सेन्टलम एल्बम एकेडेमीको प्रधानाध्यापकको हिसाबले विद्यालयभित्र पछिल्लो व्यस्तता केमा छ?
अहिले विद्यार्थीहरूको परीक्षा सकिएर नयाँ शैक्षिक शत्रको तयारी गरिरहेका छौँ। भौतिकरूपमा पनि बलियो हुन जरुरी छ। त्यसैले यसतर्फ पनि हामी तयारीहरू गरिरहेका छौँ। क्यान्टिन र डान्स हल नयाँ बनाउने तयारी गरिरहेका छौँ। यसैगरी साना बालबालिकाहरूको लागि प्लेस्टेसनको पूर्णरूपमा तयारी गर्ने भनेर लागि परेका छौँ। त्यहाँ खेलकुदका सामानहरू थप्दैछौँ। ग्राउन्डमा ब्लक राख्ने काम गर्ने भनेर पनि लागेका छौँ। खानेपानी शुद्धिकरणको लागि नयाँ फिल्टरहरूको व्यवस्थापन गर्ने तयारीमा पनि छौँ। फर्निचरका सामानहरू पनि व्यवस्थित गर्नका लागि तयारी गरिरहेका छौँ। जसमा पुराना फर्निचरहरु मर्मत संम्हार गर्नुपर्नेछ र नयाँ ल्याउनुपर्नेछ भने पनि हामी ल्याउनेछौं। यसरी कक्षा कोठाहरू थप व्यवस्थित बनाउने तयारी गरिरहेका छौँ। शिक्षकहरूको लागि तालिमको व्यवस्था गरेका छौँ। जुन यो बीचमा चलिरहेको छ। समग्रमा भन्नुपर्दा नयाँ भर्ना नयाँ सेसनको लागि तयारीका साथ अगाडि बढिरहेका छौँ।
नयाँ भर्ना र संरचनाहरूमा सुधार तथा पुननिर्माणका कामहरू व्यवस्थापकीय पाटो भए। शैक्षिक व्यवस्थापनको पाटोमा पहिले र अहिलेको शिक्षा पद्धति फेरिएको छ। अहिलेको समय पूर्णरूपमा डिजिटाइज भइसक्यो। सूचना र प्रविधिले हामीले सोचेकोभन्दा धेरै नै फड्को मारिसकेको अवस्था छ। सेन्टलम एल्बम एकेडेमी ती कुरालाई आत्मसाथ गर्दै कसरी अगाडि बढिरहेको छ?
त्यो कुराको हामीले आभास गरेका छौँ। हामीले पनि निकै राम्रो तयारीका साथ सुरुवात पनि गरेका छौँ। निकै राम्रो व्यवस्थापनका साथ हाम्रोमा एउटा कम्प्युटर ल्याब रहेको छ। त्यसलाई हामीले मल्टिमिडिया हलको रुपमा विकसित गर्दै आइरहेका छौँ। त्यहाँ प्रोजेक्टरसहितको व्यवस्थापन रहेको छ। पछिल्लो वर्षदेखि हामीले स्मार्ट बोर्डहरू पनि प्रयोगमा ल्याएका छौँ। स्मार्ट बोर्डहरूको संख्या नै तहगत रूपमा हामीले बढाउँदै लैजान सक्छौँ कि भन्नेमा हामी प्रयासरत छौँ। डिजिटलाइजेसनको कुरा एकातिर भयो। अभिभावकको अपेक्षा र व्यवस्थापनको पाटो अर्को पाटो पनि छ। डिजिटलाइजेसनको कारणले गर्दा अभिभावकले चाहेर पनि पहिलेको समयमा जस्तै विद्यार्थीलाई पढाइतर्फ लैजान सक्नुभएन। अभिभावकहरूको बाध्यकारी व्यस्तता एकातिर छ। बालबालिकाहरूलाई भनेजति समय दिन नसक्दा बालबालिका विद्यालयबाट घर गइसकेपछी पढाइमा भन्दा अरु कुरामा बढी ध्यान दिन थालेका छन्। त्यसैले हामीले यिनै कुरालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्रदेखि चाहिँ ६ टु ६ को कन्सेप्ट लिएर आएका छौँ। हामीले बिहानको छ बजेदेखि बेलुकाको ६ बजेसम्म कक्षा चलाउने भनेर लागिरहेका छौँ। बिहान १० बजेदेखि ४ बजेसम्म नियमित पढाइ नै हुन्छ। बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म अतिरिक्त कक्षाहरू सञ्चालन हुनेछन्। लगभग हामी दे–बोडसको कन्सेप्टमा जान लागेका छौँ। अभिभावकहरूसँग चरणबद्ध रूपमा छलफल गरिरहेका छौँ। धेरैजना अभिभावकहरू यो कुराले खुसी पनि हुनुभएको छ।
वर्तमान पुस्ता स्क्रिन जेनेरेसन भइदियो। यसो भनेर उहाँहरूलाई स्क्रिनमै व्यस्त बनाउन खोज्नुभएको हो? युग सापेक्षतातर्फ यहाँहरू उन्मुख हुन खोज्नुभएको हो?
