभाव पर्दैन । त्यसकारण माथिल्लो निकायबाट नै प्रभावकारी अभियानकै रुपमा केही कार्यक्रमहरु आइदियो भने चाहिँ धेरै नागरिकहरुलाई सहज हुने हामीले देखेका छौँ ।

लक्षित समुदायलाई उद्यमशीलतातर्फ अगाडि बढाउने खालका तालिमहरू सँगसँगै जनचेतनामूलक कार्यक्रमहरू पनि गर्ने गरेका छौँ । उहाँहरुलाई आर्थिक रुपमा सशक्त बनाउन के–के गर्न सकिन्छ हाम्रो तर्फबाट गर्नुपर्ने पहल चाहिँ भइरहेको छ ।

तपाईँको वडामा खानेपानीको अवस्था कस्तो छ ?

पानीको अवस्था चाहिँ नराम्रो छैन । अहिले हामीले एक घर एक धारा अभियान पनि सम्पन्न गर्न लागि परेका छाँै । गरेका छौँ । खानेपानीमा चाहिँ हामी सम्पन्न नै छौँ तर पनि गत असोजमा गएको बाढी पहिरोले पाइपहरू बगाउने लगायतका केही समस्या चाहिँ निम्ताएको थियो । शुद्ध खानेपानीका कार्यक्रमहरू चलाउनुपर्ने अवस्था देखिएको छ । खानेपानी मात्र भनेर पनि भएन यसमा शुद्ध खानेपानीको कुरा हुदोरहेछ ।

कृषि विकासको लागि तपाईँहरूले के कस्तो प्रयास गरिरहनुभएको छ ? कृषिमा आधुनिककरण, यान्त्रिकरण र व्यवसायिकरणलाई कतिको जोड दिनुभएको छ ?

हामीले कृषिको लागि पनि बेलाबखतमा विभिन्न कार्यक्रमहरू चाहिँ गरिनै रहेका हुन्छौँ । गाउँपालिकाबाट पनि कृषिको लागि विविध कार्यक्रमहरू भइरहेको हुन्छ । जस्तै विभिन्न किसानहरुलाई प्राविधिक तालिमहरू दिने कुराहरू भए, अनुदानका कुराहरू भए । यस्ता खालका कार्यक्रमहरूले हरेक वर्ष निरन्तरता पाउने गरेको छ । यसैगरी हामीले अर्को गरेको काम भनेको चाहिँ राज्यको अनुदानभन्दा बाहेक हामी गाउँपालिकाले ढुवानी भाडा दिएर रसायनिक मलहरू किसानसम्म पुर्याउने काम गरेका छौँ । अहिले यहाँ जम्मा ११ सय रुपैयाँमा मल उपलब्ध गराउने वातावरण मिलाएका छौँ । यसले गर्दा किसानहरूलाई केही सहज भएको हामीले पनि महसुस गरेका छौँ ।

यसैगरी हामीले विभिन्न कृषि समूहहरू पनि गठन गरेका छौँ । ती कृषि समूहहरूलाई वृद्धि विकासको लागि सक्दो पहल पनि भइरहेकै हुन्छ । एउटा कृषि समूहद्वारा हामीले बिरुवा उत्पादनको कामलाई पनि जोड दिएका छौँ । १ सय २० रोपनी जतिमा अहिले गौँको बिउ उत्पादनको काम भइरहेको छ । हाम्रो वडामा साढे १२ सय जति घरधुरी रहृको थियो तर अहिले सबै बसाईसराई लगायतका कारणले गर्दाखेरि जम्मा साढे २ सय घरधुरी पनि हुनुहुन्न । हरेक घरका नागरिक विदेश गएका छन् । कोही राम्रो सुखशैलका लागि सहरतिरै बस्ने भनेर पनि गएका छन् । यही बसेर जमिनमा उत्पादन गरेर कृषि गरी खाने कमै मात्रामा हुनुहुन्छ । अझ गाउँमा बसेर काम गर्ने युवा नै नभएपछि हामीलाई पनि कस्तो खालको कार्यक्रम के गरी गर्ने भन्ने कहिलेकाहीँ त अन्योल नै हुन्छ । यहीँ भएका किसानहरूलाई चाहिँ औजार उपकरणहरू अनुदानको कार्यक्रमहरू गर्दै आएका छौँ । यो वर्ष पनि यो कार्यक्रम हुन्छ । यो वर्ष चाहिँ मिल पनि अनुदानमा दिने कि भन्ने कुरा छ । यसैगरी ट्रयाक्टरहरू अनुदानको कार्यक्रम पनि रहेको छ । जे होस् यो वर्ष चाहिँ कृषिमा अनुदान र तालिमको कार्यक्रमहरुले नै प्राथमिकता पाउनेछ ।

स्वास्थ्यको लागि पनि विशेष कार्यक्रमहरू केही गरिरहनु भएको छ त ?

