
गोबिन्द राज ओझा (राजन)
मौन बनी बितेका क्षण, हिसाब खोज्दैनन्,
जीवनका ती साथहरू, सधैँ रोज्दैनन्।
जति साथ पाइयो यहाँ, निष्ठा दिई चलौँ,
समयका ती पाइलासँग, सम्झी बाँचिरहौँ।
ऋतु फेरिएझैँ यहाँ, समय फेरिँदै जान्छ,
हिजोको त्यो आत्मीयता, स्मृतिमै बसिरहन्छ।
जसले साथ दिएको थियो, मनभित्रै रहन्छ,
बाटो छुटे पनि उसको, सम्झना बोलिरहन्छ।
घडीका काँटा रोकिन्नन्, यात्रा रोकिँदैन,
गइसकेको स्वर्णसमय, फेरि फर्किँदैन।
मायाले दिएको साथ नै, जीवनको धन हो,
सच्चा मनले बाँचेको क्षण, अमर स्मरण हो।
बिछोड आयो भन्दैमा, सम्बन्ध मर्दैन,
साँचो प्रेमको दीप कहिल्यै, आँधीले निभाउँदैन।
समयसँगै टाढिए पनि, आत्मा टाढिँदैन,
हृदयभित्र बसेको मान्छे, कहिल्यै हराउँदैन।