यी दुवै कुरालाई हो भन्न सकिन्छ। बिद्यार्थीको रचनात्मकता के हो र रुचि केमा हो भन्ने कुरा उल्लेख नगरी हुँदैन। यसरी हेर्दा के देखिन्छ भने अबको समयका बालबालिका आइसिटीमैत्री र उपकरणमैत्री छन्। हामीभन्दा धेरै कुरामा स्मार्ट पनि देखिन्छन्। केही कुरा हामीले उनीहरुलाई असाइनमेन्ट गर्यौ भने हामीलेभन्दा पनि पहिले विभिन्न आइडिहरु अपनाइसकेका हुन्छन्। समय पनि बिस्तारै परिवर्तन हुँदै प्रविधिमैत्री भइरहेको अवस्था छ। त्यसकारण पनि यी कुरामा उनीहरूको ज्ञान हुनुपर्छ। त्यो स्वभाविक पनि हो। यसमा हाम्रो विद्यालयले गर्ने कुरा के हो भने, विद्यार्थीहरूको रचनात्मकता नघटोस् भनेर रचनात्मक कामहरूमा प्रशस्त लगाउँछौँ। यो सँगसँगै हाम्रो रीतिरिवाज, संस्कारका कुराहरू र समाज रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने जस्ता कुराहरुमा विद्यार्थीहरूलाई सामाजिकीकरण गराउँछौँ।
पछिल्लो समय शिक्षा चाहिँ भयो तर आदर्श वा नैतिक शिक्षा भएन भन्ने खालका गुनासोहरू पनि धेरै आइरहेका छन् नि?
नैतिक शिक्षा भन्ने पाटोलाई छुट्टै जोडेको हुनाले यस्ता खालको समस्याहरु आइरहेको हो। यसलाई सामाजिकीकरण गर्न सक्नुपर्छ। विद्यार्थीहरूको रचनात्मक क्रियाकलाप, उनीहरूको रुचि, सामाजिक मूल्यमान्यता र रीतिरिवाज यी कुरासँग विद्यार्थीलाई जोड्दै लाने क्रममा विद्यार्थी आफँै नैतिक शिक्षासँग जोडिन पुग्छ। यसरी विद्यार्थीहरू नैतिकवान र जिम्मेवार हुन पुग्छन्। यी कुराहरू हामीले पनि महसुस गरेका छौँ। विद्यार्थीहरू नैतिकवान भएनन् भन्ने कुरा हाम्रो विद्यालयले चाहिँ स्वीकार गर्दैन। किनभने हाम्रो विद्यालयका विद्यार्थीहरू एकदमै जिम्मेवार छन्। सामाजिक र सांस्कृतिक कामहरूमा उनीहरू एकदमै जिम्मेवार भएर अगाडि बढिरहेको हुन्छन्। कुनै पनि विद्यार्थी नैतिक रूपमा एकदमै पछाडि रहेको भन्ने अहिलेसम्म छैन। त्यसैले यी कुरामा हामी सफल छौँ भन्ने लाग्छ।
निजी विद्यालयमा साँघुरा कक्षा कोठा, सानो खेलमैदान, पर्याप्त हावा र घाम नभएका संरचना हुन्छन् भन्ने गुनासोहरू पनि आउँछन्। सेन्टलम एल्बम एकेडेमीमा यी कुराहरूको पर्याप्तता छ भन्ने आधारहरू के–के छन्?
