शिक्षामा दीर्घकालीन दृष्टिकोण र सहयोगको अपरिहार्यता

  • काभ्रे खबर
  • / लेख /
  • २०८३ आश्विन २४, शनिबार (१ महिना अघि)
  • २०६ पटक पढिएको

शिक्षामा दीर्घकालीन दृष्टिकोण र सहयोगको अपरिहार्यता

कक्षा ४ मा पढ्ने एउटी बालिका हरेक दिन विद्यालय जान्छिन् । उनको हातमा कापी छ, काँधमा झोला छ र आँखामा केही बन्ने सपना पनि छ । तर एउटा समस्या छ—गणितको कक्षामा शिक्षकले पढाइरहेको कुरा उनले बुझ्न छाडिसकेकी छन् । कक्षा २ मै सिक्नुपर्ने आधारभूत कुरा नबुझी उनी कक्षा ३ मा पुगिन् । कक्षा ३ को कमजोरी बोकेर कक्षा ४ मा पुग्दा नयाँ पाठ झन् कठिन हुँदै गयो । कक्षामा अरू विद्यार्थीले उत्तर दिन थाले, उनी चुप लागेर बस्न थालिन् । शिक्षकसँग व्यक्तिगत रूपमा समय दिने अवसर थिएन । घरमा उनलाई पढाइमा सहयोग गर्ने कोही थिएन ।
उनले गणित गर्न नसक्नु उनको गल्ती थिएन । तर बिस्तारै उनले आफू नै पढाइमा कमजोर छु भन्ने सोच्न थालिन् । पहिले उनले गृहकार्य गर्न छाडिन् । त्यसपछि प्रश्न सोध्न छाडिन् । विद्यालयमा बस्दा पनि कक्षामा उनको सहभागिता घट्दै गयो । केही समयपछि विद्यालय आउनु नै कम भयो । अन्ततः एक दिन उनी विद्यालय आउन छाडिन् । सबैभन्दा दुःखद कुरा के थियो भने—उनको विद्यालय छाड्नुको कारण कसैले समयमा पत्ता लगाउन सकेन ।
यो एउटी बालिकाको मात्र कथा होइन । नेपालका धेरै सामुदायिक विद्यालयमा आज पनि यस्तै मौन रूपमा सिकाइबाट बाहिरिँदै गरेका बालबालिका छन् । उनीहरू विद्यालयमा भर्ना हुन्छन्, कक्षामा बस्छन्, तर सिकाइमा पछाडि पर्दै जाँदा बिस्तारै विद्यालयसँगको सम्बन्ध कमजोर हुँदै जान्छ ।
हामीले लामो समयसम्म शिक्षाको सफलता “कति बालबालिका विद्यालय पुगे?” भनेर मापन ग¥यौँ । अब प्रश्न बदल्ने समय आएको छ—यो कथा अपवाद होइन, हाम्रो शिक्षा प्रणालीमा देखिइरहेको एउटा ढाँचा हो ।
शिक्षा मन्त्रालयको फ्ल्यास रिपोर्ट (२०२३÷२४) अनुसार गणितमा आधारभूत दक्षता हासिल गरेका विद्यार्थी ३२.१ प्रतिशत मात्र छन् भने विज्ञानमा यस्तो दक्षता भएका विद्यार्थी ३७.७ प्रतिशत छन् । चौथो नेपाल जीवनस्तर सर्वेक्षण (२०२४) ले पनि विद्यालय छाड्नुका प्रमुख कारणमध्ये कमजोर सिकाइ उपलब्धिलाई देखाएको छ । अर्थात्, बालबालिका विद्यालय पुगे, तर अपेक्षित रूपमा सिक्न सकेनन् र क्रमशः विद्यालयबाट टाढिँदै गए ।
यसलाई राज्यको पूर्ण असफलता भन्न मिल्दैन । पछिल्ला दशकमा विद्यालय शिक्षामा पहुँच विस्तार गर्न ठूलो प्रयास भएको छ । निःशुल्क शिक्षा, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजालगायतका कार्यक्रमले विद्यालयमा बालबालिकाको पहुँच र भर्ना बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । कक्षा १ देखि ५ सम्मको खुद भर्ना दर ९७.१ प्रतिशत पुग्नु यसको एउटा उदाहरण हो ।
