हेमशंकर गिरी
नेपालको विगत ३४ वर्ष यताको र विशेषगरी २०६३ पछिको राजनीतिक,सामाजिक,आर्थिक,न्यायिक र धार्मिक अबस्था हेर्दा यो देशमा जसले बढि झुठको खेती गरेर जनता झुक्याउन सक्छ, जसले स्वदेशी माटो, मन र बिचारलाई लत्याएर बिदेशीको गोटी बन्न सक्छ, जसले देश र जनतालाई चुसेर अकुत सम्पति जोड्न सक्छ, जसले सुशासन र न्याय मार्न सक्छ अनि जसले राष्ट्रिय अस्तित्वमाथि धावा बोल्न सक्छ त्यसैलाई जनताले पटक पटक पत्याईरहने र पुरस्कृत गर्दै थप बलशाली समेत बनाउँदै लगेका छन्। तर देशको भविश्य, अवस्था र आफ्नै अर्थात सन्ततीको भविश्य ख्यालै नगर्ने, बुझ्नै नसक्ने र बुझ्नै नचाहाने नागरिकहरु देख्दा एउटा दृश्यको याद आउँछ ।
जस्तै ‘जर्मनका हिटलरले त्यहाँको संसद बैठकमा भाग लिन जांदा एउटा कुखुराको भाले र दुई चार गेडा मकै साथमै बोकेर जान्छन अनि सभाध्यक्षले उनलाई बोल्ने समय दिएपछि त्यो संगै लगेको भालेको सबै पखेटा भुत्ला उखेल्न थाल्छन भाले उसकै भाषामा रुदै चिच्याउँदै क्वांई क्वांई आवाज निकाल्छ तर हिटलरले भालेलाई सर्वांग बनाउँछन र भुइँमा छाडि दिन्छन्। त्यसपछि कोटको खोजीमा राखेको त्यही दुई चार गेडा मकै झिकेर भुइँमा फाल्छन्। अनि त्यो नाङ्गो भाले मकै खानको लागि उनै हिटलरको पछिपछि लाग्छ’ हुन त हिटलरले त्यहाँको संसदीय ब्यवस्थालाई ब्यंग्य गरेका भएतापनि त्यो दृश्य अर्थात आज यो देशमा त्यही हिटलरको रुपमा नेता तथा दलहरु छनभने दुई चार गेडा मकै खान पछि लाग्ने भालेको अवस्थामा छौं हामी!
हामी आज सत्य कुरा के हो, असत्य कुरा के हो, राष्ट्र राष्ट्रियता भनेको के हो,राष्ट्रको जीवन भनेको के के विषय हो र त्यसलाई बचाउन सचेत नागरिकले निभाउनु पर्ने कर्तब्य के हो? मुलुकको विकास र समृद्धिको आधार के के हो,हाम्रो अधिकार के हो?, कुन दल तथा नेताहरुले देश र जनताको हितमा काम गरेकि अहितमा काम गरे,उनिहरुले बोकेका बिचार र सिद्धान्तले यो देश र जनताको भविश्य बन्छ कि बन्दैन बन्यो कि बनेन, यो देशमा शासन गरेका दल तथा नेताहरुले गरेको कर्महरुले देशको भविश्य सपार्यो कि बिगार्यो र उनिहरुले बोकेर ल्याएको बिचारहरु आफ्नो मुलुक सापेक्ष छ कि छैन?
यस्ता कुरा कहिल्यै ख्याल नगरिकनै यो देशका हामी सबै खाले नागरिकहरु कोही कांग्रेस, कोही एमाले, कोही माओबादी,कोही राश्वपा, कोही राप्रपा, कोही विभिन्न स–साना पाटीं, कोही जातीय र क्षेत्रीय पाटीका सदस्य बन्यौं । नेताको अनुहार मन पाराएर अन्धोभक्त अर्थात बंधुवा पशु सरह बन्यौं, तर नेपाल मातृभूमिलाई माया गर्ने र मन पराउने नेपाली नागरिक अर्थात देशभक्त नागरिक चाहि हुन सकेनौं यही नै यो देशको दुर्भाग्य बन्न पुग्यो!