स्वास्थ्यमा पनि हामीले राम्रै काम गरिरहेका छौँ । गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्थाहरू रहेकै छ । यो वर्ष हाम्रै वडामा अस्पताल पनि बन्दैछ । १५ शैयाको अस्पताल हाम्रै वडामा निर्माण हुने भएकाले हाम्रो मात्र नभएर गाउँपालिकाका अन्य नागरिकले समेत अझ सुविधा पाउने भएका छन् । अहिले पाँच शैयाको चाहिँ चालु अवस्थामै छ भने त्यसमा १५ शैया बनाउने तयारी भइरहेको छ । त्यो बाहेक स्वास्थ्य संस्थाहरूमा औषधिहरूको अभाव हुन नदिने कुराहरूलाई पनि जोड दिइरहेका हुन्छौँ । स्वास्थ्यमा विभिन्न खालका शिविरका कार्यक्रमहरू पनि सञ्चालन गरिने रहेका हुन्छौं । स्वास्थ्यको क्षेत्रमा नागरिकहरूको समान पहुँच पुर्याउन चाहिँ विभिन्न काम गरिने रहेको हुन्छ । यसलाई हामी निरन्तरता दिँदै जानेछौँ । बेलाबखतमा आइपर्ने महामारीहरूको विरुद्धमा पनि हामीले कार्यक्रमहरू गर्नुपर्छ भनेर लागिपरेका हुन्छौँ । त्यस्तो बेलामा हामीले अभियानकै रूपमा पनि कार्यक्रमहरू गर्दै आएका छौँ ।

योजना अनुगमनको कामले कतिको प्राथमिकता पाउने गरेको छ ?

हामी नजिकको भएको कारणले पनि हामीले बाहिरबाट सञ्चालन भएका कार्यक्रमहरूको पनि नियमित अनुगमन गरिरहेका हुन्छौँ । जस्तो प्रदेश सरकार संघीय सरकारबाट सम्पन्न हुन लागेका कार्यक्रमहरू पनि हामीले नजिकबाट नियाल्छौं । वडाबाटै हुने कार्यक्रमहरू त हामीले दैनिक रुपमा नै अनुगमन गरिरहेका हुन्छौँ । हाम्रोमा एउटा खेलमैदान बन्दैछ । त्यसको पनि अनुगमन भइनै रहेको छ । हामीले वर्षभरि सम्पन्न हुने सबै खालका योजनाहरु नियमित रुपमा हेरेर अनुगमन गरेर दिनुपर्ने सल्लाह सुझाव पनि दिइरहेका हुन्छौं । यसले गर्दा योजनाहरू थप प्रभावकारी भएको हामीले महसुस गरेका छौँ ।

शैक्षिक विकासको लागि तपाईंको वडामा भइरहेका कामहरू के–के छन् ?

शैक्षिक विकासमा पनि हामीले सक्दो पहल गरिरहेका छौँ । हाम्रोमा धेरै जनसङ्ख्या पनि छैन । बालबालिकाहरू धेरै हुनुहुन्न । भौतिक संरचनालाई हेर्ने हो भने एकदमै बलियो छ राम्रो बनाएका छौँ । त्यो बाहेक अब गुणस्तरका कुराहरू आउँछन् त्यसमा पनि सुधार गर्नुपर्ने कुराहरुलाई गरि नै रहेका छौँ ।

वडाको विकासको लागि अन्य निकायहरूसँग तपाईंले कतिको समन्वय गरिरहनुभएको हुन्छ ?

वडाले मात्रै कार्यक्रम गर्ने भनेर हुँदैन । कार्यक्रमहरू गर्ने मन भएपनि कतिपय अवस्थामा बजेटका कुराहरू आउँदो रहेछन् । त्यसकारण पनि अरु निकायहरूसँग त समन्वय गर्नै पर्यो । म वडाध्यक्ष भएको नाताले सक्दो पहल गरिरहेको पनि हुन्छु । फेरि एउटा साढे दुई करोडको लगानीमा बाटो कालोपत्रे हुने काम भइरहेको छ । त्यसमा हामीले थप बजेटको लागि पहल पनि गरेका थियौँ । अहिले फेरि त्यो सडकको लागि साढे १५ करोड बजेट परेको छ । यसरी बजेट थप गर्न पनि सफल भएका छौँ । हामीले गाउँपालिकासँग त प्रत्यक्ष समन्वय गरिनै हाल्छौं । त्यो बाहेक संघीय सरकार र प्रदेश सरकारसँग पनि हामीले सक्दो पहल गरिरहेका हुन्छौं । वडाको विकासको लागि हामीले विभिन्न संघसंस्थाहरुसँग पनि सहकार्य समन्वय गर्ने काम गरिरहेका हुन्छौँ । यसले गर्दा वडामा थप कार्यक्रमहरू ल्याउन सहज भएको छ । वडामा आउने बजेट सिलिङको आधारमा भन्ने हो भने यी बजेटले मात्र वडाको विकास गर्छु र वडाको विकास गर्छु भन्ने सोच्नु नै मूर्खताकै कुरा हो । त्यसकारण सकेको कामहरु चाहिँ हामी समन्वय नै गरेर गर्ने प्रयास गर्छौँ ।

तपाईंको वडा कहिलेसम्ममा बालमैत्री वडा घोषणा हुन्छ?