संस्थागत विद्यालयहरूमा सानो खेलमैदान, भवन, कक्षा कोठा कम हुनुमा केही बाध्यताहरू छन्। हामीसँग सरकारी वा वैदेशिक लगानीहरू हुँदैनन्। निजी विद्यालय नितान्त अभिभावकहरूबाट आएको पैसाले चल्ने विद्यालय हो। भौतिक संरचनाकै कुरामा भनेजति सबै सेवा सुविधा दिन सक्छौं सक्दैनौं भन्ने पाटो अर्कै हो। तर सेन्टलम एल्बम एकेडेमीलाई कुनै पनि बजारले डिस्टर्ब गर्दैन, जिल्लाभरिकै हावापानी निकै राम्रो भएको ठाउँमा परेको छ यो विद्यालय। कक्षा कोठाहरू पनि एकदमै व्यवस्थित छन्। क्रस भेन्टिलेसनको व्यवस्था छ। निगरानीको लागि दुईवटा ठाउँ छ। एउटा स्टाफ रुम र प्रिन्सिपल अफिस। यी दुई ठाउँबाट हामी सबै कक्षाकोठाको निगरानी गर्न सक्छौँ। व्यवस्थित र वैज्ञानिक रूपमा निर्माण गरिएको भवनहरू छ हामीसँग।
यातायातको व्यवस्था कतिको बलियो छ? अतिरिक्त क्रियाकलापलाई कतिको जोड दिनुभएको छ?
हामीसँग साना ठूला गरी तीनवटा भेकल रहेका छन्। हामीले बढीमा साढे ३ किलोमिटर दुरीमा मात्रै बस कुदाउँछौँ। धेरै टाढाका विद्यार्थीहरू लिएर आउने अनि पुर्याउने भन्ने जस्ता झन्झटबाट मुक्ति मिल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। विद्यार्थीलाई दुःख दिनु हुँदैन। बनेपातिर हेर्ने हो भने चण्डेश्वरीबाट पुलबजार हुँदै हामी फर्किन्छौँ। रातामाटे फुट्सल हुँदै आउँछौँ। अर्को सुब्बा गाउँसम्म पुग्छ। चौकोट र धुलिखेलको बाँसघारीसम्म हामी पुग्छौँ। बस व्यवस्थापनमा हामीलाई समस्या छैन।
अतिरिक्त क्रियाकलापको सन्दर्भमा जिल्ला भरिका विद्यालयमा सबैभन्दा धेरै अतिरिक्त क्रियाकलाप हुने विद्यालयहरूमध्येमा हाम्रो विद्यालय पनि पर्छ। रचनात्मक क्रियाकलापहरू, शारीरिक र मानसिक वृद्धि हुने खालका कार्यक्रमहरू प्रशस्त राखेका छौँ। जस्तै २०८१ मा मेडिटेसनको कार्यक्रम राख्यौँ। चाइनिज भाषाको कार्यक्रमहरू पनि राख्यौँ। सेन्टलम आइकन भनेर नृत्य, गायन, लेखनका कार्यक्रमहरू राख्यौँ। अभिभावकहरूको लागि पनि हरितालिका तीजको अवसरमा ‘मम्मिज तीज’ कार्यक्रम भनेर महिला अभिभावकहरूलाई जम्मा गरेर पार्टी प्यालेसमै लगेर कार्यक्रम गरेका थियौँ। हाम्रो कार्यक्रमहरू संस्कार संस्कृतिसँग सम्बन्धित हुन्छ, अभिभावकको भावनासँग सम्बन्धित हुन्छ र विद्यार्थीहरूको भावनासँग सम्बन्धित हुन्छ। यी कुराहरु हामीले विद्यार्थीहरुलाई प्रशस्त मात्रामा दिन सकेका छौँ। यी कुराले नै विद्यार्थी र अभिभावकहरू हामीसँग सन्तुष्ट हुनुहुन्छ।
विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला लगायत सिकाइका चरणमा आउने संरचनाहरूको बारेमा चर्चा गरौँ न!
हाम्रो विद्यालयका कक्षाकोठा भित्र बढीमा विद्यार्थी संख्या ३० जना मात्रै हुन्छ। कम्प्युटर प्रयोगशालामा जम्मा २५ वटा कम्प्युटर रहेको छ। त्योभन्दा बढी राख्यो भने ठाउँ पनि साँघुरो हुन सक्छ। एउटा कक्षाका सबै विद्यार्थीलाई एकैपटक लाने हो भने पनि पाँचजना विद्यार्थीले मात्रै एक्स्ट्रा काममा लाग्नुपर्ने हुन्छ। नत्र सबैलाई पुग्छ। त्यसैले हामीलाई कम्प्युटर ल्याबहरूको कुनै समस्या छैन। हामीले प्लस टुमा पनि कम्प्युटर साइन्स पढाइरहेका छौँ। विज्ञान प्रयोगशालामा पनि धेरै कमीकमजोरीहरू छैनन्। हामीले प्लस टुमा चाहिँ साइन्स पढाएका छैनौँ। कक्षा १० सम्मका विद्यार्थीलाई विज्ञान प्रयोगशालामा आवश्यक पर्ने सबै सामानहरू उपलब्ध छ।
पछिल्लो समय विद्यालय, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धमा समयको व्यस्तता लगायतका कारणले कमि भएको पाईन्छ। अभिभावकसँगको साक्षात्कारको लागि विद्यालयले कस्तो भूमिका निर्वाह गर्दै आएको छ?
हामी तीन चरणमा काम गर्छौँ। एउटा विद्यालय प्रशासन अथवा प्रधानाध्यापकले लेबलअनुसार वा कक्षाअनुसार अभिभावक भेला गरेर अन्तरक्रियात्मक कार्यक्रम गर्छौं। सम्बन्ध विस्तार गर्दै उहाँहरूको कुरा सुन्ने र विद्यालयको कुरा पनि राख्छौं। अर्को चरण भनेको चाहिँ जसको अभिभावकले समय दिन सक्नुहुन्न, कार्य व्यस्तता छ, फेरि उहाँहरुले नै मेरो बच्चा कमजोर भयो अथवा विद्यालयको तर्फबाट चाहिँ बढी कमी कमजोरी भएको छ कि भन्ने जस्ता कुरा आउछ। त्यस्ता खालका अभिभावकहरूलाई हामी छुट्टै बोलाउँछौं। अभिभावक सहित विद्यार्थी राखेर वा नराखिकन दुवै चरणमा हामी छलफल गर्छौं। तेस्रो चरणमा चाहिँ हामी बाहिरबाटै सहजकर्ता ल्याएर वर्षमा एक दुईचोटि अभिभावक शिक्षा कार्यक्रम गरिरहेका हुन्छौँ। अभिभावकहरूको माया लिने नै हाम्रो विद्यालय चलिरहेको छ। त्यसैले हाम्रो विद्यालय र अभिभावकहरूको सम्बन्ध अरु स्कुलको भन्दा धेरै राम्रो छ।
स्थानीय तहले पनि तपाईँहरूलाई साथ, सहयोग, समर्थन गरेको छ? स्थानीय सरकारसँग कसरी समन्वय गर्दै अगाडि बढिरहनुभएको छ?