आज करिब ८० प्रतिशत हामी नेपाली नागरिकहरुले देशको भविश्य खोज्दैनाैं, राष्ट्रियता बुझ्दैनौ । तर कुन शक्तिको, कुन दलको कुन नेताहरुको चाकडि गरेर हुन्छ वा के गरेर हुन्छ अकुत सम्पति जोड्न, पद प्रतिष्ठा प्राप्त गर्न र मोजमस्ती गर्न खोज्दै छौं! यहि नै अर्को दुर्भाग्य र बिडम्बना हुन पुग्यो।
आज यो देशमा राष्ट्रसेवक भनिएका कर्मचारी साझा छैनन्, विद्यार्थी साझा छैनन्, न्यायमूर्ति न्यायकर्मी साझा छैनन्, प्राध्यापक, ईञ्जिनियर, डाक्टर, शिक्षक संचारकर्मी कोही साझा छैनन् नै। जनताको जिउ धनको सुरक्षा गर्नुपर्ने र कानुनको पालना गराउने प्रहरीहरु समेत साझा छैनन्। हुँदा–हुँदा राष्ट्रको सेनामा समेत यस्तो राजनितिबाट उत्पति भएको रोग सार्न दलहरु लागिपरेका छन् । भित्रभित्र त्यो रोग सारीसकेको महशुस हुँदैछ।
संसारका अन्य मुलुकहरुमा सेना र प्रहरीहरुको उच्च तहबाट निवृत्तसुरक्षा अधिकारीहरु निवृत्त पश्चातपनि स्वतन्त्र भई बसेर देशलाइ र आफू निवृत्त भएको संस्थालाई संकट पर्दा एकजुट हुन्छन्, तर हाम्राहरू त निवृत्त भएको भोलिपल्टै राजनीतिक नेताबाट सदस्य र सिन्दुर टीका थाप्दै दलको झण्डा समाउन र बोक्न पुग्छन्, तर देशको झण्डा बोक्दैनन्। त्यसैकारण आफ्नो देशको सार्बभौमिकता, स्वतन्त्रता, स्वाधिनता, अखण्डता, अस्मितामाथि विदेशीको षडयन्त्र तथा थिचोमिचो र विदेशी परिचालित नेताहरुबाट सर्वसाधारण नागरिकमाथि थिचोमिचो हुादा चुँसम्म बोल्न सक्दैनन्, यो पनि हदैसम्मको लज्जा र बिडम्बना हो।
यो देशको बहालवाला सुरक्षाकर्मी,निजामति र न्यायमुर्तिहरु आफ्नै भबिश्य बनाउन तल्लिन रहेको तर देशको भबिश्यप्रति भने चिन्ता र चासो नभएको कुरा प्रत्यक्ष देखिँदैछ। नत्र भने राजनितिक दलहरुबाट यति धेरै राष्ट्रघाती कामहरु हुन सक्दैनथ्यो होला। हामीले जस्तो आफ्नो देशको सम्पुर्ण राष्ट्रिय स्तरका कलखारखाना, उद्योगधन्दा र कृषियोग्यभुमी मासेर सम्पुर्ण उपभोग्य बस्तुमा परनिर्भर बन्न अगाडि बढ्ने संसारमा कुन मुलुक होला र? हाम्रै जस्तो आफ्नो इतिहासमाथि आफैंले अपमान गर्ने, आफ्नो सभ्यता, मौलिक पहिचान, धर्मसंस्कृति, परम्परा र रितिरिवाजहरुप्रति आफैंले शौदाबाजी गरेर विस्थापित गर्दै पराया धर्मसंस्कृति, रितिरिवाज र परम्परालाई अंगाल्ने मुलुक र नागरिक पनि संसारमा अरु कुन–कुन देशमा होलान?
जनताको टाउकामा दोहोरो तेहेरो कर प्रणाली थोपरेर, राष्ट्रिय ऋण थप्दै लगेर अनि युवाजति बिदेशमा बेचेर प्राप्त रेमिटान्सबाट नेता तथा दलहरुले मोजमस्ती गर्ने परिपाटी अन्य मुलुकहरुमा होला कि नहोला? आफ्नो देशको अमुल्य बस्तु र प्राकृतिक स्रोत साधनहरू परायाहरुको पोल्टामा हालिदिने काम अन्य मुलुकहरुमा भएको छ कि छैन होला? आफ्ना पुर्खाहरुले देश निर्माणमा रचेको ईतिहासलाई आफैले अपब्याख्या र अपमान गरेको उदाहरणपनि सायदै भेटिंदैन होला कि? यो देशमा आज देशलाई माया गर्ने चेतनशिल नागरिक छैनन सुखभोगी र स्वार्थी जनता मात्र छन भन्ने यिनै तथ्यगत कुराहरुले पुष्टि गर्छ।
अहिलेको ७ प्रदेश संरचनाहरू हाम्रो मुलुकको लागि आवश्यक छैन र यसलाई धान्नको लागि भइरहेको र हुने खर्चबाट बरु बन्द रहेको गोरखकाली टायर उद्योग,बिराटनगर जुटमिल्स, वीरगञ्ज कृषि औजार कारखाना, वीरगञ्ज चीनि कारखाना, भृकुटी कागज कारखाना, छाला जुत्ता कारखाना ,हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना जस्ता उद्योगहरु पुनर्स्थापन गरि संचालन गरौं भनेर एकजुट भई आवाज दिन किन सक्दैनौं हामी जनता!
बचेकुचेको कृषि योग्यभुमीहरु नमासौं,नदिनाला र जलस्रोतहरु हाम्रै अधिनमा राखौं भनी अभियान किन चलाउंदैनौ यदि गर्न सकेको खण्डमा यो मुलक पुर्णरुपमा परनिर्भर हुनबाट जोगिन्थ्यो र देशभित्रै रोजगार सृजना पनि हुने थियो।