तर भर्ना र सिकाइ एउटै कुरा होइनन् ।
बालबालिका विद्यालयमा छन् कि छैनन् भन्ने प्रश्नसँगै उनीहरूले विद्यालयमा गएर के सिकिरहेका छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । यदि कक्षामा उपस्थित बालबालिकाले आधारभूत पढाइ, लेखाइ, गणित र विज्ञानसम्बन्धी ज्ञान हासिल गर्न सकेनन् भने विद्यालयमा बिताएको समयले अपेक्षित परिणाम दिन सक्दैन ।
यही ठाउँमा हाम्रो शिक्षा क्षेत्रमा रहेको अर्को चुनौती जोडिन्छ—सहयोगको प्रकृति ।
नेपालका सामुदायिक विद्यालय र विद्यार्थीलाई सहयोग गर्न धेरै संस्था, दाता र स्वयंसेवी समूह अघि आएका छन् । कसैले शुल्क तिरिदिन्छ, कसैले पोसाक दिन्छ, कसैले झोला, कापी वा शैक्षिक सामग्री वितरण गर्छ । यी सहयोग आवश्यक छन् र तत्कालका समस्या समाधान गर्न उपयोगी पनि छन् ।
तर धेरै सहयोग एकदिने वा अल्पकालीन हुन्छन् ।
जन्मदिनको अवसरमा विद्यालयमा सामग्री वितरण गर्ने, एकपटक छात्रवृत्ति दिने वा एउटा कार्यक्रम आयोजना गर्ने कामपछि सहयोगको सम्बन्ध प्रायः त्यहीँ समाप्त हुन्छ । केही महिनापछि कापी सकिन्छ, झोला पुरानो हुन्छ, सामग्री हराउँछ । तर विद्यार्थीको सिकाइमा रहेको समस्या भने उस्तै रहन्छ ।
हामीले आफैंलाई एउटा प्रश्न सोध्न आवश्यक छ—हामी विद्यार्थीलाई सहयोग गरिरहेका छौँ कि केवल एउटा कार्यक्रम सम्पन्न गरिरहेका छौँ?
सामाजिक विकासको क्षेत्रमा पनि कहिलेकाहीँ कार्यक्रमको संख्या, सहभागीको संख्या र राम्रो तस्बिरलाई प्रभावको सूचक मान्ने प्रवृत्ति देखिन्छ । दाताले खुसी बालबालिका देख्छन्, सामाजिक सञ्जालमा तस्बिर आउँछ र एउटा कार्यक्रम सफल भएको महसुस हुन्छ । तर केही वर्षपछि ती बालबालिकाको अवस्था कहाँ पुग्यो भन्ने प्रश्नको उत्तर खोज्ने अभ्यास कम छ ।
वास्तविक प्रभाव मापन गर्न समय लाग्छ । अझ महत्वपूर्ण कुरा, प्रभावका लागि निरन्तर सम्बन्ध आवश्यक हुन्छ ।
म एउटा शैक्षिक गैरसरकारी संस्था चलाउँछु । एक दशकभन्दा बढीको कामबाट मैले एउटा कुरा सिकेको छु—थोरै विद्यार्थीलाई एक दिनका लागि सहयोग गर्नु भन्दा उनीहरूसँग वर्षौंसम्म रहनु बढी अर्थपूर्ण हुन्छ ।
हाम्रो सहयोग शुल्कमा मात्र सीमित छैन । आवश्यक पर्दा ट्युसन, परीक्षाको समयमा सहयोग, नियमित फलोअप र विद्यार्थीलाई साथ चाहिएको बेला एउटा फोन कलसम्म पनि त्यसको हिस्सा हो ।
हाम्रा १५२ विद्यार्थी अहिलेसम्म स्नातक गरिसकेका छन् । गत वर्ष तीमध्ये दुई जनाले आफ्नै कमाइबाट अर्को बालबालिकाको शिक्षाका लागि पहिलो सहयोग पठाए । छात्रवृत्ति पाएकी अर्की विद्यार्थीले जागिर पाएपछि, “अब म आफूलाई धान्न सक्छु,” भन्दै आफ्नो छात्रवृत्तिको हिस्सा नयाँ विद्यार्थीलाई दिन आग्रह गरिन् ।
अर्को एउटा परिवारमा आमाले आफ्नी कान्छी छोरीलाई अरूको घरमा काम गर्न पठाउन छाडेकी छन्, किनकि जेठी छोरी स्नातक भएर घरखर्च धान्न थालेकी छन् । यस्ता परिवर्तन कुनै एकदिने कार्यक्रमको तस्बिरमा देखिँदैनन् । यी परिवर्तन वर्षौंको निरन्तर सहयोगपछि मात्र देखिन्छन् ।
अक्सर दीर्घकालीन सहयोगको कुरा गर्दा एउटा प्रश्न उठ्छ—“गहिराइले मात्र स्केल कसरी दिन्छ?”
नेपालजस्तो देशमा पहुँच पनि महत्त्वपूर्ण छ । धेरै सामुदायिक विद्यालयलाई स्रोतको आवश्यकता छ र सानो सहयोगले पनि तत्कालको भार कम गर्न सक्छ । तर पहुँच मात्र पर्याप्त छैन । विद्यालयमा पु¥याइएको बालबालिकाले सिक्न सकेन भने हाम्रो प्रयास अधुरो हुन्छ ।
नेपालमा शिक्षामा सार्वजनिक लगानी र व्यवस्थित योजना सुरु भएको सात दशकभन्दा बढी भइसकेको छ । आज हामीले विद्यालयमा बालबालिकाको पहुँच विस्तार गरेका छौँ । अबको चुनौती उनीहरूलाई विद्यालयमा टिकाउने मात्र होइन, उनीहरूले वास्तवमै सिक्ने वातावरण सुनिश्चित गर्नु हो ।
यसका लागि सधैँ ठूलो बजेट चाहिन्छ भन्ने छैन । कहिलेकाहीँ आवश्यक कुरा एउटै बालबालिकासँग टिकिरहने प्रतिबद्धता हो । त्यसैले सहयोग कहाँ गर्ने भन्ने निर्णय गर्ने कार्यक्रम अधिकारी र व्यक्तिगत दाताहरूलाई मेरो आग्रह छ—सहयोग रोक्नुहोस् भन्ने होइन; बरु थोरै विद्यार्थी छान्नुहोस् र उनीहरूसँग टिक्नुहोस् ।
यदि आफैंले लामो समयसम्म साथ दिन सक्नुहुन्न भने, त्यस्तो संस्थालाई सहयोग गर्नुहोस् जसले विद्यार्थीलाई वर्षौंसम्म फलोअप गर्न सक्छ । एकदिने सामग्री वितरणसँगै नियमित सिकाइ सत्र, परामर्श र फलोअपमा पनि लगानी गर्नुहोस् ।
सहयोग गर्नुअघि संस्थालाई केही सरल प्रश्न सोधौँः
यो एक दिनको कार्यक्रम हो कि विद्यार्थीलाई हुर्कँदै जाँदा साथ दिने प्रतिबद्धता?
विद्यार्थी कुनै विषयमा कमजोर भयो भने के तपाईं वा तपाईंको साझेदार संस्था त्यहाँ हुनेछ?
आज सहयोग पाएको विद्यार्थी पाँच वर्षपछि कहाँ छ भनेर तपाईंलाई थाहा हुनेछ?
यी प्रश्नको उत्तरले हाम्रो लगानीको प्रकृति निर्धारण गर्छ ।
शिक्षामा वास्तविक परिवर्तन तुरुन्त देखिँदैन । एउटा बालिकाले गणित बुझ्न केही महिना लाग्न सक्छ । विद्यालयमा टिक्न वर्षौं लाग्न सक्छ । उच्च शिक्षा पूरा गर्न अझ धेरै समय लाग्न सक्छ । तर जब त्यही बालिका आत्मनिर्भर बन्छिन् र अर्को बालिकाको शिक्षामा सहयोग गर्न थाल्छिन्, तब लगानीको वास्तविक अर्थ देखिन्छ ।
त्यसैले शिक्षा सहयोगलाई कार्यक्रमबाट सम्बन्धमा, वितरणबाट निरन्तरतामा र तस्बिरबाट परिणाममा लैजान आवश्यक छ ।
छ वर्ष एउटा बच्चासँग बस्नु नै लगानी हो । एक दिनको फोटो होइन ।

बेथानचोक साप्ताहिकबाट ।

ताजा अपडेट

खोजी गर्नुहोस