केही कुरामा चाहिँ स्थानीय तहहरूसँग समन्वय गर्नु नै पर्ने हुन्छ। जस्तो डकुमेन्टेन्सका कामहरूमा रिपोर्ट लिने, रेकर्ड बुझाउने लगायतका काममा हुन्छ। यसमा हामीले पूरा सहयोग पाएका पनि छौँ। अर्को समाजिक रूपमा स्थानीय सरकारले हाम्रा विषयमा कत्तिको सकारात्मक कुरा बोलिदिनु भएको छ वा अभिभावक ज्यूहरूले उहाँहरू समक्ष हाम्रा कुरा कसरी राखिदिनु भएको छ भन्ने जस्ता कुराहरू पनि पर्दो रहेछ। त्यो विषयमा पनि सकारात्मक नै पाएका छौँ। स्थानीय सरकारबाट हामीलाई अप्ठ्यारो पर्ने कुनै पनि कामहरु भएको छैन। विद्यालय स्थानीय तहको एउटा गहना हो। स्थानीय तहभित्रका बालबालिकाहरूको प्रगति भइरहेको छ। उहाँले राम्रो शिक्षा पाइरहनु भएको छ।
तपाईँहरूको पनि छाता संगठन होला। उहाँहरूसँग तपाईंहरूको समन्वय कस्तो छ? उहाँहरुले तपाईहरुलाई गर्ने सहजीकरण कतिको छ?
नेसनल प्याप्सनमा आवद्ध छ हाम्रो विद्यालय। नेसनल प्याप्सन काभ्रे एकै परिवारका सदस्यझैँ मिलेर बसेका छौँ। एउटा विद्यालयले अर्को विद्यालयलाई पर्दा सकेको सहयोग गरिरहेको हुन्छ। मेरो विद्यालयमा केही कार्यक्रम भयो भने अरु विद्यालयका शिक्षक, प्रिन्सिपल सबैजना कार्यक्रमको तयारीमा जुट्नुहुन्छ। आवश्यक परेका सल्लाह सुझावहरू दिनुहुन्छ। नेसनल प्याप्सन काभ्रे भित्र रहेका सम्पुर्ण बिद्यालयहरु एउटै विद्यालय धेरै ठाउँमा सञ्चालन भएको जस्तो देखिन्छ। हामी सबै मिलेर पछिल्लो तीन वर्ष यता विद्यालय सुधारका योजनाहरू ल्याएर काम गरिरहेका छौँ। नेसनल प्याप्सनमा आवद्ध बिद्यालयमा शिक्षाको गुणस्तर, सामाजिकपन, नैतिक शिक्षा लगायतका कुरामा कसरी सुधार ल्याउन सकिन्छ भनेर काम गरिरहेका छौँ। शिक्षकहरूको पनि शिक्षण क्षमता कसरी वृद्धि गर्न सकिन्छ भन्नेतर्फ लागिरहेका छौँ। त्यसको नतिजा पनि निकै राम्रो आएको छ।
नयाँ भर्नाको चलिरहेको छ। अभिभावकहरूले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने कुरा के–के हुन्? ती ध्यान दिएका कुराहरू तपाईंको विद्यालयमा छन्?
अभिभावकहरूले भौतिक कुराहरू पनि हेर्नुपर्छ तर त्योसँगै त्यहाँभित्रको वातावरणलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। भौतिक संरचना झकीझकाउँ छ तर त्यहाँको वातावरण राम्रो छैन, राम्रो संस्कार छैन, राम्रो पढाउने शिक्षकहरूको कमी छ भने पनि बिचार गर्नुपर्छ। यी सबै कुराहरू पाउने बिद्यालय सेन्टलम एल्बम एकेडेमी हो। माया ममता सहित सबै घरायसी वातावरण सहित हामीले यहाँ शिक्षण गराउछौँ। विद्यार्थीहरूमा भएको प्रतिभाहरू निखार्ने खालका कार्यक्रमहरू पनि गरिरहेका हुन्छौँ। विद्यार्थीहरू र अभिभावकलाई पूरा सन्तुष्टि दिने विद्यालय सेन्टलम एल्बम हो। हामी विद्यार्थीको उज्ज्वल भविष्यको लागि पूर्णरुपमा लागिपर्छौँ। वातावरण पनि हामीले त्यही अनुसार नै तयार गरेका छौँ। हाम्रो विद्यालयको विद्यार्थी संख्याको लिमिटेसन भनेको ५ सय ५० हो। ५ सय १३ जना विद्यार्थी अहिले नै हुनुहुन्छ। त्यसैले अबको नयाँ भर्नामा पनि हामी बाँकी सिटको लागि सीमित विद्यार्थीहरू मात्र लिन्छौँ।