हामीले बालमैत्री बनाउने भनेर त भन्छौं । पुरा गर्नुपर्र्नेे सूचकहरु पनि पूरा गरौंला तर अहिलेको अवस्था चाहिँ कसका लागि बालमैत्री गर्ने भन्ने भएको छ । किनभने यहाँ जन्मदर निकै कम छ । म निर्वाचित भएदेखिको तथ्याङ्कअनुसार ५० जनाको मृत्युदर भइसकेको छ भने पाँच जनाको मात्रै जन्मदर भएको तथ्याङ्क छ । भएका बालबालिकाहरू पनि अभिभावक सहित सहरतिर गएको देखिन्छ । त्यसकारण पनि हामीले बालमैत्रीको कुराहरुलाई भने जसरी प्राथमिकतामा राखेर काम गर्न सकिरहेका छैनौं तर पनि हामी सक्दो प्रयासमा चाहिँ छौँ । हामी छिट्टै नै वडालाई बालमैत्री घोषणा गर्ने तर्फ पनि अग्रसर हुनेछौँ ।

चुनावताका जनतालाई दिनुभएको आश्वासनहरू कति पूरा भए ? कति बाँकी छन् ? तपाईंको कार्यकालभित्र कति योजनाहरू चाहिँ सम्पन्न गर्ने लक्ष्य लिनुभएको छ ?

हामीले पूर्वधार निर्माणको कुरालाई बढी जोड दिने भनेर चुनावताका भनेका थियौँ । त्यसकारण हामी अहिले पनि त्यही केन्द्रित नै काम गरिरहेका छौँ । यसको अर्थ हामी घोषणापत्रअनुसार नै अगाडि बढेका छौँ । विशेषगरी सडक सञ्जाल विस्तार गर्ने कुराहरु थियो । पुराना सडकहरू पक्की बनाउनु पर्नेका साथसाथै हामीले नयाँ सडकहरूको पनि कुरा गरेका थियौँ । सोहिअनुसार अहिले हामीले हरेक घरधुरीबाट बाटो निकाल्ने काम गरेका छौँ । अहिले वडाको हरेक टोलमा गाडी पुग्छ । हाम्रो साविकको ११ वटा वडा रहेको छ । यो सबै वडामा सडक सञ्जाल विस्तार भइसकेको अवस्था छ । यसलाई पक्की बनाउन चाहिँ केही समय लाग्छ । हाम्रोमा जम्मा दुईवटा मात्रै पक्की सडक रहेको छ । गुराँसे रामेछाप जाने र मादनकुडारी जाने सडक मात्र पक्की बनाउने काम आगामी बर्षसम्ममा सम्पन्न हुनेछ ।

योजनाहरू सम्पन्न गर्नको लागि वडागत रुपमा के कस्ता समस्याहरु देखिरहेका छन् ? तिनको समस्या कसरी गरिरहनुभएको छ ?

त्यस्तो खासै ठूलो समस्याहरू छैन । आएका समस्याहरूलाई पनि हामीले समाधान गर्दै गइरहेका छौँ । काम गर्ने क्रममा सानातिना समस्या त भैहाल्छ । तर समाधान नहुने खालका ठूला समस्या पनि छैन । बेलाबखतमा आउने महामारी विपदका कुराहरू त भइनै हाले । त्यसलाई हामीले रोकेर रोक्न पनि सक्दैनौं तर पूर्व तयारी चाहिँ गर्छौ ।

वडाले गर्ने कामहरू कतिको पारदर्शी छ ?

सबै कामहरू पारदर्शी तवरमै हामीले गरिरहेका हुन्छौँ । सूचनाहरू प्रकाशित गरेर कामहरु भएको हुन्छ । त्योबाट पनि उहाँले सबै कुराहरु अवगत रहन सक्नुहुन्छ । त्यसकारण हामीले गरेका सबै कामहरू पारदर्शी नै छ भन्ने हामीले बुझेका छौँ । यदि थिएन भने त नागरिकहरुबाट पनि गुनासो आउँथ्यो होला । सबै नागरिकलाई सूचनाको पहुँचमा पु¥याउन हाम्रो जोड पनि छ । त्यसकारण हामीले सरसर्ती हेर्दा सबै कामहरू पारदर्शी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस