पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्वर–५ स्थित बाँसघारीमा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिले मन्दिरको तृतीय ब्रम्होत्सव मनाउने भएको छ ।
आगामी बैशाख ७ गतेदेखि ९ गतेसम्म तृतीय ब्रम्होत्सव मनाइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गत वर्षहरु जस्तै यो वर्ष पनि ब्रम्होत्सव मनाउने क्रममा नयाँ रथ तयारी गरिएको र रथ निर्माणका लागि ५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ रथ निर्माणसँगै आवश्यक तयारी पनि गरिँदैछ ।
श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रम्होत्सवको पहिलो दिन बैशाख ७ गते पूर्वाङ्ग गरिनेछ । यस दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राम्हणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा र ध्वजारोहण गरिनेछ । यस्तै दोश्रो दिन बैशाख ८ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजासाथ नगरभित्र यात्रोत्सव (नगरपरिक्रमा) गरिनेछ । यात्रोत्सव मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणीधामसम्म हुनेछ । बैशाख ९ गते महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने अध्यक्ष थापाले बताउनुभयो ।
मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिरपछिको विधिअनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । पछिल्ला दिनमा विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
२०७३ सालमा गोपालबहादुर थापाको संयोजकत्वमा सप्ताह आयोजना गरी शुरु गरिएको मन्दिर निर्माण प्रकृया २०७४ सालमा शिलान्यास भएको थियो । मन्दिर २०७८ असोज २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको अध्यक्ष थापाले बताउनुभयो । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ उहाँले नै गर्नुभएको थियो ।